
कालीकोट, कात्तिक १० गते । कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका–३ मा रहेको बहुमूल्य काइनाइट खानीको संरक्षण नहुँदा दैनिक चोरीनिकासी हँुदै आएको छ । साबिकको भर्ता गाविसको लेख क्षेत्रमा रहेको काइनाइट संरक्षण नहुँदा चोरी तस्करी बढेको छ । तत्कालीन जिल्ला विकास समितिदेखि २०७४ र २०७९ को चुनावमा राजनीतिक दलले काइनाइट संरक्षण गर्ने भन्दै चुनावी मुद्दासमेत बनाउँदै आएका थिए तर काइनाइटको अवस्था फेरिएन बरु सरकारको योजना बुझेका तस्करले रातारात काइनाइट निकासी गर्दै आएका छन् ।
गत शुक्रबार कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलसहितको एक टोली काइनाइट भएको क्षेत्रको स्थलगत अनुगमनमा पुगेको थियो । प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुखसहित स्थानीय नेतासहितको टोली काइनाइट क्षेत्रमा पुग्दा स्थानीयस्तरमा त्यसको बहस सुरु भएको छ । स्थानीय छत्र रोकामगरले पटक पटकका निर्णय र सरकारको योजनाले संरक्षण गर्न नसकेको यो क्षेत्र अब सुरक्षा प्रमुखले गर्लान् त ? भन्दै प्रश्न गर्नुभएको छ । उहाँले हाम्रो ठाउँमा रहेको बहुमूल्य काइनाइट बेच्ने यहाँका ठुलाबडा सबैको मिलेमतो भएको आरोप लगाउनुभयो । उहाँले नाम मात्रको अनुगमन नहोस् भन्दै काइनाइट संरक्षणमा विशेष जोड दिन माग गर्नुभयो ।
विश्वका थोरै मुलुकमा पाइने काइनाइट नेपालको कालीकोटमा रहेको दाबी गरिन्छ । यसको संरक्षण नहुँदा प्रायः चोरी भएरै सकिँदै छ । जिल्ला प्रशासन कार्यालय कालीकोटका सूचना अधिकारी जनकराज शर्मालाई स्थानीय तहले पनि संराक्षणको प्रयास गरेको तर नसकेको हुनाले के गर्न सकिन्छ भनेर स्थानीयको सल्लाह लिन अनुगमनमा आएको बताउनुभयो ।
पहिला नै निकासीको अनुमतिको पाएको एक जना ठेकेदारले अहिले पनि निकासी गरिरहेको देखिन्छ । अब केही दिनमा यस विषयमा निकासीको प्रक्रियाका बारेमा सरोकारवालाबिच छलफल हुने शर्माको भनाइ छ । काइनाइट प्रायः नेपालका हिमाली क्षेत्रमा पाउनुका साथै भारतको झारखण्ड, कर्नाटक, अमेरिका, ब्राजिल, स्विजरल्यान्ड, रुस र केन्या आदि देशमा पाइने गर्दछ ।





