काठमाडौँ — इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशीला कार्की विमानस्थल पुग्ने भएकी छन् । सोमबार दिउँसो २ः३५ बजे जोशीको शव फ्लाई दुबईमार्फत काठमाडौं आइपुग्नेछ ।
त्यसपछि विमानस्थल पुगेर प्रधानमन्त्री कार्कीले श्रद्धाञ्जली दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । ‘विमानस्थलमा श्रद्धाञ्जली दिएर शवलाई नेपाली सेनाको विमानमार्फत धनगढी लैजाने तयारी छ, त्यसपछि एयर एम्बुलेन्समार्फत महेन्द्रनगर लैजाने तयारी छ,’ ती अधिकारीले भने ।
हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आकस्मिक आक्रमण गरेको थियो । त्यसबेला १० नेपाली विद्यार्थीसहित करिब १ हजार २ सयको मृत्यु भएको थियो । विपिनसहित २ सय ५१ जना हमासको नियन्त्रणमा परेका थिए ।
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्यो पुष्टि
त्यो दिन बिहान साढे ६ बजेतिर एक्कासि मिसाइल आउन थालेपछि विपिनसहित उनका साथीहरु किबुज अलुमिमको बंकरमा बसेका थिए । त्यसको केही समयपछि स्थलमार्गबाट आएका हमासका लडाकुले आक्रमण गर्न थाले ।
नेपाली विद्यार्थीहरुले ‘वी आर नेपाली, वी आर नेपाली’ भनिरहँदा समेत उनीहरुले आक्रमण गरिरहे । पछि एउटा ग्रिनेड विपिनले टिपेर बाहिरतिरै फ्याँकिदिएका थिए । त्यहीबेला हमासले उनलाई अपहरण गरेको थियो ।
गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध
अमेरिकाको सहजीकरणमा युद्धविराम भएपछि उनी छुट्ने अपेक्षा गरिएको थियो । तर, जोशीको मृत्यु भइसकेको जानकारी हमासले दिएको भन्दै इजराइल डिफेन्स फोर्स (आईडीएफ) ले जोशीको परिवार, इजरायलस्थित नेपाली राजदूत र अरुलाई जानकारी गरायो ।