एस् ए टी भी २८ मंसिर, काठमाण्डौंः नवौँ नान हाई बौद्ध सम्मेलन काठमाण्डौंमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री के पी शर्मा ओली, नेपाल स्थित चिनियाँ दूतावासका महामहिम राजदूत छन् सोङ, बुद्धिस्ट एसोसिएसन अफ चाइना शेन्च्रेन टेम्पलका उपाध्यक्ष यिन शुन लगायत विभिन्न देशका प्रतिनिधीहरुको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री के पी शर्मा ओलीले सम्पूर्ण आगन्तुक प्रतिनिधिहरूलाई स्वागत गर्दै कार्यक्रमको पूर्ण सफलताको कामना गरे। बौद्ध धर्म , धर्म मात्र नरहेर आर्थिक, सांस्कृतिक तथा जीवनयापनको एक पाटो जस्तै बनिरहेको र नान हाई एकेडेमी र नेपालको लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयमा यश किसिमका शिक्षण भइरहेकोमा उनले खुसी व्यक्त गरे। बुद्ध जन्मभूमिमा यस्ता कार्यक्रम आयोजना हुनुले नेपाललाई विश्व सामु बुद्धको जन्मस्थलको रूपमा परिचित गराएको बताउँदै उनले आयोजकलाई धन्यवाद प्रकट गर्न पनि भ्याएका थिए।
नेपाल स्थित चिनियाँ राजदूतावासका राजदूत महामहिम छन् सोङले नेपाल र चीनले एक अर्का सङ्ग सांस्कृतिक आदान प्रदान सदियौँ देखि गर्दै आएको र यसले नेपाल र चीनलाई अझै नजिक हुन सहयोग पुर्याएको बताए। उनले नवौँ नान हाई बौद्ध सम्मेलन नेपालमा आयोजना हुनु सांस्कृतिक आदान प्रदानको नमुना मात्रै नभएर ,नेपाल र चिनियाँ जनताबिचको अमूल्य मित्रताको दृष्टान्त रहेको जिकिर गरे। मानव हितका लागि साझा भविष्यलाई नारा बनाएर , चीनले मैत्रीपूर्ण सम्बन्ध जोडिरहेको अवस्थामा नेपाल र चीनको दौत्य सम्बन्धका ७० वर्ष आगामी वर्ष पुग्ने हुँदा चीनलेनेपाल सङ्ग अझै बढी सहकार्य गर्दै आपसी विश्वासलाई गहिरो बनाउँदै अगाडि बढ्न चाहेको पनि उनले बताए। बिआरआई जस्ता उच्च गुणस्तरीय परियोजनाहरूको प्रचारप्रसार गर्दै नेपाल चीन सम्बन्धमा रणनीतिक हातेमालो जरुरी रहेको भन्दै उनले विचार व्यक्त गरेका थिए।
बुद्धिस्ट एसोसिएसन अफ चाइना शेन्च्रेन टेम्पलका उपाध्यक्ष यिन शुनले नेपाल र बौद्ध धर्म एक अर्काको पर्याय भएको र यस्तो पवित्र बुद्धभूमीमा नवौँ नान हाई बौद्ध सम्मेलन आयोजना हुनु भनेको सौभाग्यको कुरा भएको बताए। परापूर्व काल देखी नेपाली बौद्ध अध्येता र चिनियाँ बौद्ध अध्येताहरूले एक अर्कालाई विभिन्न रूपमा सहयोग र सहकार्य गर्दै आएको सम्झँदै उनले दक्षिण सागर बौद्ध सम्मेलनले दुई देश तथा दुवै देशका बौद्ध धर्मावलम्बीलाई अझै गहिरो गरी जोडेको बताए। सभ्यता आदान प्रदानको यो सिलसिलामा नेपालका प्राचीन बौद्ध स्थलहरूको संरक्षणमा सहयोग पुर्याउने , लुम्बिनीको विकासमा सहयोग गर्ने लगायत आफ्नो कार्य योजना पनि सुनाएका थिए।
कार्यक्रममा विभिन्न देशका वक्ताहरूले आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए। सम्मेलनले नेपाल साथसाथै सम्पूर्ण नान हाई क्षेत्रको बौद्ध धर्मको प्रचार तथा उत्थानमा ठुलो भूमिका खेलेको आयोजकको दाबी छ ।