काठमाडौँ — नेपाल र यूएईबीचको खेल जस्तो अपेक्षा गरिएको थियो, आखिर नतिजा त्यस्तै आयो । नेपालले ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आइतबार यूएईमाथि १ रनको सनसनीपूर्ण विजय हात पार्यो । दाबेदार मानिएको यूएईमाथिको यस विजयपछि नेपाल ट्वान्टी–२० विश्वकपको नजिक पुगेको छ ।
ओमानको मस्कटमा भइरहेको प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको नेपालले आसिफ शेखले ४७ बलमा ५१ रन बनाएपछि निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४० रन मात्र बनाउन सकेको थियो । अल अमेरेट क्रिकेट मैदानमा यूएईलाई अन्तिम ओभरमा विजयका लागि १० रन आवश्यक भएको समयमा दीपेन्द्रसिंह ऐरीले ८ रन मात्र दिएका थिए भने नेपालले सो क्रममा ३ विकेट लिँदै नाटकीय जित हात पारेको थियो । जसका कारण यूएईले ९ विकेट गुमाई १ सय ३९ रन मात्र बनाउन सक्यो ।
सुपर सिक्समा नेपाल र ओमानको समान ४ अंक भएको छ । नेपालले सोमबार कतारसँग खेल्नेछ र त्यसमा विजय हात पारे फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान लगभग निश्चित हुनेछ । ओमानले आइतबारको पहिलो खेलमा कतारलाई ३४ रनले पराजित गरेको थियो ।
यससँगै ओमानमा नेपालले यूएईसँगको हारको शृंखला पनि टुंग्याएको छ । २०२२ को ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनलमा यूएईसँगै पराजित हुँदा नेपाल विश्वकपमा पुग्न असफल भएको थियो । डेढ वर्षअघि एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलमा नेपाललाई रोक्दै यूएई एसिया कपमा पुगेको थियो । अब भने स्थिति फेरिएको छ । निर्णायक जस्तै मानिएको खेलमा यूएईमाथिको विजयले नेपाल लगातार दोस्रो पटक विश्वकपमा पुग्ने सम्भावनाको निकै नजिक पुगेको छ ।
दीपेन्द्रले अन्तिम ओभरको पहिलो दुई बलमा १ रन मात्र दिए । तर तेस्रो बलमा ध्रुव परासरले छक्का प्रहार गरे । त्यसपछि भने नेपालले लगातार तीन विकेट लिएको थियो । चौथो बलमा दीपेन्द्रले परासरलाई बाउन्ड्री लाइनमा क्याच गराए । पाँचौं बलमा सन्दीप जोराले हैदर अलीलाई रनआउट गरे । छैटौं तथा अन्तिम बलमा यूएईलाई विजयका लागि ३ रन चाहिन्थ्यो । तर जुनाइद सिद्धिकी २ रन लिने क्रममा रोहित पौडेलको थ्रोमा रनआउट भएपछि नेपाल विजय भएको हो ।
सोमपाल कामीले दोस्रो ओभरमै कप्तान मोहम्मद वासिमलाई १ रनमै आउट गरे पनि ११ ओभरमा ८३–१ को स्थितिमा हुँदा यूएई सहज विजयको नजिक थियो । जोनाथन फिगी र अलिसन सराफुले दोस्रो विकेटमा १० ओभरभित्र ८१ रन जोडे । फिगीलाई १९ रनमा स्टम्प आउट गराई दीपेन्द्रले यो साझेदारी तोडेका थिए । दीपेन्द्रले आफ्नो अर्को ओभरमा सराफुलाई पनि बोल्ड गरे । सराफुले ४० बल खेली ३ चौका र ५ छक्का प्रहार गर्दै ५८ रन बनाए ।
दीपेन्द्रले नै राहुल चोपरालाई ७ रनमा रनआउट गरे । बसिल हमिदलाई उनले सामना गरेको पहिलो बलमै सन्दीप लामिछानेले बोल्ड गरे । प्लेयर अफ द म्याच दीपेन्द्रले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल, गुलशन झा र सन्दीपले १–१ विकेट लिए ।
यसअघि आसिफ शेख र कुशल भुर्तेलले नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । यी दुईले ८ ओभरभित्र ५६ रन जोडे । भुर्तेल २६ बल खेली समान २ चौका र छक्का प्रहार गरी २८ रन बनाई हर्षित कौषिकको बलमा एलबीडब्लू आउट भए । कप्तान रोहित पौडेलले १९ बल खेली १ चौकासहित २० रन बनाए ।
आसिफले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नवौं अर्धशतक बनाए । तर नेपालले जुन हिसाबले सुरुआत दिलाएको थियो, त्यसअनुरूपको फिनिसिङ हुन सकेन । कुशल मल्ल ११ बलमा १०, दीपेन्द्र २ बलमा १ रनमा आउट भए । गुलशनले ५ बलमा १४ रन बनाउने क्रममा २ चौका र १ छक्का प्रहार गरे । जोरा ४ बलमा ४ र सोमपाल ६ बलमा ६ रन बनाई अविजित रहे ।