काठमाडौँ । नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) गठबन्धनले २०२५ को बिहार विधानसभा चुनावका लागि सिट बाँडफाँटको घोषणा गरेको छ ।
२४३ सिट भएको बिहार विधानसभाका लागि भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेड (जेडीयू) ले समान १०१–१०१ सिटमा चुनाव लड्ने भएका हुन् ।
गठबन्धनअन्तर्गत लोक जनशक्ति पार्टी (रामविलास) ले २९ सिटमा, राष्ट्रिय लोक मोर्चा (आरएलएम) र हिन्दुस्तानी अवाम मोर्चा (एचएएम) ले ६–६ सिटमा उम्मेदवार उठाउनेछन् ।
केन्द्रीय मन्त्री तथा भाजपा नेता धर्मेन्द्र प्रधानले इन्स्टाग्राममा पोस्ट गर्दै भने, ‘हामी एनडीए सहकर्मीहरूले सौहार्दपूर्ण वातावरणमा सिट बाँडफाँट पूरा गरेका छौँ । सबै एनडीए दलका कार्यकर्ता र नेताहरूले यसलाई खुसीसाथ स्वागत गर्छन् ।’
लोक जनशक्ति पार्टी (रामविलास) का अध्यक्ष चिराग पासवानले पनि एनडीए परिवारले सौहार्दपूर्ण वातावरणमा सिट बाँडफाँट पूरा गरेको बताए ।