पोखरा । पोखरामा रहेका गोरखालीहरूले जेनजी प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्मानमा दीप प्रज्वलन गरेका छन् ।
यो प्रदर्शनका क्रममा गोरखाका मात्रै ३ जनाले सहादत प्राप्त गरेका थिए । २२ वर्षका विमलबाबू भट्ट, २८ वर्षका अर्जुन भट्ट र ४२ वर्षका अनिश पराजुली प्रदर्शनका क्रममा ज्यान गुमाएका थिए ।
उनीहरू सहित सम्पूर्ण सहिदको सम्झनामा बुधबार साँझ दीप प्रज्वलन गरिएको गोरखा मिलन समाजका अध्यक्ष अग्रिम श्रेष्ठले जानकारी दिए । ‘हामी साझा चौतारी हौँ । देश रुँदा हामीलाई दुख्छ, देश हासेको बेला हामी पनि खुसी हुन्छौँ,’ उनले भने, ‘अहिले दुखमा एकजुट भएका हौँ ।’
पोखराको महेन्द्रपुलमा आयोजना गरिएको दीप प्रज्वलनमा सयौँको उपस्थिति थियो । पोखरामा रहेका गोरखाली सहित अन्य व्यक्तिहरूले समेत मैनबत्ती बालेर दिवङ्गत आत्माको शान्तिको कामना गरेका महासचिव शित्तल श्रेष्ठले जानकारी दिए ।