नेभिगेसन मेनु

तमोरमा पुल बनेपछि सहज
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-04 12:26

Untitled-1 (6)

ताप्लेजुङ, असोज १७ गते । फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा पक्की मोटरेबल पुल बनेपछि यातायात सहज भएको छ । गाउँपालिकाको वडा नम्बर २ खेजेनिम र वडा नम्बर ३ लिङ्खिमको सिँवा जोड्ने गरी तमोर नदीमा पक्की पुल निर्माण भएपछि यातायात सेवा सहज भएको हो । लामो समयदेखि पुलको अभावमा यातायात सुविधाबाट वञ्चित रहेका स्थानीयवासीलाई पक्की मोटरेबल पुल निर्माणले राहत मिलेको छ । पक्की पुल निर्माणपछि अब बाह्रै महिना यातायात सेवा सञ्चालनमा रहने छ । पुल निर्माणसँगै यातायात सुविधा पुगेपछि फक्ताङ्लुङ गाउँपालिका–१, सावादिन; वडा नम्बर २ को खेजेनिम र वडा नम्बर ३ को इखाबु तल्लो क्षेत्रका बासिन्दालाई सबैभन्दा बढी राहत पुगेको छ ।

खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईंका अनुसार तमोरमा पक्की पुल बनेपछि टोल टोलका बस्तीसम्म यातायातको पहुँच पुगेको छ । प्रत्येक टोलका बासिन्दाले घरआँगनबाटै गाडीमा यात्रा गर्न पाएका छन् भने आयात तथा निर्यातका सामग्री ढुवानी गर्न सहज भएको उहाँले बताउनुभयो ।

खेजेनिमकै स्थानीय पदम बुढाथोकीले पक्की पुल निर्माणपछि यातायातमा सुविधा पाएको बताउनुभयो । पुल निर्माण भएपछि यस वर्षदेखि बर्खा समयमा पनि गाउँबस्तीसम्म यातायातका साधन सञ्चालन हुँदा स्थानीयवासीमा खुसियाली छाएको उहाँले बताउनुभयो । खाद्यान्नलगायतका आवश्यकीय सामग्री गाउँसम्म ढुवानी गर्न र अलैँची, गोलियालगायत निर्यातजन्य सामान निकासी गर्न सहज भएको उहाँको भनाइ छ ।

तमोर नदीको सो पुल निर्माण गर्न कोशी प्रदेश सरकारको नौ करोड ८१ लाख रुपियाँ खर्च भएको छ । मैनाचुली निर्माण सेवा प्रालि, झापाले भ्याटसहितको उक्त बजेटमा मोटरेबल पुल निर्माण गरेको हो । निर्माण प्रालिका आधिकारिक प्रतिनिधि कृष्ण बस्नेतका अनुसार कोरोना महामारीका कारण सुरुको सम्झौता अनुसारको अवधिमा काम सम्पन्न गर्न सम्भव भएको थिएन । 

पछि थप भएको समयावधि भने २०८० असार मसान्तसम्म भएकोमा सो समयअगावै अर्थात् असार १५ भित्रै पुल निर्माण सम्पन्न गरेको बस्नेतले बताउनुभयो । सो मोटरेबल पुलको लम्बाइ ५७ मिटर छ । यता पक्की मोटरेबल पुल निर्माण हुनुअघि नदीमा पानी घटेको समय हिउँद मौसममा गाउँपालिकाद्वारा काठको अस्थायी पुल निर्माण गरी यातायात सञ्चालन गर्ने गरिएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर