
दक्षिण एशिया नेटवर्क टेलिभिजन, काठमाडौं, असोज २१ गते । रूसको साइबेरिया क्षेत्रमा पर्ने इर्कुत्स्कमा एक प्रयोगशाला कर्मचारीको शंकास्पद मृत्यु र उनीसँग सम्पर्कमा आएका करिब २०० जनालाई स्वास्थ्य निगरानी तथा क्वारेन्टाइनमा राखिएपछि प्लेग रोग फेरि विश्वव्यापी चर्चामा आएको छ ।
इर्कुत्स्कस्थित प्लेग अनुसन्धान संस्थानमा कार्यरत २८ वर्षीया महिला कर्मचारीको अज्ञात कारणको निमोनियाबाट मृत्यु भएपछि प्लेगको सम्भावनाबारे अनुसन्धान सुरु गरिएको थियो । घटनापछि उनीसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई निगरानीमा राखिएको थियो ।
तर पछिल्लो जानकारीअनुसार इर्कुत्स्कमा प्लेग संक्रमण पुष्टि भएको छैन । रुसी अधिकारीहरूले विश्व स्वास्थ्य संगठनलाई इर्कुत्स्कमा प्लेगको कुनै पुष्टि भएको केस नरहेको जानकारी दिएका छन् । सम्पर्कमा आएका व्यक्तिहरूमा पनि प्लेग देखिएको छैन । उनीहरूमध्ये केहीमा कोभिड–१९ र राइनोभाइरसजस्ता संक्रमण देखिए पनि प्लेगको प्रमाण भेटिएको छैन । तरपनि यो उच्च मृत्युदर रहेको रोगबारे समयमै सहि जानकारी राख्दा राम्रो हुनसक्छ । प्लेग आखिर कस्तो रोग हो ? किन यो रोग यति खतरनाक मानिन्छ ? यसको संक्रमण कसरी हुन्छ ? मानिसबाट मानिसमा सर्छ कि सर्दैन ? लक्षण कस्ता हुन्छन् ? जस्ता कुराबारे बुझिराखाँ ।
प्लेग आखिर कस्तो रोग हो ?
प्लेग यर्सिनिया पेस्टिस नामक ब्याक्टेरियाबाट हुने गम्भीर संक्रामक रोग हो । यो जीवाणु सामान्यतया मुसा, लोखर्के तथा अन्य साना स्तनधारी जनावर र तिनमा पाइने संक्रमित पिस्सुमा रहन्छ । संक्रमित पिस्सुले मानिसलाई टोकेमा मानिसमा संक्रमण हुन सक्छ । संक्रमित जनावर वा त्यसको तन्तुसँग प्रत्यक्ष सम्पर्कबाट पनि संक्रमण हुन सक्छ । फोक्सोमा संक्रमण भएको अवस्थामा संक्रमित व्यक्तिबाट निस्कने श्वासप्रश्वासका कणमार्फत अर्को व्यक्तिमा पनि संक्रमण फैलिन सक्छ ।
इतिहासमा प्लेगले ठूलो महामारी निम्त्याएको थियो । चौधौँ शताब्दीको ‘ब्ल्याक डेथ’ पनि प्लेगकै कारण भएको थियो । तर आजको अवस्था त्यतिबेलाको जस्तो छैन । आधुनिक प्रयोगशाला परीक्षण, संक्रमण नियन्त्रणका उपाय र प्रभावकारी एन्टिबायोटिकका कारण समयमै पहिचान र उपचार गर्न सके प्लेगबाट बिरामीलाई बचाउन सकिन्छ ।
प्लेगका मुख्य तीन प्रकार
प्लेग मुख्यतः तीन प्रकारमा देखिन्छ-बुबोनिक, सेप्टिसेमिक र निमोनिक ।
बुबोनिक प्लेग
यो प्लेगको सबैभन्दा सामान्य रूप हो । संक्रमित पिस्सुले टोकेपछि ब्याक्टेरिया लिम्फ प्रणालीमा पुग्छ । त्यसपछि काखी, घाँटी वा जाँघको आसपासका लिम्फ ग्रन्थी सुन्निएर अत्यन्त दुख्न सक्छन् । यस्तो सुन्निएको ग्रन्थीलाई ‘बुबो’ भनिन्छ ।
अचानक ज्वरो आउने, जाडो लाग्ने, टाउको र शरीर दुख्ने, कमजोरी हुने, वाकवाकी तथा बान्ता हुनेजस्ता लक्षण पनि देखिन सक्छन् ।
बुबोनिक प्लेग सामान्यतया मानिसबाट मानिसमा सर्दैन । तर उपचार नभएमा संक्रमण रगत वा फोक्सोमा फैलिन सक्छ ।
सेप्टिसेमिक प्लेग
जब यर्सिनिया पेस्टिस ब्याक्टेरिया रगतमा तीव्र रूपमा फैलिन्छ, त्यसलाई सेप्टिसेमिक प्लेग भनिन्छ ।
यसले गम्भीर रक्तसञ्चार समस्या, अंगहरूमा क्षति, छालामुनि रक्तस्राव, तन्तुमा क्षति तथा अंग विफलतासम्म गराउन सक्छ । हातखुट्टाका औँला वा अन्य तन्तुमा रगतको प्रवाहमा गम्भीर समस्या आएर तन्तु नष्ट हुन सक्छ ।
यो अवस्था अत्यन्त गम्भीर हुन्छ र उपचारमा ढिलाइ भए ज्यान जान सक्छ ।
निमोनिक प्लेग
निमोनिक प्लेगले फोक्सोलाई संक्रमित गर्छ र प्लेगको सबैभन्दा गम्भीर तथा मानिसबाट मानिसमा सर्न सक्ने प्रमुख रूप हो ।
यसमा अचानक ज्वरो आउने, कमजोरी हुने, खोकी लाग्ने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने र कहिलेकाहीँ रगत मिसिएको खकार आउने हुन सक्छ ।
निमोनिक प्लेग भएको व्यक्तिले खोक्दा वा श्वास फेर्दा निस्कने संक्रमित श्वासप्रश्वासका कण नजिक रहेका मानिसले सासमार्फत लिएमा संक्रमण सर्न सक्छ । यसको संक्रमण अवधि निकै छोटो हुन सक्छ र उपचारमा ढिलाइ हुँदा अवस्था तीव्र रूपमा बिग्रन सक्छ ।
तर यसलाई कोभिड–१९ जस्तै सामान्य रूपमा हावाबाट सबै मानिसमा सजिलै फैलिने रोगका रूपमा बुझ्नु गलत हुन्छ । मानिसबाट मानिसमा संक्रमण फैलिने मुख्य अवस्था निमोनिक प्लेग हो र नजिकको सम्पर्क तथा संक्रमित श्वासप्रश्वासका कण महत्वपूर्ण हुन्छन् ।
प्लेग कति खतरनाक छ ?
प्लेगलाई गम्भीर रोग मानिन्छ । उपचार नगर्दा यसको मृत्युदर निकै उच्च हुन सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार उपचार नगरेको बुबोनिक प्लेगमा मृत्युदर करिब ३० देखि ६० प्रतिशतसम्म हुन सक्छ । सेप्टिसेमिक र निमोनिक प्लेग उपचारबिना अत्यन्त घातक हुन्छन् ।
विशेषगरी निमोनिक प्लेगमा रोग तीव्र गतिमा बढ्न सक्छ । डब्लुएचओका अनुसार उपचार नगरेमा रोग सुरु भएको १८ देखि २४ घण्टामै पनि मृत्यु हुन सक्ने अवस्था आउन सक्छ । तर यसको अर्को महत्वपूर्ण पक्ष पनि छ-प्लेग उपचार गर्न सकिने रोग हो ।
समयमै पहिचान गरेर उपयुक्त एन्टिबायोटिक उपचार सुरु गरेमा बिरामी निको हुन सक्छ । त्यसैले प्लेगको नाम सुन्नासाथ ‘यो रोग लागेपछि मृत्यु निश्चित हुन्छ’ भन्ने बुझाइ गलत हो । मुख्य चुनौती भनेको रोगलाई समयमै पहिचान गर्नु र उपचार सुरु गर्नु हो ।
प्लेगका लक्षण के–के हुन् ?
प्लेगको प्रकारअनुसार लक्षण फरक हुन सक्छन् ।
सामान्यतया अचानक ज्वरो आउने, जाडो लाग्ने वा शरीर काँप्ने, टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक कमजोरी हुने,वाकवाकी वा बान्ता हुने,
लिम्फ ग्रन्थी सुन्निने र दुख्ने जस्ता लक्षण देखिन सक्छन् ।
निमोनिक प्लेगमा भने खोकी, छाती दुख्ने, सास फेर्न कठिन हुने र रगत मिसिएको खकारजस्ता गम्भीर श्वासप्रश्वाससम्बन्धी लक्षण देखिन सक्छन् ।
प्लेगको लक्षण सामान्य ज्वरो वा निमोनियासँग मिल्न सक्ने भएकाले केवल लक्षणका आधारमा रोग पहिचान गर्न सकिँदैन ।
संक्रमण भएको कति दिनपछि लक्षण देखिन्छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार प्लेगको संक्रमणपछि सामान्यतया एकदेखि सात दिनभित्र लक्षण देखिन सक्छन् । निमोनिक प्लेगमा भने लक्षण अझ छिटो देखिन सक्छन् ।
त्यसैले सम्भावित जोखिम भएको व्यक्तिमा अचानक ज्वरो, श्वासप्रश्वासको समस्या वा दुख्ने लिम्फ ग्रन्थी देखिएमा चिकित्सकीय परीक्षण आवश्यक हुन्छ ।
प्लेग कसरी पत्ता लगाइन्छ ?
प्लेग पुष्टि गर्न प्रयोगशाला परीक्षण आवश्यक हुन्छ ।
बिरामीको अवस्थाअनुसार सुन्निएको लिम्फ ग्रन्थीबाट नमुना, रगत वा खकार लिएर यर्सिनिया पेस्टिस ब्याक्टेरिया पहिचान गरिन्छ ।
यसकारण सामाजिक सञ्जालमा देखिएको लक्षण, भिडियो वा अपुष्ट सूचनाका आधारमा कसैलाई प्लेग भएको निष्कर्ष निकाल्नु हुँदैन ।
प्लेगको उपचार हुन्छ ?
हुन्छ । प्लेगको उपचारका लागि एन्टिबायोटिक प्रयोग गरिन्छ । बिरामीको अवस्था हेरेर औषधि तथा अन्य सहयोगी उपचार दिइन्छ । विशेषगरी निमोनिक प्लेगमा उपचार सुरु गर्न ढिलाइ गर्नु निकै जोखिमपूर्ण हुन्छ । रोगको शंका बलियो भएमा प्रयोगशाला परीक्षणको परिणाम पर्खेर उपचार सुरु गर्न ढिलाइ नगर्नुपर्ने स्वास्थ्यसम्बन्धी निर्देशिकाहरूले जोड दिएका छन् । त्यसैले प्लेगको उपचारमा सबैभन्दा महत्वपूर्ण कुरा समयमै पहिचान र समयमै एन्टिबायोटिक उपचार हो ।
मानिसबाट मानिसमा कसरी सर्छ ?
बुबोनिक प्लेग मुख्यतः संक्रमित पिस्सुको टोकाइबाट मानिसमा सर्छ । संक्रमित जनावरको तन्तुसँग प्रत्यक्ष सम्पर्कबाट पनि संक्रमण हुन सक्छ । तर निमोनिक प्लेग भने संक्रमित व्यक्तिको श्वासप्रश्वासबाट निस्कने कणमार्फत अर्को व्यक्तिमा सर्न सक्छ । त्यसैले निमोनिक प्लेगको शंका भएका बिरामीलाई अलग राख्ने र नजिकको सम्पर्कमा आएका व्यक्तिको निगरानी गर्ने गरिन्छ ।
कसरी बच्ने ?
प्लेगको जोखिम भएका क्षेत्रमा संक्रमित वा मृत जंगली जनावर तथा तिनका तन्तुसँग प्रत्यक्ष सम्पर्क नगर्नु महत्वपूर्ण हुन्छ । पिस्सुको टोकाइबाट जोगिने, मुसा तथा अन्य कृन्तकको नियन्त्रण गर्ने र जनावरको असामान्य मृत्यु देखिएमा त्यसलाई नछुने सावधानी अपनाउनुपर्छ । निमोनिक प्लेगको सम्भावना भएको बिरामीसँग नजिकको सम्पर्कबाट बच्नु र स्वास्थ्यकर्मीले आवश्यक संक्रमण नियन्त्रणका उपाय अपनाउनु पनि महत्वपूर्ण हुन्छ ।
प्लेगको खोप लगाउनुपर्छ ?
सामान्य मानिसले नियमित रूपमा प्लेगको खोप लगाउनुपर्ने अवस्था हुँदैन । डब्लुएचओले नियमित रूपमा सर्वसाधारणका लागि प्लेग खोप सिफारिस गरेको छैन । निरन्तर उच्च जोखिममा रहने निश्चित प्रयोगशाला कर्मचारी तथा स्वास्थ्यकर्मीजस्ता समूहका लागि विशेष परिस्थितिमा खोपसम्बन्धी व्यवस्था हुन सक्छ ।
अब इर्कुत्स्कमा के भएको हो ?
इर्कुत्स्कको घटनाले प्लेगबारे विश्वको ध्यान तानेको भए पनि अहिलेसम्म त्यहाँ प्लेगको प्रकोप पुष्टि भएको छैन । प्लेग अनुसन्धान संस्थानमा कार्यरत २८ वर्षीया कर्मचारीको अज्ञात कारणको निमोनियाबाट मृत्यु भएपछि उनीसँग सम्पर्कमा आएका करिब २०० जनालाई निगरानीमा राखिएको थियो । रुसी स्वास्थ्य अधिकारीहरूका अनुसार सम्पर्कमा आएका व्यक्तिहरूमा प्लेग देखिएको छैन । उनीहरूमध्ये केहीमा अन्य श्वासप्रश्वाससम्बन्धी संक्रमण देखिएको थियो ।
विश्व स्वास्थ्य संगठनले पनि रूसबाट इर्कुत्स्कमा प्लेगको पुष्टि भएको कुनै केस नरहेको जानकारी पाएको जनाएको छ । ध्ज्इ ले सर्वसाधारणमा हालको जोखिम कम रहेको बताएको छ ।
नेपालमा कति जोखिम छ ?
इर्कुत्स्क घटनापछि नेपालले पनि अवस्थाको निगरानी थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपलब्ध सूचनाका आधारमा नेपालमा हाल प्लेगको जोखिम अत्यन्त न्यून रहेको जनाएको छ । सर्वसाधारणलाई अनावश्यक त्रासमा नपर्न र आधिकारिक स्वास्थ्य निकायबाट जारी सूचनालाई मात्र आधार बनाउन आग्रह गरिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित स्वास्थ्य डेस्कलाई उच्च सतर्कतामा राखिएको छ ।
नेपालमा सम्भावित प्लेग संक्रमणको परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा आवश्यक सुविधा रहेको स्वास्थ्य निकायले जनाएको छ । सम्भावित संक्रमित भेटिएमा आवश्यक स्वास्थ्य सेवा तथा उपचारको व्यवस्था गर्न सकिने जनाइएको छ ।
यसको अर्थ नेपालले जोखिमलाई बेवास्ता गरेको होइन । बरु जोखिम कम भए पनि निगरानी र तयारीलाई निरन्तरता दिइरहेको हो ।
अहिले इर्कुत्स्कको घटनालाई लिएर नेपालमा सामान्य नागरिकले आतंकित हुनुपर्ने अवस्था छैन । तर प्लेगको जोखिम भएको क्षेत्रमा यात्रा गरेको इतिहास भएका व्यक्तिमा अचानक उच्च ज्वरो, अत्यधिक कमजोरी, दुख्ने लिम्फ ग्रन्थी, तीव्र खोकी वा सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।
स्वास्थ्यकर्मीलाई आफ्नो पछिल्लो यात्रा, सम्भावित संक्रमित जनावर वा पिस्सुसँगको सम्पर्क तथा बिरामी व्यक्तिसँगको सम्भावित सम्पर्कबारे जानकारी दिनुपर्छ ।
एजेन्सीहरुको यहयोगमा


















