नेभिगेसन मेनु

पकेट क्षेत्रमा बन्दै छन्, चिस्यान केन्द्र
सम्पादक:南亚网络电视
समय:2024-01-23 16:56

ण

सुर्खेत, माघ ९ गते । कर्णाली प्रदेश सरकारले फलफूल र तरकारी खेतीका लागि पकेट क्षेत्र मानिएका स्थानमा चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माणमा जोड दिएको छ । सोहीबमोजिम ठाउँ ठाउँमा चिस्यान केन्द्र बनिरहेका छन् । वीरेन्द्रनगरमा बनिरहेको चिस्यान केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न कोल्ड स्टोर निर्माण गरिएको हो । 

कृषि विकास निर्देशनालय सुर्खेतको आर्थिक सहयोगमा वीरेन्द्रनगर नगरपालिका–९, लाटीकोइलीमा चिस्यान केन्द्र निर्माण थालिएको हो । निर्देशनालयको ७० प्रतिशत र साना किसान कृषि सहकारी संस्था लिमिटेडको ३० प्रतिशत लगानीमा चिस्यान केन्द्र निर्माण भइरहेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको संस्थाकी अध्यक्ष शान्ति सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार चिस्यान केन्द्र निर्माणको ९८ प्रतिशत काम सम्पन्न भएको छ । विद्युतको ‘थ्री फेज’ लाइन जोड्ने काम भइरहेको उहाँले बताउनुभयो । 

दुई सय मेट्रिक टन भार क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो । पाँच सय मेट्रिक टन भार क्षमताको विस्तार गरेर प्रदेशस्तरीय बनाउने लक्ष्य राखिएको भए पनि हाल दुई सयबाट सुरुवात गर्ने जनाइएको छ । आर्थिक वर्ष २०७७/७८ बाट निर्माण थालिएको थियो । करिब चार वर्ष लगाएर चिस्यान केन्द्र सञ्चालनको तयारी थालिएको छ । कृषि विकास निर्देशनालयको दुई करोड, साना किसान कृषि सहकारी संस्थाको डेढ करोड लागतमा चिस्यान केन्द्र निर्माण भइरहेको छ । अबको एक महिनामा चिस्यान केन्द्र सञ्चालन गर्ने बताइएको छ । 

संस्थाका अध्यक्ष सिंहका अनुसार विद्युत् सर्भेको कामसमेत सकिएकाले थ्री फेज लाइन जोड्ने काम भइरहेको छ । फलफूल, तरकारी भण्डारण गर्नका लागि छुट्टाछुट्टै स्थान तयार पारिएको छ । चिस्यान केन्द्र निर्माण भएपछि आलुको बिउ, फलफूल भण्डारणका लागि जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।

पूर्वी सुर्खेतमा पनि बनाइँदै

पूर्वी सुर्खेतको गुर्भाकोटमा बनिरहेको चिस्यान केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म ९० प्रतिशत काम सकिएको जनाइएको छ । कृषिजन्य उत्पादनलाई बढावा दिन कर्णाली प्रदेश सरकारको लगानीमा गुर्भाकोट नगरपालिका–९, बोटेचौरमा चिस्यान केन्द्र निर्माण भइरहेको छ । ८५ मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

२०७८ साल वैशाखबाट निर्माणको काम थालिएको थियो । कृषि विकास निर्देशनालय सुर्खेतको एक करोड ३५ लाख ६८ हजार, गुर्भाकोट नगरपालिकाको दस लाख र कोटमाझखर्क सामुदायिक कृषि सहकारी संस्थाको ५८ लाख १५ हजार रकममा निर्माण कार्य भइरहेको छ । चिस्यान केन्द्र निर्माणको ९० प्रतिशत काम सकिएको कोटमाझखर्क सामुदायिक कृषि सहकारी संस्थाका अध्यक्ष गीताराम थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ३०/३० मेट्रिक टनका दुई वटा, १५ मेट्रिक टनको एउटा र दस मेट्रिक टनको एक गरी कुल चार वटा चेम्बर रहेको चिस्यान केन्द्रमा बिउबिजनसँगै तरकारी तथा दुग्धजन्य वस्तुको चिस्यान गरिने छ । 

अन्य ठाउँमा पनि निर्माण हुँदै

विभिन्न ठाउँमा चिस्यान केन्द्र बनिरहेकाले आउँदो वर्षदेखि आधुनिक एसी प्रविधिबाट कर्णालीका वस्तुलाई चिस्यान दिइने कृषि विकास निर्देशनालयले जनाएको छ । पूर्वी सुर्खेतको बोटेचौर, वीरेन्द्रनगर र लेकबेँसी नगरपालिकामा निर्देशनालयको ७० प्रतिशत र सहकारीको ३० प्रतिशत लगानीमा चिस्यान केन्द्र निर्माण भइरहेका छन् । किसानले उत्पादन गरेका दुग्धजन्य, बिउबिजन, तरकारी, फलफूलका साथै जडीबुटीलाई समेत चिस्यान केन्द्रमा राखिने कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर