नेभिगेसन मेनु

गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-05 12:57

viber_image_2024-01-04_16-50-07-752-(1)

पुस १९ गते । भोजपुरको पूर्वी अरुण गाउँपालिकाले आज बिहीबार नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गरेको छ । गाउँपालिकाका अध्यक्ष सालिकराम खत्री, संविधान सभा सदस्य लोकमणि ढकाल र उपाध्यक्ष विनीता ढकालले एकसाथ नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गर्नुभएको हो ।

गाउँपालिकाको केन्द्र प्याउलीस्थित स्वास्थ्य चौकीसँग जोडिएको जग्गामा पालिकाको १ करोड ९९ हजार ८ सय ४३ रुपियाँ लागतमा भवन निर्माण भएको थियो । गत जेठ २ गतेबाट मिडहिल कन्स्ट्रक्सन प्रालिले निर्माण कार्य सुरुगरी गत मङ्सिरमा काम सम्पन्न पश्चात् पालिकालाई चाबी हस्तान्तरण गरेपछि गाउँपालिका प्रशासनिक ट्रस भवन उद्घाटन गरेको गाउँपालिका प्रशासकीय अधिकृत मणीराम खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार नवनिर्मित भवनबाट तत्कालका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, प्रशासन, योजना, प्राविधिकलगायत शाखाहरूले सेवा प्रवाह गर्नेछन् । 

प्रशासनिक ट्रस भवनको उद्घाटन गर्दै संविधानसभा सदस्य लोकमणि ढकालले भवन निर्माण पालिकाको उपलब्धिमूलक कार्य भएको बताउनुभयो । साथै उहाँले नवनिर्मित प्रशासनिक ट्रस भवनबाट पालिकाले प्रवाह गर्ने सेवाहरू निरन्तर, प्रभावकारी, पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै, गाउँपालिका अध्यक्ष सालिकराम खत्रीले अब पालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नो भवन अभावमा विभिन्न समस्या खेप्दैआएको पालिकाले अव सेवा प्रवाहलाई थप चुस्त तथा सहजरुपमा सञ्चालन गर्नेछ ।’

पालिकाको पक्की भवन निर्माणका विषयमा भने आफूहरू लागिपरेको अध्यक्ष खत्रीले बताउनुभयो । यता, गाउँपालिकाकी उपाध्यक्ष विनीता ढकालले ट्रस भवनबाट सेवा सुरु भएसँगै सेवा प्रवाहमा थप सहजता हुनुका साथै आगामी दिनमा थप उत्कृष्ट सेवा प्रवाह हुने बताउनुभयो । साथै उहाँले पालिकाको आफ्नै प्रशासनिक भवन निर्माण हुँदा आफूहरू खुसी भएको समेत उल्लेख गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा बोल्नेक्रममा पूर्व गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले नयाँ भवनबाट प्रभावकारी सेवा प्रवाहसँगै नयाँ पक्की भवन विवादरहित ढङ्गले निर्माण गर्न सुझाउनुभयो । पालिकाको पक्की भवन निर्माणका लागि गाउँपालिका –३ प्याउलीस्थित मर्‍याङ डाँडामा स्थानीयले दिएको निःशुल्क २१ रोपनी जग्गामा भवन निर्माणको तयारी रहेको छ । 

जसका लागि सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको प्राविधिक सहयोगमा वातावरणीय मूल्याङ्कन (डिपीआर) समेत सकिएको छ । कार्यक्रममा समयमै भवन निर्माण सम्पन्न गर्ने मिडहिल कन्स्ट्रक्सन प्रालिका सञ्चालक तथा निर्माण व्यवसायी परशुराम कार्कीलाई सम्मान गरिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर