पुस ११ गते । हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण एवं मानव–हात्ती सहअस्तित्वका लागि नेपाल र भारत दुवैतर्फ स्वस्फूर्त रूपमा काम सुरु भएको छ । भारतको आसामदेखि पश्चिम बङ्गाल राज्यको महानन्द वाइल्डलाइफ सेन्चुरी हुँदै कोशीटप्पुसम्म विचरण गर्न आउने जङ्गली हात्तीका कारण झापामा मानव–हात्ती द्वन्द्व बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि काम सुरु भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती नियन्त्रणका लागि भएका असल अभ्यासको अनुसरण र जोखिम न्यूनीकरणका लागि चासो राखेपछि यहाँ भएका असल अभ्यासहरूको विषयमा लिखित रूपमा जानकारी गराएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । मुख्यमन्त्री कार्कीले हात्ती, गैँडाको निरीक्षण गरेर यहाँको असल अभ्यास प्रदेशभर विस्तारका लागि आवश्यक कार्यव्रmम ल्याउने प्रतिबद्धता पनि जनाउनुभयो ।
बाहुनडाँगीमा स्थानीय युवालाई हात्तीको बानीबेहोरा तथा हात्तीसँग गर्नुपर्ने व्यवहार, हात्तीले आव्रmमण गर्न सक्ने अवस्था र आक्रमणबाट सुरक्षित रहन अपनाउनुपर्ने सतर्कता एवं सजगताबारे तालिम दिएर क्विक रेस्पोन्स टिम (आरआरटी) गठन भई परिचालित छ । टोलीमा आबद्ध सदस्यहरूको पाँच लाख रुपियाँ बराबरको दुर्घटना बिमा गर्नुका साथै रातको समयमा टाढासम्म देखिने चम्किला टर्च लाइटहरू प्रदान गरिएको छ । यस्तो टिम भारततर्फ पनि बनेको छ ।
नेपाल–भारत अन्तरसीमा आरआरटी गठन गरी दुवैतर्फबाट हात्तीको गतिविधि आदानप्रदान गर्ने सूचना सञ्जाल निर्माण गरिएको र यो प्रभावकारी बन्दै गएको वडाध्यक्ष कार्कीले बताउनुभयो । “कतिवटा हात्ती कताबाट कता जाँदै छन् भन्ने सूचनाका आधारमा हात्ती प्रवेश गर्ने नाकामा निगरानी बढाउने गरिएको छ,” उहाँले भन्नुभयो ।
कार्कीका अनुसार गाउँमा हात्ती पसेको सूचना दिन सशस्त्र प्रहरीको पोस्टमा ‘अर्ली वार्निङ साइरन’ जडान गरिएको छ । यस्तो साइरनको आवाज बजेपछि अन्य मानिसलाई घरभित्र सुरक्षित बस्न भनिएको छ । साइरनको आवाज बजेपछि आरआरटीका सदस्य, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा हात्ती प्रवेश गर्ने नाकाहरूको निगरानी गर्ने गर्छ ।
यहाँ भएको प्रयासले पछिल्लो समयमा बाहुनडाँगीमा हात्तीले मानिसहरूको ज्यान नलिएको समेत उहाँले जानकारी दिनुभयो । पूर्वी नेपालमा हात्तीले सबैभन्दा बढी क्षति पु-याउँदै आएको बाहुनडाँगीमा पछिल्लो समय भने कमी आएको वडाध्यक्ष कार्कीको दाबी छ ।
भारतबाट नेपाल आउने र नेपालबाट भारत फर्किने हात्तीले प्रयोग गर्ने मुख्य बाटो बाहुनडाँगी नै भएकाले यो क्षेत्र बढी प्रभावित भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “भारततर्फबाट आउने हात्ती सजिलै आवादी क्षेत्रमा पस्न नसकून् र प्राकृतिक बासस्थानतर्फ जान मद्दत पुगोस् भन्ने उद्देश्यले नेपालतर्फ मेची किनारमा विद्युतीय तारबार लगाइएको छ तर हात्तीले आफ्नो पुख्र्यौली बाटो प्रयोग गर्ने र खेतीबाली खानका लागि विद्युतीय तारबारसमेत भत्काएर ओहोरदोहोर गरिरहेको देखिन्छ ।”
मानव–हात्ती सहअस्तित्वका लागि मानिसले नै आफ्नो व्यवहारलाई हात्तीमैत्री बनाउनुपर्ने उहाँको भनाइ छ । उहाँले हात्तीमैत्री मानव व्यवहारका लागि पीडित समुदायलाई सम्बोधन गरी विश्वासको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । विगतमा हात्तीको आव्रmमणमा परी ज्यान गुमाएका व्यक्तिका सन्ततीको पठनपाठनमा सहयोग पु-याउने उद्देश्यले पीडितलाई वार्षिक १२ हजार रुपियाँ उपलब्ध गराउने निर्णय वडाले गरेको छ ।