
रौतहट । आस्थाको महान् पर्व छठको रौतहटमा सम्पूर्ण तयारी पूरा भएको छ । चार दिनसम्म श्रद्धा र भव्यताका साथ मनाइने यो पर्वको पहिलो दिनदेखि नै व्रतालुहरूले नदी–पोखरीमा स्नान गरी व्रतको शुभारम्भ गरेका छन् । आज (तेस्रो दिन) साँझ ‘सँझिया घाट’ मनाउने तयारी गरिएको छ ।
छठपर्वको अर्घ्य अर्पणका लागि घाटहरूको सरसफाइ र सजावट यस वर्ष विशेष रूपमा गरिएको छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा हरेक गाउँ–नगरका घाटहरूलाई मर्मत र सौन्दर्यीकरण गरी चिटिक्क पारिएको छ ।
सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारीका अनुसार जिल्लाभर रहेका नदी, पोखरी र जलाशयका छठघाटहरूमा प्रहरी र स्थानीयको संयुक्त सहयोगमा शुक्रबारदेखि नै सरसफाइ र मर्मत कार्य गरिएको हो । यस वर्ष डुबानको घटना बढी भएकाले त्यसतर्फ पनि सजगता अपनाइएको छ । कुनै अप्रिय घटना हुन नदिन सशस्त्र प्रहरीको डिजास्टर टोली तैनाथ गरिएको छ ।
जिल्लास्थित सशस्त्र प्रहरीको १४ वटा युनिटका जनशक्ति नजिकको छठी घाट सफाइमा परिचालन गरिएको एसपी अधिकारीले बताएका छन् । उनीहरू आजैदेखि २४ घण्टा सुरक्षामा खटिएका छन् । भोलि हुने छठ पर्वको अवसरमा सुरक्षार्थ थप एकसय जनशक्ति परिचालन गरिने एसपी अधिकारीले जानकारी दिएका छन् ।
छठ पर्वमा व्रतालुसँगै छोरी बुहारीहरू महँगा गहना गुँडिया लगाएर छठी घाटसम्म जाने भएकाले उनीहरूको सुरक्षाको दृष्टिले पनि प्रहरी प्रशासन विशेष सतर्कता अपनाएको छ । व्रतालुहरूलाई रातभर पूजा–जाग्राममा निश्चिन्त रहन सक्ने गरी घाटहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीले छठ पर्वका अवसरमा यसपटक अन्य सुरक्षा निकायसँग समन्वय गरी जिल्लाभर विशेष सुरक्षा योजना लागू गरिएको बताएका छन् । एसपी कार्कीका अनुसार जिल्ला सदरमुकाम गौर, गरुडा, चन्द्रनिगाहपुर, कटहरिया लगायतका मुख्य बजार, राजमार्गहरूसँगै जिल्लाको सबै १८ वटै पालिकामा गस्ती तथा पेट्रोलिङ बढाइएको छ ।
रौतहटको हरेक गाउँ–नगर अहिले छठमय बनेको छ । भक्ति गीतको सुरले गुन्जिरहेको छ । नदी किनारदेखि घर आँगनसम्म सजिएका छन् । व्रतालुहरू आज खरना विधि मनाउनका लागि तयारीमा जुटिरहेका छन् ।





