एस् ए टी भी ०४ पौष, पोखरा: फेवा डाइलग-२०२४ अन्तर्गत आज उद्घाटन सत्र तथा अन्य कार्यक्रमहरू सम्पन्न भएका छन्। त्रिभुवन विश्व विश्वविद्यालयका उपकुलपति केशर जङ्ग बरालको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि विद्या देवी भण्डारीले पानसमा बत्ती बालेर उद्घाटन गरिन्।
त्रिभुवन विश्व विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग केसीले स्वागत मन्तव्य प्रस्तुत गर्दै यस सम्वादले विभिन्न देशका विषय विज्ञहरूलाई समेटेर एक ठाउँमा ल्याउन सकेको र यसले समग्र देश तथा त्रिभुवन विश्व विद्यालयमा पारेको सकारात्मक प्रभावको बयान गरे।
स्वागत मन्तव्य प्रस्तुत गर्दै सिचुआन विश्व विद्यालयका उपाध्यक्ष तथा सिचुआन विश्व विद्यालय चाइना सेण्टर अफ साउथ असियन स्टडिजका निर्देशक याओ लए ले पोखरा जस्तो सुन्दर सहरमा यो कार्यक्रम गर्न पाउँदा हर्षित भएको बताए। संसारका विभिन्न ठाउँबाट निमन्त्रणा स्वीकार गरी आउनुभएका विभिन्न व्यक्तित्वहरूलाई स्वागत गर्दै उहाँहरूको विज्ञताबाट उपस्थित सम्पूर्णले लाभ उठाउन सक्ने विश्वास गरे।
नेपाल स्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन् सोङले जसरी अन्य देशहरूमा फोरमहरू हुने गर्दछन् त्यसै गरी नेपालमा पनि फेवा सम्वाद सुरु भएको बताउँदै निकट भविष्यमा नेपाल चिनाउने अर्को माध्यम हुने बताए। यस्ता प्रकारका कार्यक्रमले नेपाल चीन सम्बन्ध अझै सुदृढ बन्दै जानेमा पनि उनको विश्वास थियो।
पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले नेपाल अब एक कदम उज्यालो तर्फ बढिसकेको बताउँदै यस फेवा सम्वादले अब आर्थिक समृद्धिको बाटोमा केही हदसम्म सहयोग गर्नेमा आशा व्यक्त गरिन्। विभिन्न चरणहरू पार गर्दै यस अवस्था सम्म पुग्न गरेका संघर्षका कथालाई आत्मसाथ गर्दै अब द्रुत गतिमा विकासको बाटोमा जानु पर्ने उनको भनाई थियो। यो कार्यक्रम मार्फत एक अर्काको शिक्षा प्रणाली सङ्ग अन्तरङ्ग हुने अवसर जुट्ने भएकाले कार्यक्रम आयोजनाको लागि त्रिभुवन विश्व विद्यालय तथा सिचुआन विश्व विद्यालयलाई उनले धन्यवाद पनि ज्ञापन गरेकी थिइन्।
बोल्ने क्रममा मलेसियन सरकारका पूर्व यातायात मन्त्री ओङ ती केटले नेपाली आतिथ्यको तारिफ गर्दै आफ्नो देश कसरी प्रगतिको बाटो तर्फ अग्रसर भयो भन्ने बारे अवधारणाहरू प्रस्तुत गरेका थिए।
त्यस्तै नेपाल सरकार पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले दक्षिण एसिया लगानीका लागि उपयुक्त ठाउँ रहेको र मुख्य रूपमा सूचना तथा सञ्चार उद्योग तर्फ सिपवान् जनशक्ति भएकाले लगानीको माहौल बढाउनु पर्नेमा जोड दिए।
कार्यक्रम विभिन्न उप शीर्षकहरू राखेर गहन छलफल भएका थिए। छलफलमा विभिन्न देशका विद्वानहरूले आफ्नो आफ्नो क्षेत्रका बलिया पक्ष तथा निर्बल पक्षलाई केलाएर सहभागीहरू माझ प्रस्तुत गरेका थिए। विश्व व्यापी औद्योगिक सरुवा तथा यसका दक्षिण एसियामा परेका असर दक्षिण एसियामा भूत, वर्तमान र भविष्यमा हुने र भएका औद्योगिक प्रक्रिया जस्ता विषयक बहसहरू भएका थिए।
दुई दिनसम्म चल्ने सम्वादले देशको समग्र अर्थतन्त्र तथा अन्य सामाजिक , व्यापारिक , औद्योगिक अनि शिक्षा क्षेत्रमा सकारात्मक असर पार्नेमा आयोजक तथा सहभागीले विश्वास लिएका छन्।