पोखरा । भदौ २३ र २४ गते देशभर चर्किएको जेनजी आन्दोलनले गण्डकी प्रदेशमा ठुलो धनजनको क्षति पुर्याएको छ । पोखरालाई आन्दोलनकारीले निशाना बनाए । प्रदेश संरचनामा बढी क्षति पुगेको छ ।
मुख्यमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालय, मन्त्रीका निवासदेखि प्रदेश सभा भवनसम्म जलेर नष्ट भएका छन् । मुख्यमन्त्री कार्यालयले तयार पारेको प्रारम्भिक विवरण अनुसार ४८ वटा चारपाङ्ग्रे र १२० वटा दुईपाङ्ग्रे सवारी साधन पूर्ण रुपमा जलेर नष्ट भएका छन् । ४ वटा गाडीमा तोडफोड गरिएको छ । विभिन्न कार्यालयभित्र रहेका सबै सामग्रीहरू जलेका छन् ।
यो आन्दोलनमा पोखरामा सबैभन्दा बढी क्षति प्रदेश सभाले बेहोरेको छ । प्रदेश सभाको सबै भवनमा आगजनी गरिएको छ । सवारी साधनहरू तोडफोड र आगजनी गरिएका छन् । सचिवालयका अनुसार प्रदेश सभा भवन र मातहतका सबै कार्यालयहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
यस्तै, ६ वटा चारपाङ्ग्रे सवारी साधन र १२ वटा दुईपाङ्ग्रे सवारी आगजनीका कारण नष्ट भएका छन् । कार्यालयका अनुसार ३९ वटा कम्प्युटर, १९ वटा ल्यापटप, ४ वटा डिजिटल क्यामेरा, ५ वटा भिडियो क्यामेरा, ३८ वटा फोटोकपी मेसिन र प्रिन्टर तथा ९ वटा टेलिभिजन स्क्रिन र ४४ वटा एसी जलेको छ ।
धेरै क्षति बेहोर्नेमध्ये वन तथा वातावरण मन्त्रालय पनि छ । यो मन्त्रालयको ५ वटा गाडी पूर्ण रूपमा जलेको छ । एउटा गाडीमा तोडफोड भएको छ भने ८ वटा मोटरसाइकल र ४ वटा स्कुटर जलाइएको छ । मन्त्रालयका अधिकांश कक्षहरू जलेको अवस्थामा छन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको ५ वटा गाडी र १२ वटा दुईपाङ्ग्रे सवारी जलेको छ । निवासमा सामान्य क्षति छ भने सामग्रीहरू चोरी भएका छन् । सामाजिक विकास कार्यालय र गण्डकी विश्वविद्यालयमा पनि तोडफोड गरिएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयको ६ वटा गाडी र २७ वटा दुईपाङ्ग्रे सवारी जलाइएको अवस्थामा भेटिएका छन् । निर्देशनालयको स्टोरमा आगजनी गरिएको छ भने सामग्री चोरी भएको छ । शहरी विकास र पूर्वाधार विकास कार्यालयमा तोडफोड गरिएको छ भने ४ लाख ४२ हजार राजस्वबापतको रकम चोरी भएको छ । मन्त्री निवासमा पूर्ण क्षति भएको छ । आर्थिक मामिला मन्त्रालयको ३ वटा गाडी र ६ वटा दुईपाङ्ग्रे सवारीमा आगो लगाइएको छ । मन्त्रालयको भुइँतला तोडफोड भएको छ भने मन्त्रीको कार्यकक्षमा पनि तोडफोड गरिएको छ । ल्यापटप, कम्प्युटर लगायतका सामग्रीहरू चोरी भएका छन् । मन्त्री निवासमा तोडफोड भएको मन्त्रालयले विवरण निकालेको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको एउटा गाडी र एउटा स्कुटर जलेको छ । मन्त्रीको निवासमा आगजनी भएको छ । अन्य क्षति यो मन्त्रालयमा भएको छैन । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको ६ वटा गाडी र १८ वटा मोटरसाइकल जलाइएको छ । एउटा गाडीमा तोडफोड भएको छ । अधिकांश सामग्रीहरू हराएका छन् ।
पर्यटन तथा उद्योग मन्त्रालय मातहतका ४ वटा गाडी र ५ वटा मोटरसाइकल पूर्ण जलेर नष्ट भएका छन् । निर्देशनालयको भवनमा पूर्ण क्षति भएको छ भने जिल्ला कार्यालय तनहुँमा तोडफोड गरिएको छ । मन्त्री निवास पनि तोडफोड भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश प्रमुख कार्यालयको ४ वटा गाडी जलेको छ । ३ वटा मोटरसाइकल र २ वटा कर्मचारीका निजी स्कुटरहरू जलेका छन् । कार्यालयमा भएका सबै कागजात जलाइएको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री कार्यालय जलेर नष्ट भएको छ । ७ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेको छ । मुख्यमन्त्रीको निवास पूर्ण रूपमा जलेको मन्त्रालयले जनाएको छ । गाडीहरू सुरुमै प्रदेश प्रहरी कार्यालय परिसरमा राखिएका कारण क्षति हुनबाट जोगिएको थियो ।
प्रदेश प्रमुख निवास पनि जलेको छ । प्रदेश लोकसेवा आयोगको ४ वटा गाडी र एउटा मोटरसाइकल जलेको छ । २९ लाख हाराहारीको अन्य क्षति भएको अनुमान गरिएको छ । प्रदेश प्रशिक्षण प्रतिष्ठानको सम्पूर्ण भवन जलेर नष्ट भएको छ । एउटा गाडी र ४ वटा दुईपाङ्ग्रे सवारी जलेको छ । २ वटा गाडीमा तोडफोडबाट क्षति पुगेको छ । कम्प्युटर, प्रोजेक्टर, मोबाइलदेखि प्रिन्टर, जेनेरेटर, एसी लगायतमा क्षति भएको छ ।
मुख्यमन्त्री कार्यालय जलेर नष्ट भएको छ । ७ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेको छ । मुख्यमन्त्रीको निवास पूर्ण रूपमा जलेको मन्त्रालयले जनाएको छ । गाडीहरू सुरुमै प्रदेश प्रहरी कार्यालय परिसरमा राखिएका कारण क्षति हुनबाट जोगिएको थियो ।
प्रदेश नीति तथा योजना आयोगको ३ वटा गाडी र ४ वटा मोटरसाइकल प्रयोग गर्न नमिल्ने गरी जलाइएको छ । भवनमा केही क्षति पुगेको छ । स्वास्थ्य मन्त्रालयमा खासै ठुलो क्षति देखिएको छैन । यो मन्त्रालयको ३ वटा स्कुटर मात्रै जलाइएको छ । भौतिक संरचना भने सकुशल रहेको मन्त्रालयले जनाएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयमा खासै क्षति भएको छैन ।
क्षतिको प्रारम्भिक विवरण आए पनि आर्थिक मूल्याङ्कन भने भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । सबै मन्त्रालय र कार्यालयलाई ३ दिनभित्र मुचुल्का गरी विवरण पेस गर्न निर्देशन दिइएको सचिव रमेश ढकालले जानकारी दिएका छन् ।