नेभिगेसन मेनु

थारू समुदायको ‘बर्का नाच’ सङ्कटमा
सम्पादक:南亚网络电视
समय:2025-10-13 12:33

 

 wechat_2025-10-13_101625_119

काठमाडौँ , असोज २७ गते । थारू ‘बर्का नाच’ सङ्कटमा पुगेको छ । पश्चिम नेपालका थारू समुदायको एक मात्र बर्का नाच आर्थिक अभावले अहिले सङ्कटमा पर्दै गएको हो ।  विशेष गरेर दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा नाचिने बर्का नाच अहिले दाङमा मात्रै सिमित छ । त्यो पनि जिल्लाकै एउटै गाउँमा कहिले काहीँ मात्र नाचिने अवस्था आएको छ ।

थारू समुदायमा चाडपर्व अनुसार नाचिने महोत्या, मघौटा, छोक्रा, हुरडुंग्या, झुम्रा, लठ्ह्वा, लठ्ठी, सख्या, पैया लगायत दर्जनौं परम्परागत तथा मौलिक नाचहरू मध्ये बर्का नाचको सांस्कृतिक र धार्मिक महत्त्व विशिष्ट रहेको पाइन्छ । थारू समुदायको महत्त्वपूर्ण बर्का नाच अहिले पूर्ण रूपमा लोप हुने अवस्थामा पुगेको बर्का नाचका अभियन्ता एवम् घोराही उपमहानगरपालिका–१०, जलौराका चन्द्रप्रसाद चौधरी बताउनुभयो ।

“हाम्रो समुदायमा विविध मौलिक नाचहरू छन्, ती नाचहरू चाडपर्व अनुसार नाचिन्छन्,’’ चौधरीले भन्नुभयो, ‘‘तर तीमध्ये बर्का नाच सङ्कटमा परेको छ ।” उहाँका अनुसार बर्का नाच थारू समुदायको तान्त्रिक संस्कार, धार्मिक विश्वास र सांस्कृतिक पहिचान बोकेको नाच हो । त्यस्तै बर्का नाच महाभारतको कथासँग पनि जोडिएको उहाँले बताउनुभयो । “यसमा थारू समुदायका परम्परागत गीत बर्कीमागर गाइन्छ,’’ उहाँले भन्नुभयो, ‘‘‘बर्किमार’को शाब्दिक अर्थ ‘महाभारत’ हो ।”

उहाँको अनुसार बर्का नाच यो नाच विशेषतः दसैँदेखि सुरु भई फागुन महिनासम्म नाचिन्छ । “यो नाचमा मान्दल बजाउन २२ वटा ख्वाँट अनिवार्य रूपमा बजाइनुपर्छ । अहिले मान्दल बजाउन जान्ने मानिसको अभाव छ, यो नाच नाच्दा कम्तिमा पनि २७ जना महिला पुरुषको सहभागिता आवश्यक हुन्छ ।,’’ उहाँले भन्नुभयो, “युवा पुस्ताले यो मौलिक नाचप्रति चासो नदिँदा बर्का नाच सङ्कटमा परेको छ । मैले गाउँका युवाहरुलाई सिकाउने प्रयास गरेँ, तर उनीहरूले चासो देखाउदैनन् ।”

बर्का नाच सुरुवात गर्नु अगाडि ‘भूह्यारथान’ मा विशेष पूजा गनुपर्ने संस्कार रहेको उहाँले बताउनुभयो । यसमा लागत धेरै लाग्ने हुँदा आर्थिक पक्ष पनि चुनौती बनेको चौधरी भन्नुभयो, ‘‘नाच गर्न पूजापाठ, पोशाक, बाजागाजा लगायतमा धेरै खर्च लाग्ने भएकाले आर्थिक अभावका कारण पनि बर्का नाच लोप हुने अवस्थामा पुगेको छ ।”

थारू समुदायको मौलिक पहिचान बोकेको बर्का नाच संरक्षणका लागि चौधरी व्यक्तिगत रूपमा लागिपरे पनि आर्थिक अभावका कारण कठिनाइ भएको बताउनुहुन्छ । उहाँले यस किसिमको मौलिक सांस्कृतिक सम्पदाको संरक्षणमा राज्यको ध्यान जानु आवश्यक रहेको बताउनुभयो । “स्थानीय कला, संस्कृति, भाषा र साहित्य संरक्षणको जिम्मेवारी राज्यको हो,” चौधरीले भन्नुभयो, “यी सम्पदाहरू राष्ट्रका गहना हुन्, त्यसैले यसको संरक्षण गर्न राज्यले ठोस नीति र कार्यक्रम ल्याउनु आवश्यक छ ।”

थारू समुदायको मौलिक संस्कृति लोप हुने खतरा बढ्दै गइरहेको वर्तमान अवस्थामा बर्का नाचजस्ता परम्परागत नाचहरूको संरक्षण र पुस्तान्तरण राज्य र समाजको साझा जिम्मेवारी हो । यसतर्फ सम्बन्धित निकायले समयमै ध्यान नदिएमा थारू समुदायको सांस्कृतिक सम्पदा सधैंका लागि हराउने खतरा बढ्दै गएको देखिन्छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर