एस् ए टी भी २९ मंसिर काठमाण्डौंः भक्तपूरको डा. ईवामुरा मेमोरियल अस्पतालमा रेसम रोड उज्यालो तथा परोपकार यात्रा अन्तर्गत विभिन्न क्रियाकलापहरूको सुरुवात भएको छ। छेन्च्रेन सहर छाओ छिङ एसोसिएसन, नेपाल स्थित चिनियाँ राजदूतावास तथा अरनिको समाजको सहकार्यमा उज्यालो तर्फ भन्ने मूल नाराका साथ नेपालका मोतिया विन्दुले ग्रस्त करिब ७० बिरामीहरूको शल्यक्रिया पनि सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल स्थित चिनियाँ दूतावासका महामहिम राजदूत छन् सोङ, चाइनिज बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष तथा शेन्च्रेन होङ्फा टेम्पलका मास्टर यिन शुन, शेन्च्रेन छाओछिङ एसोसिएसनका अध्यक्ष छन् च्युन याओ लगायत विशिष्ट व्यक्तित्वत्वहरूको उपस्थिति रहेको थियो।
नेपाल स्थित चिनियाँ दूतावासका महामहिम राजदूत छन् सोङले भने, "हजारौँ वर्ष देखि चल्दै आएको चीन र नेपाल बिचको सम्बन्ध अझै सुदृढ बनाउन हामी हरेक पल सोचिरहेका हुन्छौँ। किनभने यो सम्बन्ध सरकारको मात्रै नभएर जनता जनता बिचको छ ।" नेपाल चीन सम्बन्ध दीर्घ काल सम्म चलिरहने र यसका लागि नेपाल र चीन सरकार बिच विभिन्न साझेदारीहरू भइरहेको पनि जानकारी दिए। बिआरआइको कार्यान्वयनले स्वास्थ्य तथा अन्य थुप्रै क्षेत्रमा नेपालको विकास गर्ने बताउँदै उनले नेपाल-चीन दौत्य सम्बन्धका ७० औँ वर्ष आगामी वर्ष पुग्ने र त्यसको उमङ्ग अहिले देखिनै देखिन थालेको बताए।
शेन्च्रेन छाओछिङ एसोसिएसनका अध्यक्ष छन् चुन याओले मोतिया विन्दु शल्यक्रिया मार्फत ज्योति पुनः प्राप्त गर्नु भएका सम्पूर्णमा बधाई ज्ञापन गर्दै यस्ता प्रकारका सहयोगका कार्यक्रम विगत दस वर्ष देखि सात पटक सम्म भैसकेको र अझै रेसम रोड उज्यालो तर्फ शिविरको रूपमा तथा अन्य रूपमा आगामी दिनमा पनि हुनेमा आश्वासन दिए। छाउ छिङ एसोसिएसन र अरनिको समाज को सहकार्यमा आज पर्यन्त ६०० भन्दा बढी मोतिया विन्दुका बिरामी निको भैसकेको दाबी गर्दै उनले यो सहयोग चिकित्सकीय सहयोग मात्रै नभएर चिनियाँ र नेपाली जनता बिचको एक अर्का प्रतिको सद्भावना रहेको बताए।
चाइनिज बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष तथा शेन्च्रेन होङ्फा टेम्पलका मास्टर यिन शुनले नेपाल र चीनबिच हजारौँ वर्ष देखिको गहिरो सम्बन्ध रहेको र यस सम्बन्धलाई उच्च बनाइराख्न विभिन्न विद्वान जस्तै बुद्ध भद्र जसले अवंतक सूत्र निर्माणमा मद्दत गरे , तथा अन्य थुप्रै भिक्षु तथा विद्वानहरूको सहयोग रही आएको बताए। हामी सबै भिक्षु रहेको र यसको पालना जस्तो सुकै अवस्थामा पनि गर्न सकिने भन्दै नेपालमा यस्ता प्रकारका समाजसेवा गर्न समन्वय गर्ने नेपाल स्थित चिनियाँ राजदूतावास, लुम्बिनी स्थित चाइना टेम्पलका बौद्ध गुरुलाई धन्यवाद पनि अर्पण गरे।
शेन्च्रेन आँखा अस्पतालका तर्फबाट दुई दिन अघि आएका डाक्टरको समूहले शल्यक्रिया गरेका बिरामीहरूले नयाँ आँखा पाएको र यसका लागि यस कार्यक्रमका आयोजकलाई धन्यवाद दिएका थिए। कार्यक्रममा औषधीय सामाग्रीहरू तथा उपहारहरू आदान प्रदान पनि सम्पन्न भएको थियो। समग्रमा कार्यक्रमले नेपाल र चीनको द्विपक्षीय सम्बन्धमा सकारात्मकताको अर्को खुड्किलो थपिदिएको आयोजकको बुझाई छ।