
जनकपुरधाम । मधेस प्रदेशमा भ्रष्टाचारका विभिन्न काण्ड बेलाबखत प्रकाशमा आउने गरेका छन् । पछिल्लो पटक जानकी मन्दिरमा समेत भ्रष्टाचार भएको भन्दै स्थानीय स्तरमा प्रश्न उठ्न थालेको छ ।
हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरमा मुख्यमन्त्री सौन्दर्यीकरण अभियानअन्तर्गत लगाइएका करोडौँ मूल्यका टायल धमाधम फुट्न थालेका छन् । वर्षौंदेखि मन्दिरको प्राङ्गणमा रहेको रातो मार्बल हटाएर मधेस प्रदेश सरकारले सौन्दर्यीकरणको नाममा गुणस्तरहीन मार्बल जडान गरेको भन्दै अभियन्ताले प्रश्न उठाउँदै आएका थिए । हाल नयाँ मार्बल ठाउँ–ठाउँमा फुटेपछि मन्दिरको सौन्दर्यमाथि नै दाग लागेकोजस्तो भएको छ ।
२०७५ साउन १३ गते तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको प्रदेश सरकारले जनकपुरधामस्थित जानकी मन्दिरमा सौन्दर्यीकरण अभियान औपचारिक उदघाटन गरेको थियो । सो कार्यक्रममा तत्कालीन भौतिक पूर्वाधारमन्त्री रहेका बहालवाला मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल पनि सहभागी थिए ।
जानकी मन्दिरको सौन्दर्यीकरणका लागि प्रदेश सरकारले ७ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो । यो परियोजना प्रदेश सरकारको पहिलो ठुलो विकास कार्यक्रम भएको भन्दै तत्कालीन मुख्यमन्त्री राउतले आवश्यक परे थप रकम प्रदेश सरकार आफैँले व्यहोर्ने बताएका थिए ।
परियोजनाअन्तर्गत तीन वटा प्रवेशद्वारको मर्मत सम्भार, मन्दिर परिसरभित्र मार्बल र ग्रेनाइट टायल जडान, लाइटिङ व्यवस्था तथा उत्तर र दक्षिण प्रवेशद्वारमा ‘चरण गंगा’ निर्माण गर्ने योजना थियो । यसका लागि आर.जे. रञ्जन कम्पनीलाई ठेक्का दिइएको थियो । तर सौन्दर्यीकरणको काम सुरु हुनासाथ स्थानीय युवाले निर्माणमा प्रयोग भएका सामग्रीको गुणस्तरबारे गम्भीर आपत्ति जनाए । उनीहरूले न्यूनस्तरका मार्बल र टायल प्रयोग भइरहेको भन्दै कार्यस्थलमै विरोध प्रदर्शन गरेका थिए । जसका कारण केही समय काम रोकिएको थियो ।
युवाहरूका अगुवा सरोज मिश्रले पुरातत्व विभागका कर्मचारी र ठेकदारबिचको मिलेमतोमा गुणस्तरहीन काम भइरहेको आरोप लगाउँदै निर्माण सामग्रीको गुणस्तर परीक्षण नभएसम्म कार्य अघि नबढाउने चेतावनी दिएका थिए । व्यापक विरोधका बाबजुद मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन इन्जिनियर भगवान झाले काम सम्पन्न भएको घोषणा गरेका थिए ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले आफू सुरुदेखि नै नयाँ मार्बलको विरोधमा रहेको बताए । उनले मन्दिरमा रहेको रातो मार्बल हटाएर नयाँ मार्बल जडान गर्नु नै गलत रहेको दाबी गरे । आफ्नै उत्तराधिकारी महन्थ रामरोशन दासको अगुवाइमा पुरानो मार्बल हटाएर नयाँ लगाइएको उनको आरोप छ ।
तर महन्थ रामतपेश्वर दासका उत्तराधिकारी महन्थ रामरोशन दास भने ठेकदारले मन्दिरसँग भएको सम्झौताविपरीत काम गरेको आरोप लगाउँछन् । उनका अनुसार मन्दिरमा पहिले रातो मार्बल थियो, तर ठेकदारले जबरजस्ती सेतो (ह्वाइट) मार्बल जडान गरेको हो । उनले भने, ‘जानकी मन्दिरको सौन्दर्यीकरणका विषयमा सबै दलका संसदीय दलका नेता, सेना, प्रहरी लगायतको सर्वदलीय बैठक बसेर मन्दिरको मौलिकता नष्ट नहुने गरी सौन्दर्यीकरण गर्ने निर्णय भएको थियो, तर सो अनुसार काम भएन ।’
रामरोशन दासका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका इन्जिनियर भगवान झालाई रातो ग्रेनाइट जडान गरिएको मन्दिरमा रातै प्रयोग गर्नुपर्छ भनेर बारम्बार आग्रह गरिएको थियो । इन्जिनियर झाले ‘पुरातत्व विभागको निर्देशनअनुसार सेतो मार्बल जडान गर्नुपर्ने’ भनेर जबाफ दिएपछि आफ्नो केही नलागेको महन्थ रामरोशन दासले प्रस्ट पारे ।
उनका अनुसार मन्दिरमा २८ एमएम मोटाइको मार्बल प्रयोग गर्नुपर्नेमा १४ एमएमको मात्र, त्यो पनि न्यून गुणस्तरको मार्बल प्रयोग गरिएको थियो । आफूले पटक–पटक विरोध जनाए पनि जबर्जस्ती काम पूरा गरिएको भन्दै यसमा आफ्नो कुनै दोष नरहेको उनले स्पष्ट पारे ।
बिहीबार जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले जानकी मन्दिरमा फुटेका मार्बल/टायलको स्थलगत अनुगमन गरेका छन् । सो क्रममा उनले भवन संरचना र प्राङ्गणको सुरक्षा तथा सौन्दर्य कायम राख्न तत्काल मर्मत–सम्भार आवश्यक रहेको बताए ।
नगर प्रमुख साहले भने, ‘जानकी मन्दिर धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले विशेष महत्त्वको स्थल हो । यसप्रकारको क्षति दीर्घकालीन रूपमा संरक्षणको दृष्टिले हानिकारक हुन सक्छ । त्यसैले हामी तुरुन्त सुधारका काम सुरु गर्नेछौँ ।’
उपमहानगरपालिकाका इन्जिनियर र निर्माण टोलीले फुटेका टायलको मात्रा, कारण र प्रभावित क्षेत्रको विश्लेषण गरी मर्मतका लागि विस्तृत योजना तयार गर्ने नगर प्रमुख साहले जानकारी दिए । स्थलको संरचना र मौलिकता कायम राख्दै नयाँ टायल राख्ने र आवश्यक स्थानमा सुरक्षा प्रबन्ध गर्ने उनको भनाइ छ ।
नगर प्रमुख साहले जानकी मन्दिरमा फुटेका टायल तत्काल फेर्ने निर्णय भए पनि यस सम्बन्धी फाइल हाल अख्तियारमा पुगेको जनाए । अख्तियारले अनुसन्धान सम्पन्न नभएसम्म मन्दिरमा कुनै परिवर्तन नगर्न निर्देशन दिएको छ । साथै, विवाह पञ्चमी नजिकिँदै गर्दा मन्दिरमा फुटेका टायलले श्रद्धालु भक्तजनमा नराम्रो छाप पर्ने भन्दै सरोकारवालाले बेलैमा गम्भीर ध्यान दिनुपर्ने स्थानीयको माग छ ।





