एस् ए टी भी १२ मङ्सिर काठमाण्डौंः नेपाल स्थित चिनियाँ राजदूतावासको आयोजना तथा नेपाल चाइना शिक्षा तथा संस्कृति संघ र नेपाल चाइनिज भाषा स्वयम् सेवक शिक्षक संघको सहअयोजनामा पुरस्कार वितरण कार्यक्रम मङ्गलवार, काठमाण्डौंमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सम्माननीय श्री विद्या भट्टराई, नेपाल स्थित चिनियाँ दूतावासका महामहिम राजदूत छन् सोङ लगायत विभिन्न उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिती थियो।
नेपालमा रहेर विभिन्न विद्यालय तथा विश्व विद्यालयहरूमा चिनियाँ भाषा अध्यापन गराई रहेका स्वयम् सेवक शिक्षकहरूको सङ्गठनको २० औँ वार्षिकोत्सव समारोहमा बोल्दै राजदूत छन् ले नेपालमा झण्डै ९०० भन्दा बढी चिनियाँ भाषा शिक्षकहरू सक्रिय रहेको र अनुमानित ९ लाख जनाले चिनियाँ भाषा सिकिरहेको जनाउँदै खुसी व्यक्त गरे। "नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा अहिले मलाई चिनियाँ भाषामै स्वागत गर्नु हुन्छ।" उनले भने । उनले अन्य ठाउँहरूमा पनि सकेसम्म चिनियाँ भाषामै संवाद गर्न खोज्ने गरेको सुनाउँदै यसले नेपाल तथा चीनको सम्बन्ध र नेपालको समृद्धिमा दिगोपना आउने कुरामा विश्वास व्यक्त गरे।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सम्माननीय श्री विद्या भट्टराईले कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरिन्। चीनले २०७२ सालको भूकम्प पश्चात् गरेको सहयोगलाई भुल्न नसकेको बताउँदै उक्त बेला ढलेका कैयन् विद्यालय संरचना ठडाउन मदत गरेकोमा कृतज्ञ रहेको पुनः बताइन्। स्वयम् सेवक शिक्षकहरूले पनि चिनियाँ भाषा संस्कृतिलाई नेपाली सामु चिनाउने काममा धेरै मेहनत गरेको बताइन्। यो कार्यलाई अझै परिष्कृत ढङ्गले अघि बढाउन पहल गर्ने बताउँदै उनले, पुरस्कृत सम्पूर्णमा बधाई ज्ञापन गरिन्।
चिनियाँ भाषा सिकिरहेका विद्यार्थीले स्वयम् सेवक शिक्षकको खुलेर प्रशंसा गरे। उनीहरूको मेहनत र लगनशीलताले आफ्नो अध्ययनमा सघाउ पुर्याएको जनाउँदै उनले चिनियाँ अक्षरहरूको रोचकता र कलात्मकताको मुक्त कण्ठले प्रशंसा गरेका थिए।
चिनियाँ स्वयम् सेवक शिक्षक प्रतिनिधिले पनि नेपालमा काम गर्न सहज तथा न्यानोपनको आभास हुने बताउँदै नेपाल आफ्नो दोस्रो घर जस्तै रहेको बताएकी थिइन्। यहाँ बसेर यहाँको भविष्यमा केही मेहनत थप्न पाएकोमा पनि उनिले खुसी प्रकट गरिन्।
कार्यक्रममा चिनियाँ राजदूत छात्रवृत्ति २०२४ , पाँच ठुला प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै अन्य सांस्कृतिक तथा मनोरञ्जनात्मक क्रियाकलापहरू समाविष्ट थिए।