गत असार २८ गते मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा भएको दुर्घटनाको मुख्य कारण ग्रामीण सडकबाट निस्केको लेदो र अन्धकार रहेको निष्कर्ष निकालेको छ। पहिरोबाट दुईवटा गाडी खसेर त्रिशूलीमा हराइरहेको विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रायलयले तयार गरेको अध्ययन प्रतिवेदनमा त्यस्तो निष्कर्ष निकालिएको हो।
टोलीले सोमबार मन्त्रालयका सचिव गोपाल सिग्देललाई प्रतिवेदन बुझाएको टोलीका एक सदस्य प्रकाश भण्डारीले बताए। ‘हामीले प्रतिवेदन बुझाइसकेका छौं,’ उनले भने, ‘हामीले अबका दिनमा दुर्घटना कसरी कम गर्न सकिन्छ भन्ने विषयमा पनि सुझाव दिएका छौं।’
तीन सदस्यीय टोलीको संयोजकमा मन्त्रालयका सहसचिव ज्ञानेन्द्र झा थिए भने सडक डिभिजन चितवनका प्रमुख रमेश पौडेल पनि सदस्य थिए। टोलीलाई दुर्घटनाको सम्भावित कारणहरू पहिल्याउन र दुर्घटना न्यूनीकरणका उपाउ सुझाउन भनिएको थियो।
झन्डै २० पृष्ठ लामो उक्त अध्ययन प्रतिवेदनमा गाडी दुर्घटनाको प्रमुख कारण सिमलतालबाट झन्डै नौ सय मिटर माथि खनिएको ग्रामीण सडकबाट ठुलो मात्रामा आएको लेदोसहितको पानीलाई गाडीले थेग्न नसकेको जनाइएको छ। भरतपुर महानगरपालिकाको २९ नम्बर वडाले उक्त ठाउँमा ग्रामीण सडक खनिरहेको छ।
अध्ययन टोलीका एक सदस्यले सडकमा गुड्दागुड्दै गाडी खसेको नदेखिएको बताए। ‘ती दुई गाडी कम्तीमा तीनदेखि चार मिनेट सडकमै रोकिएका थिए। स्थानीयवासी र गाडीको पछाडि रहेका अन्य गाडीका चालकले ती दुईवटा गाडी कम्तीमा पाँच मिनेटसम्म सडकमै रोकिएको बताएका छन् तर हाम्रो अनुमानमा तीनदेखि चार मिनेट रोकिएको हुनुपर्छ,’ उनले भने, ‘त्यतिबेलासम्म सवारी चालकले चाहेको भए आफू गाडीबाट ओर्लिन सक्थे र यात्रुहरूलाई पनि ओराल्न सक्थे।’
उनका अनुसार गत असार २८ गते बिहान करिब साढे ३ बजे वीरगन्जबाट काठमाडौं जाँदै गरेका ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जान लागेको ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स गाडी नारायणगढ–मुग्लिङ सडकखण्ड सिमलतालमा क्रस हुन खोज्दा केही क्षण बाटो जाम भयो। त्यसअगाडि नै सिमलतालबाट झन्डै नौ सय मिटर मास्तिर खनिएको सडकबाट पानीसहित आएको लेदोले सिमलतालको खोल्सी पुरिसकेको थियो।
‘लेदो र पानी झन्झन् बढ्दै सडकमा आयो। लेदो यसरी बढ्यो कि लेदोको भार ती दुईवटा बसले थेग्न सकेनन्। क्रस गर्न खोज्दा सडकमा रोकिएका दुई गाडीले गर्दा माथिसम्मै लेदो भरियो। बसका चालकले आफ्ना गाडी पछाडि हटाउन सक्ने अवस्था थिएन। किनभने पछाडि दुवैतर्फ गाडी थिए। बाटो जाम भइसकेको थियो। त्यसैले दुई सवारी चालकले आफ्नो गाडीलाई अगाडि बढाएर क्रस हुन खोजे,’ उनले भने, ‘माथिबाट आइरहेको लेदोको भारका बारेमा उनीहरूले आकलन नै गर्न सकेनन्। दिउँसो भए आइरहेको लेदोको भार आकलन गर्न सक्थे र गाडीबाट तुरुन्तै आफू ओर्लन्थे, यात्रुहरूलाई पनि ओराल्थे।’
उनले यसलाई मानवीय त्रुटि पनि भन्न नमिल्ने बताए। ‘लेदोले यसरी गाडी बगाउँछ भन्ने आकलन उनीहरूले गर्न सकेनन्। अन्ततः पानीसहितको लेदोको भार थेग्न नसकी दुइटै बस त्रिशूलीमा बगे,’ उनले भने। लेदो खसेको ठाउँमा ढुंगा र माटो निकै कमजोर भएको र त्यसले गाडीको भार थेग्न नसकेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।
सो सडकको विकल्प झनै जोखिमपूर्ण
अध्ययन टोलीलाई नारायणघाट–मुग्लिन सडकको विकल्पबारे पनि अध्ययन गर्न भनिएको थियो। तर टोलीले विकल्पका रूपमा त्रिशूली नदीको अर्को छेउमा पक्की सडक बनाउँदा उक्त सडक झनै जोखिमपूर्ण हुने निष्कर्ष निकालेको छ।
‘बरु अहिले बनेको सडकलाई राम्रोसँग मर्मत गरी पहिरो रोकथाम गर्न चेक ड्याम निर्माण गरेर सडकभन्दा पाँच सय मिटर माथिसम्म पहिरो जान नसक्ने गरी संरचना बनाउन सकिने सुझाव दिएका छौं,’ टोलीका एक सदस्यले भने। अध्ययन टोलीले भारी वर्षा भए रातको समयमा नारायणघाट–मुग्लिन खण्डमा सवारी चलाउन रोक लगाउनुपर्ने सुझाव पनि दिएको छ। ‘दिउँसो त्यति जोखिम हुँदैन तर बढी जोखिम राति नै देखियो,’ टोलीका सदस्यले भने।
अहिलेसम्म त्रिशूलीमा कति गाडी बेपत्ता भए
अहिलेसम्म सडकबाट त्रिशूलीमा गाडी खसेर झन्डै एक दर्जन गाडी बेपत्ता भइसकेका छन्। २०७३ असोज ९ गते मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कन लाग्दा पूर्वगृहमन्त्री माधव घिमिरे र उनका दुई दाजुभाइ चढेको बा ९ प १५३१ गाडी चितवनको दारेचोकनजिकै घोप्टेभिरबाट खसेर त्रिशूलीमा बगेको थियो।
अहिलसम्म ती तीन दाजुभाइ बेपत्ता छन् र गाडी पनि बेपत्ता छ। यसैगरी २०४९ मा स्वाभिमान परिवहन नाम गरेको एउटा बस त्रिशूलीमा खसेर बेपत्ता भएको थियो। यसैगरी अहिलेसम्म त्रिशूलीमा दुईवटा स्कार्पियो, दुईवटा ट्रक, एउटा ट्याक्टर, एउटा ट्यांकर खसेर बेपत्ता भएको सडक विभाग स्रोतका भनाइ छ।