काठमाडौँ — प्रमुख दलका प्रमुख नेताका स्वकीय सचिव आफन्त छन्, त्यही कारण नेताहरू निरन्तर विवादमा पर्छन् । समाजले बारम्बार पेचिलो प्रश्न गर्दा पनि नेताहरू परिवारको घेराभन्दा बाहिर जान सक्दैनन् । ठूला नेताका ठूलै रहस्य, पर्खालभन्दा बाहिर नजाओस् भन्ने उद्देश्यले उनीहरूको घेरा पनि साँघुरिँदै छ ।
स्वकीय सचिवको भूमिकाका कारण विवादमा परिरहने नेतामा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल हुन् । वैशाख तेस्रो साता भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्रासँग दिल्लीमा भएको वार्तामा छोरी गंगा दाहाललाई सहभागी गराएपछि उनको तीव्र आलोचना भएको थियो । उक्त भेटवार्तामा परराष्ट्र मन्त्रालयका कुनै प्रतिनिधि सहभागी थिएनन् । टीकाटिप्पणी बढेपछि प्रधानमन्त्री दाहालले छोरी गंगा आफ्नो सचिवालयमा रहेको र पार्टीको केन्द्रीय सदस्यसमेत रहेकाले उपस्थिति स्वाभाविक रहेको स्पष्टीकरण दिएका थिए ।
सशस्त्र द्वन्द्वकै बेलादेखि माओवादी अध्यक्ष दाहालले छोरा प्रकाशलाई सचिवालयमा राखेका थिए । शान्ति प्रक्रियामा आइसकेपछि प्रकाश दाहालको भेटघाट निर्धारण गर्ने प्रमुख भूमिकामा थिए । ०६५ मा पहिलो पटक प्रधानमन्त्री हुँदा दाहालले प्रकाशसँगै भतिज समीरलाई पनि निजी सचिव बनाएका थिए । प्रधानमन्त्रीका रूपमा चीन भ्रमणमा जाँदा राज्यको प्रतिनिधिका रूपमा प्रकाशलाई लगेकामा आलोचना भएको थियो, फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थलमा दाहालले स्पष्टीकरण दिएका थिए, ‘प्रकाश युद्धकालदेखि नै सचिवालयमा रहेर काम गर्दै आएको छ । प्राविधिक रूपमा काम गर्नुपर्ने भएकाले भ्रमणमा लगेको हुँ ।’
भृकुटीमण्डपमा भएको भेलामा ‘अब सचिवालयमा परिवारका सदस्य नराख्ने’ घोषणा गरेका दाहालले पछि नातेदार चूडामणि खड्कालाई स्वकीय सचिव राखेका थिए । तर, सचिवालय भने प्रकाशले नै चलाएका थिए । ०७४ मंसिरमा प्रकाशको निधन भएपछि दाहालले छोरी गंगालाई स्वकीय सचिव नियुक्त गरेका हुन् । प्रधानमन्त्री दाहालको निजी सचिवालयमा प्रमुख स्वकीय सचिव सन्तु दराई, सचिव रमेश मल्लसहित टिम पनि छ । दाहाल प्रधानमन्त्री हुनुअघिदेखि नै मल्ल स्वकीय सचिवका रूपमा कार्यरत छन् । तर, महत्त्वपूर्ण भेटघाटमा भने गंगाकै भूमिका हुन्छ । तर आफ्नो भूमिकालाई गंगा अन्यथा मान्दिनन् । भन्छिन्, ‘म पार्टी कार्यकर्ताका हैसियतले स्वकीय सचिवका रूपमा भूमिका पाएकी हुँ । मैले आफ्नो ठाउँबाट राम्रो काम गर्ने प्रयास गरिरहेको छु । प्रधानमन्त्रीकी छोरी भएकै कारण आलोचना गर्नु गलत हो ।’
कांग्रेस सभापति शेरबहादुर देउवाको स्वकीय सचिवमा लामो समयदेखि भतिज भानु छन् । लोकबहादुरका छोरा भानु करिब दुई दशकदेखि शेरबहादुरसँगै छन् । भानु आउनुअघि देउवाका प्रमुख स्वकीय सचिवमा गोविन्द बोहरा र कर्ण मल्ल थिए, तर अहिले मल्ल त देउवाविरोधी नै बनेका छन् । देउवा आफैं फोन बोक्दैनन्, त्यसैले सम्पर्क व्यक्ति नै भानु हुन् ।
कसले भेट पाउने, कुन कार्यक्रममा जाने वा नजाने निर्णय भानुमार्फत हुन्छ । यद्यपि ठूला निर्णयमा भने कांग्रेस सांसदसमेत रहेकी देउवा पत्नी आरजुकै भूमिका प्रबल हुने गरेको कांग्रेसजनको भनाइ छ ।
संसद् पुनःस्थापनासँगै ०७८ असार २९ मा प्रधानमन्त्री बनेका बेला देउवाले लामो समयसम्म प्रमुख स्वकीय सचिव नियुक्ति गर्न सकेका थिएनन् । श्रीमती आरजु अर्का भतिज प्रकाशलाई प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव बनाउन चाहन्थिन् । देउवा भने लामो समयदेखि आफैंसँगै रहेका भानुलाई दोहोर्याउन चाहन्थे । एक महिना कटेपछि मात्रै भानु नै प्रमुख स्वकीय सचिवमा नियुक्त भए । भानुले प्रमुख स्वकीयको भूमिकाका बारेमा केही बताउन चाहेनन् । यति मात्रै भने, ‘सबै कुरा तपाईंलाई थाहै छ नि ।’
संसदीय दलमा देउवाका निजी सचिव रहेका केशवराज जोशी भने प्रमुख स्वकीय सचिवको भूमिका चुनौतीपूर्ण हुने बताउँछन् । उनका अनुसार स्वकीय सचिवको भूमिका भेटघाटको प्रबन्ध मिलाउने मात्र नभएर स्वार्थ जोडिएका विषयबाट नेतालाई बचाउनुपर्ने हुन्छ । ‘विश्वासिलो त चाहिन्छ नै, क्षमतावान् पनि हुनुपर्छ,’ भन्छन्, ‘के गलत के सही भन्ने कुरा छुट्याउन नसके नेतालाई स्वार्थी समूहले प्रयोग गर्न सक्छ ।’
एमाले अध्यक्ष केपी शर्मा ओली सालीको छोरा राजेश बज्राचार्यको भर पर्छन् । ओलीले औपचारिक रूपमा भने झापाकी एमाले कार्यकर्ता रोशनी मेचेलाई स्वकीय सचिव नियुक्त गरेका छन् । तर, सचिवालयको नेतृत्व राजेशले गर्छन् । ओलीको फोन उठाउने, भेटघाट जुराउनेदेखि औषधिको समय मिलाउने सबै काम राजेशले गर्छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा भएको लेनदेनमा वज्राचार्यको नाम जोडिएको छ । पक्राउ परेका आरोपितले प्रहरी बयानमा राजेशको नाम लिएका थिए, तर राजेशले यसलाई झूट भन्दै आएका छन् ।
एमाले उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री भएका बेला छोरा प्रतीक स्वकीय सचिव थिए । उनको कार्यशैली यस्तो थियो, गृहमन्त्री रामबहादुर हुन् कि प्रतीक भनेर छुट्याउन गाह्रो भएको गृहकै कर्मचारीहरू बताउँछन् । स्वकीय सचिव भएकै बेला प्रतीकले नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा मोटो रकम उठाएको अभियोग छ । पक्राउ पुर्जी जारी भएपछि प्रतीक फरार छन् । अर्का छोरा प्रवेश भने सांसद आमा नैनकलाका स्वकीय सचिव छन् ।
एकीकृत समाजवादीका अध्यक्ष रहेका माधवकुमार नेपालले भान्जा नितेश पौडेललाई स्वकीय सचिव राखेका छन्, यद्यपि उनको राजनीतिक सचिवालयको संयोजन मोहन गौतमले गर्दै आएका छन् । प्रधानमन्त्री भएका बेला नेपालले यादव शर्मा उपाध्यायलाई निजी सचिव नियुक्त गरेका थिए । नेपाल एमाले महासचिव हुँदा पनि सचिवालयमा रहेका शर्मा अहिले वाग्मती प्रदेशको प्रमुख छन् ।
कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले स्वकीय सचिवका रूपमा नातेदारभन्दा बाहिरका व्यक्तिलाई राखेका थिए । २०४६ देखि २०६६ सम्म २१ वर्ष नौ महिना उनका स्वकीय सचिव रहेका गोकर्ण पौडेल अकुत सम्पत्ति आर्जन मुद्दामा तानिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध करिब २ करोड रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित २०६२ सालमा मुद्दा चलाएको थियो । तर विशेष अदालतले अनुसन्धान सुरु भएपछि दुई वर्षभित्र मुद्दा चलाउनुपर्ने हदम्याद देखाउँदै सफाइ दिएको थियो, जसलाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।
गिरिजाप्रसाद प्रधानमन्त्री भएका बेला छोरी सुजाताका कारण पनि विवादमा परे । जीवनको उत्तरार्द्धमा छोरी सुजातालाई कांग्रेस राजनीतिमा अघि बढाउन खोज्दा पनि उनको आलोचना भयो । अर्कातिर सुजाताका ज्वाइँ रुबेल चौधरीको विवादास्पद कार्यशैली त्यति बेलै उत्कर्षमा थियो ।
सचिवालयमा परिवारका मान्छे राख्दा बोझ थपिने र स्वार्थ बाझिने बुझाइका कारण गिरिजाप्रसादले बाहिरका व्यक्तिलाई स्वकीय राखेको पौडेलको भनाइ छ । ‘स्वकीय सचिवको काम नेताका लागि सजिलो वातावरण मिलाइदिने हो । आर्थिक वा अरू महत्त्वाकांक्षा राख्यो भने समस्या आउँछ,’ उनले भने ।
गिरिजाप्रसादपछि पार्टीको नेतृत्व लिएका र प्रधानमन्त्री बनेका सुशील कोइराला प्रमुख स्वकीय सचिवकै कारणले धेरै विवादमा परे । सुशीलको आफ्नै परिवार थिएन । उनको प्रमुख स्वकीयका रूपमा लक्ष्मण ढकालले लामो समय काम गरे । सुशील प्रधानमन्त्री छँदा ढकालसँग परिवार र आफन्तको राम्रो सम्बन्ध बन्न सकेन । सुशील प्रधानमन्त्री हुनुअघिदेखि नै ढकालको भूमिकालाई लिएर कोइराला परिवारमा ठूलै विवाद चलेको थियो । लामो कसरतपछि मात्रै ढकाललाई प्रमुख स्वकीयबाट हटाइयो । त्यसपछि सुशीलको सचिवालयमा भतिज अतुल कोइराला र मृदुला कोइरालाको प्रवेश भयो ।
नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले स्वकीय सचिव नातेदार राखेका थिएनन् । उनले ०५१ मा प्रधानमन्त्री हुँदा चन्द्र सुवेदीलाई स्वकीय सचिव नियुक्त गरेका थिए । त्यस बेला अधिकारीले पार्टीको सिफारिसमा सल्लाहकार र स्वकीय सचिव नियुक्त गरेका थिए । अधिकारीका प्रेस सल्लाहकार रहेका एमाले स्थायी कमिटी सदस्य रघु पन्तले अधिकारीले आफ्नो सचिवालयमा नातेदार कसैलाई पनि नियुक्त नगरेको र उनका निकट नातेदारको पनि चासो नभएको सुनाए । ‘अधिकारीको नेतृत्व पार्टीमा निर्विवाद थियो । उहाँको जीवनशैली एकदम सामान्य थियो,’ उनले भने, ‘उहाँलाई पार्टी प्रणालीप्रति पूरा विश्वास हुनाले आफन्त कसैलाई पनि नियुक्त गर्नुभएन ।’
मनमोहनका नातेदार त्यसबेला राजनीतिक शक्तिबाट लाभ लिनबाट टाढै रहेको पन्तले बताए । उनले थपे, ‘छोरा प्रकाश बुवा (मनमोहन) लाई सफल बनाउन टिमको ठूलो भरोसा रहेको भन्नुहुन्थ्यो ।’ भूविज्ञानका प्राध्यापक प्रकाश राजनीतिमा पनि आएनन् । ‘मनमोहनले प्रधानमन्त्रीका रूपमा कुनै पनि मन्त्रीलाई हस्तक्षेप गर्नु भएन । स्वतन्त्र ढंगले काम गर्ने वातावरण दिनुभयो,’ पन्तले भने, ‘त्यसकारण एमालेको त्यो नौ महिने काललाई सबैले सम्झिरहेका छन् ।’
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि लामो समय नाताबाहिरका व्यक्तिलाई स्वकीय सचिव राखेका थिए । उनले सशस्त्र युद्धदेखि संविधान घोषणा हुने बेलासम्म विश्वदीप पाण्डेलाई स्वकीय सचिव बनाएका थिए । हाल पनि निकट सहयोगीका रूपमा पाण्डे कार्यरत छन् तर स्वकीय सचिव रोशन पोखरेल छन् । ‘नाताबाहिरका व्यक्तिलाई पनि विश्वास गर्न सकिन्छ भन्ने उहाँको मान्यता छ,’ पाण्डे भन्छन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिवमा भतिज सुरेशकाजी श्रेष्ठ पनि छन् । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको निकट सहयोगीका रूपमा भतिज मुक्तिले लामो समयदेखि काम गर्दै आएका छन् । मन्त्रीको हैसियतले भने देवराज बोहरालाई स्वकीय सचिव नियुक्त गरेका छन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वकीय सचिवमा भतिज उदय तिमिल्सिनालाई राखेका छन् । उपसभामुख इन्दिरा राना मगरले स्वकीय सचिवमा कुमार नेपालीलाई राखेकी छन्, तर सचिवालयमा उनले नातिनी प्रिजा मगरलाई राखेकी छन् ।
माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले सभामुख र मन्त्री हुँदा छोरा निर्मल र राहुललाई स्वकीय सचिव नियुक्त गरेका थिए । माओवादी उपमहासचिव जनार्दन शर्माले अर्थमन्त्री हुँदा छोरा प्रकाशलाई पनि स्वकीय सचिव नियुक्त गरेका थिए । हाल नवीन पोखरेल स्वकीय सचिव छन् ।
राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल दलका नेताहरूले आफ्नो सचिवालय बलियो बनाउनेभन्दा पनि व्यक्तिगत स्वार्थका आधारमा निजी सचिव नियुक्त गर्ने परम्परा बस्दै आएको बताउँछन् । ‘नेताहरू स्वकीय सचिवका कारण विवादमा पर्दै आएका छन् । आर्थिक मामिलासँग जोडिएका अपारदर्शी काममा स्वकीय सचिव मुछिएका घटना धेरै छन्,’ उनले भने, ‘शिक्षा, दक्षता, अनुभवका आधारमा स्वकीय सचिव राख्दा नेताको काम प्रभावकारी हुने हो । तर थोरै नेताले मात्र योग्य सचिव राख्न ध्यान दिएको पाइन्छ ।’
प्रतिनिधिसभाका कम्तीमा ४८ सांसदले श्रीमान्, श्रीमती, भाइ, बहिनी, भतिजा, साला, भान्जा, भान्जीलाई स्वकीय सचिव बनाएका छन् । स्वकीय सचिवमा आफन्त नियुक्त गर्नेमा एमालेका २०, कांग्रेसका १६, माओवादीका ६, राप्रपाका २ तथा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, जनमत र लोसपाका एक/एक सांसद छन् ।
संघीय संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐन, ०७३ अनुसार सांसदका स्वकीय सचिवले मासिक ४३ हजार ६ सय ८९ रुपैयाँ तलब पाउँछन् । झापाका एमाले सांसद कालुराम राई दृष्टिविहीन हुन् । उनलाई संसद् भवनको बैठक कक्षमा रहेको कुर्सीसम्म समाएर लैजानुपर्छ । त्यसैले उनले सहयोगीका रूपमा श्रीमती शुभलक्ष्मी थुलुङ राईलाई स्वकीय सचिव राखेका छन् ।
कास्कीका एमाले सांसद दामोदर पौडेलले स्वकीय सचिवका लागि छोरा सुवास र मनबहादुर गुरुङले छोरी अशिलालाई छानेका छन् । कपिलवस्तुकी एमाले सांसद अमृतादेवी अग्रहरीले छोरा पवन, सिरहाका रामशंकर यादवले छोरा विजय, कपिलवस्तुका सराज अहमद फारुकीले छोरा फौसाफ अहमद खा र दैलेखकी सूर्यकुमारी श्रेष्ठले छोरा संगमलाई स्वकीय सचिव राखेका छन् । एमालेबाट समानुपातिक सांसद बनेकी शोभा ज्ञवालीले श्रीमान् कृष्णप्रसाद खनाललाई स्वकीय सचिव बनाएकी छन् ।
कांग्रेस सांसदहरूमा ताप्लेजुङकी लीलादेवी बोखिमले छोरी कोपिला, नवलपुरकी बिनाकुमारी थनैतले छोरा युवराज, बर्दियाकी जाबेदा खातुनले छोरी हिना, जाजरकोटकी मैना कार्कीले छोरी ऋद्धिकालाई स्वकीय सचिव बनाएका छन् । माओवादी सांसदहरूमा नुवाकोटका हितबहादुर तामाङले छोरा रूपक, गोरखाका हितराज पाण्डेले छोरा किरण र लमजुङकी उर्मिला माझीले छोरी सामनालाई स्वकीय सचिवको जिम्मेवारी दिएका छन् । जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी मोरङकी सोनु मुर्मुले श्रीमान् सुमन हेम्ब्रोमलाई स्वकीय सचिव नियुक्त गरेकी छन् ।
स्वकीय सचिवमा भाइ, बहिनी, सालोलाई राख्ने सांसद ९ जना छन् । सप्तरीका कांग्रेस सांसद दिनेशकुमार यादवले सालो अनिलकुमार यादव, दोलखाका एमाले सांसद ईश्वरबहादुर रिजालले सालो कुमार विश्वकर्मा र सिन्धुलीका कांग्रेस सांसद श्यामकुमार घिमिरेले सालो दिवाकर पौडेललाई स्वकीय सचिव नियुक्त गरेका छन् । सल्यानकी राप्रपा सांसद अनिशा नेपालीले बहिनी पवित्रा नेपाली र जुम्लाकी कांग्रेस सांसद कान्तिका सेजुवालले बहिनी राधिका मल्ललाई स्वकीय सचिव राखेका छन् । बाँकेकी एमाले सांसद दीपा शर्माले बहिनी दिप्ती शर्मा, कपिलवस्तुकी कांग्रेस सांसद रूपा विकले भाइ सन्तोष विक र नुवाकोटकी सांसद सीता मिजारले भाइ बुद्धिमान मिजारलाई स्वकीय सचिव बनाएका छन् ।
भान्जा, भतिजा, भदै, भदैनी, भदा, नन्द, बहिनी ज्वाइँ, दिदीको छोरा नियुक्ति गर्ने सांसद १९ जना छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले भतिज भानु, नुवाकोटका कांग्रेस सांसद अर्जुननरसिंह केसीले भतिज सरोज, सल्यानका एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले भतिज सन्तोष बीसी, दैलेखका कांग्रेस सांसद दिक्पालकुमार शाहीले भतिज मिलन, भोजपुरका एमाले सांसद हेमराज राईले भतिज चन्द्रविक्रम, बागलुङका माओवादी सांसद देवेन्द्र पौडेलले भतिज राजन, सर्लाहीका लोसपा सांसद रामप्रकाश चौधरीले भतिज आशिष चौधरी र कपिलवस्तुका एमाले सांसद मंगलप्रसाद गुप्ताले भतिज वृजेशकुमारलाई स्वकीय सचिवमा नियुक्ति दिएका छन् । सर्लाहीका माओवादी सांसद महिन्द्र राय यादवले भान्जा सत्यप्रकाश यादवलाई स्वकीय सचिव बनाएका छन् । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले कार्यालय सहयोगीका रूपमा नातिनी प्रिजा मगरलाई नियुक्ति दिएकी छन् ।