एस् ए टी भी ६ भाद्र २०८२, काठमाडौँः सुदूरपश्चिमको कैलाली जिल्ला, गोदावरी नगरपालिकास्थित गेटामा भव्य महल छन् । कुनै ठुलो सहरको एउटा टोलजस्तो भौतिक संरचना छ, जहाँ एकनासका भवन छन् ।
यही ठाउँमा ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ स्थापना गर्ने प्रक्रिया अघि बढाइएको हो । बिरामीको उपचार गर्ने र चिकित्सक उत्पादनसमेत गर्ने उद्देश्य अनुरुप ती भवन निर्माण गरिएका हुन् । तर विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया ठप्प छ ।
यो विश्वविद्यालयको विधेयक नेपाल सरकारले २०७९ जेठ ४ गते प्रतिनिधि सभाबाट सर्वसम्मत पारित गरेको थियो र सोही वर्ष असार ४ गते राष्ट्रपतिबाट प्रमाणीकरण पनि भयो । राजपत्रमा ऐन प्रकाशित भएको दुई वर्ष बितिसक्दा पनि विश्वविद्यालय सभा गठन र पदाधिकारी नियुक्तिको प्रक्रिया एक इन्च अघि बढ्न सकेको छैन ।
विश्वविद्यालयका लागि बनाइएका भौतिक संरचना अहिले टिकटक बनाउनेहरूका लागि आकर्षणको केन्द्र बनेको छ । घाम डुब्न लाग्दा ती भव्य भवन चम्किला र चिटिक्क परेका देखिन्छन् । चिल्लो कालोपत्रे सडक र हरियालीले भरिएको परिसरले अत्याधुनिक सहरको टुक्राजस्तो महसुस गराउँछ ।
डाक्टर पढ्ने विद्यार्थीको चहलपहल देखिनुपर्ने ठाउँमा मोबाइलको क्यामेरामा आफूलाई कैद गर्न व्यस्त युवायुवती, अधवैसेहरूको भिड देखिने गरेको छ ।
सुदूरपश्चिमको स्वास्थ्य र शिक्षा क्षेत्रमा क्रान्ति ल्याउने सपना बोकेर ७ वर्षअघि उभ्याइएका यी अर्बौंका संरचनाहरू गुणस्तरीय उपचार दिने केन्द्र बन्नुको साटो टिकटक र रिल्स बनाउने ‘भाइरल स्पट’ बनेका छन् ।
‘दुई वर्ष अघिसम्म यही ठाउँमा भैँसी चराउँथे,’ गोदावरी–५ की स्थानीय रामदुलाली चौधरीले भनिन्, ‘अहिले टिकटक बनाउनेहरूको भिड लाग्ने गरेको छ ।’
सुदूरपश्चिमका नागरिकले गेटामा मेडिकल कलेज सञ्चालनको सपना देखेको २५ वर्ष अघिदेखि हो । आफ्नै आँगनमा अत्याधुनिक मेडिकल कलेज र अस्पताल बन्ने, सामान्य उपचारका लागि पनि भारतको बरेली वा काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ला र छोराछोरीले डाक्टर बन्न घर छाड्नुपर्ने छैन भन्ने सपना देखेको दशकौँ बिते पनि अहिलेसम्म पूरा नहुनु दुःखको कुरा रहेको चौधरीले बताइन् ।
‘यहाँका सुन्दर भवन र पार्कमा फोटो र भिडियो राम्रो आउँछ,’ स्थानीय रामकिशोर चौधरीले भने, ‘सामाजिक सञ्जालमा यहाँको दृश्यसहितको भिडियो राख्दा कतिपयले त विदेश नै पुगेछ कि भन्ने सोच्छन् ।’ यहाँ बनाइएका कन्टेन्ट भाइरल हुने उनको भनाइ छ ।
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा यसरी भिडभाड बढ्दा त्यसले नकारात्मक असर पार्ने चिन्ता पनि उत्तिकै छ । अधिवक्ता शेरबहादुर विष्टले केही समयअघि फेसबुकमा लेखेका थिए, ‘अस्पतालमा रहेका बिरामीलाई टिकटक बनाउनेहरूको भिडले असर पर्छ । घुम्ने र रिल्स बनाउने ठाउँ अन्यत्र पनि छन्, यो तमासालाई तत्काल निषेध गरिनुपर्छ ।’
‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समिति’ले विश्वविद्यालय सञ्चालन गर्न निरन्तर आवाज उठाइरहेको छ । हालै समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको थियो ।
समितिका संयोजक लोकराज पाण्डे (आगो)ले भने, ‘विश्वविद्यालय ऐनअनुसार प्रधानमन्त्री कुलपति र शिक्षा तथा स्वास्थ्यमन्त्री सह–कुलपति रहने व्यवस्था छ, तर सभा गठन र पदाधिकारी नियुक्ति नहुँदा अर्बौंको लगानी बालुवामा पानी भएको छ । हामीले तत्काल यो प्रक्रिया अगाडि बढाउन माग गरेका छौँ ।’
समितिले चालु आर्थिक वर्षभित्रै चिकित्सा शिक्षा (एमबीबीएस) का लागि सिट निर्धारण गर्नुपर्ने, ६ सय शय्याको अस्पताल निर्माणको काम थाल्नुपर्ने र तत्काल कम्तीमा ३ सय शय्याको अस्पताल सञ्चालन गर्न विशेष पहल गर्न सरकारसँग माग गरेको छ ।
बुधवार धनगढी पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गेटा अस्पताललाई ३०० शय्याको बनाउने सम्पूर्ण तयारी पूरा भएको आश्वासन दिएका छन् । उनका अनुसार, आवश्यक बजेट र २५० जना कर्मचारीको दरबन्दी स्वीकृतिका लागि फाइल अर्थ मन्त्रालयमा पठाइएको छ, तर मन्त्री पौडेलको यो आश्वासनले स्थानीयको मन जित्न सकेन ।
मन्त्री पौडेल गेटामा आकस्मिक उपचार सेवाको उदघाटन गर्न पुगेका थिए, तर संघर्ष समितिले कार्यक्रम नै बिथोलिदियो । समितिको अडान स्पष्ट थियो– ‘जबसम्म ३०० शय्याको अस्पताल पूर्ण रूपमा सञ्चालन हुँदैन र विश्वविद्यालयका पदाधिकारी नियुक्त हुँदैनन्, तबसम्म कुनै पनि आंशिक सेवाको उदघाटन गर्न दिइने छैन ।’
२०८० साल माघ ७ गते मन्त्रिपरिषद्ले विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने निर्णय त गर्यो, तर प्रशासनिक र कानुनी व्यवस्थापनको अभावमा त्यो निर्णयले कुनै गति लिन सकेन । यहाँ ५३ वटा साना–ठुला भवन छन् । २०८० असारमा ५० शय्याको अस्पताल उदघाटन भयो र कार्तिकदेखि सेवा सुरु भयो, तर सेवाग्राहीहरू यसलाई ‘नाममात्रको अस्पताल’ भन्छन्, जहाँ दिइने सेवा स्वास्थ्य चौकीभन्दा माथिल्लो स्तरको छैन ।
केही समय अघि बझाङबाट उपचारका लागि आएका एक बिरामी गेटा पुगे, तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई डाक्टरले निजी अस्पतालमा रिफर गरे । अर्बौंको संरचना भएको अस्पतालमा सामान्य उपचार पनि नपाउँदा उनी निराश भए । यहाँ आउने अधिकांश बिरामीले यस्तै नियति भोग्नुपरेको छ ।