काठमाडौँ — चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमै पूर्वउपराष्ट्रपति एवं माओवादी नेता नन्दबहादुर पुनमाथि पनि अनुसन्धान सुरु भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्षअघिको तस्करी प्रकरणमा महरालाई आइबार पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार भन्सार ऐन र संगठित अपराधसम्बन्धी कसुरमा महरामाथि अनुसन्धान अघि बढाइएको छ ।
दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर १० पुस २०७९ मा ल्याइएको करिब ८ करोड ५५ लाख २८ हजार बराबरको करिब ९ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुल सक्रिय रूपमा खटिएका थिए ।
त्यति बेला ७३ वटा बाकसमा राखेर ल्याइएको ७३० थान भेप शंकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो । भेप लिएर आएका भरिया ली हसङ तत्कालै फरार भएका थिए । पछि भेप सुन छुटाउन चिनियाँ तस्कर दावाजिन वाङले पूर्वसभामुख महरा र उनका छोरा राहुलको सहयोग लिएका थिए ।
सुन छुटाउन पहल गर्ने क्रममा महरा बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलेको थियो । भन्सार गोदामबाटै भेप चोरी भएपछि मात्रै सुन तस्करीको रहस्य खुलेको थियो । त्यस प्रकरणमा भन्सारका कर्मचारी र एजेन्टविरुद्ध सुरुमा मुद्दा दायर भएकामा पछि २४ असोज २०८० मा राहुल महराविरुद्ध पूरक मुद्दा अदालतमा लगिएको थियो । पूर्वसभामुख महराविरुद्ध भने सूक्ष्म अनुसन्धान नै हुन सकेको थियो जबकि भेप छुटाउन आफूले विमानस्थलका कर्मचारीलाई फोन सम्पर्क गरेको स्वीकार गरेका थिए । महराको परिवारसँग चिनियाँ सुन तस्करहरूको सम्बन्ध २ दशकअघिबाटै रहेको पनि खुलेको थियो ।
पूर्वसभामुख महरालाई ५ चैत २०८० मा कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ‘स्वास्थ्यको कारण’ देखाउँदै महरालाई ‘हाजिरी जमानी’ मा छाडेको थियो । त्यसपछि सीआईबीमा यो विषय थन्किएको थियो । सरकारले पनि अनुसन्धानमा चासो दिएको थिएन । महराविरुद्धको अनुसन्धान टुंगोमा नपुग्दै रिहा गरिएकामा आलोचना बढेपछि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘राज्यको पनि करुणा हुन्छ’ भन्दै प्रतिरक्षा गरेका थिए । डेढ वर्षपछि सुन तस्करीको अनुसन्धान ब्युँताउँदै सीआईबीले पूर्वसभामुख महरालाई पुनः पक्राउ गरेको हो ।
दुई पटक उपराष्ट्रपति भइसकेका माओवादी नेता पुन र उनका दुई छोरा जितेन्द्र र दीपेश तथा उनी उपराष्ट्रपति छँदा ‘वैदेशिक मामिला विज्ञ’ का रूपमा नियुक्त जीवन गुरुङविरुद्ध पनि सीआईबीले अनुसन्धान अघि बढाएको छ । जितेन्द्रले हुम्लापारि चिनियाँ भूमि ताक्लाकोट पुगेर तमसुक गरी ४ किलो सुन बुझेको भिडियो र तस्बिरसहितको समाचार कान्तिपुरले २७ फागुन २०८० मै बाहिर ल्याएको थियो ।
जितेन्द्रले चीनमै गएर तमसुक गरी ४ किलो सुन बुझेको भिडियो र तस्बिरसहितको समाचार कान्तिपुरले २७ फागुन २०८० मै बाहिर ल्याएको थियो । १९ असोज २०७६ (६ अक्टोबर २०१९) मा चीनको सेन्जेन प्रस्पर मंकक कम्पनीबाट चार किलो सुन उधारोमा किन्न जितेन्द्रले तमसुक गरेका थिए । त्यसबेलाको मूल्यअनुसार साढे दुई करोड रुपैयाँ तिर्न उनले एक वर्षको म्याद लिएका थिए, जसको दैनिक ब्याज २० हजार र वर्षभरिको ७१ लाख निर्धारित गरिएको थियो । उधारोमा किनिएको सुनको मूल्य साँवा र ब्याज गरी सवा ३ करोड कायम गरिएको थियो ।
तस्करीबाट सुन भित्र्याउन जितेन्द्रले बाबुको ओहदा दुरुपयोग गरी आफूलाई हुम्लावासी बनाई सीमा वारपार गर्ने परिचयपत्र बनाएका थिए । रोल्पाको राङ्सी स्थायी घर भएका जितेन्द्रले त्यस्तो परिचयपत्र गृह मन्त्रालयबाट लिएका हुन् । उधारोमा तस्करीको सुन ल्याउन जितेन्द्रले आफू उपराष्ट्रपतिको छोरा भएको, उपराष्ट्रपतिको स्वकीय सचिव भएको देखिने कागजात चिनियाँ गिरोहलाई बुझाएका थिए । पछि सुनको भुक्तानी नदिएपछि चिनियाँले तत्कालीन उपराष्ट्रपति पुनसँगै कुराकानी गरेको तथ्य पनि खुलेको थियो । पूर्वराष्ट्रपति पुनमाथि अनुसन्धान नै भएको थिएन ।
माओवादी नेता पुन १४ कात्तिक २०७२ देखि ६ चैत २०७९ सम्म उपराष्ट्रपति थिए । जितेन्द्रले त्यस बेला पुनको स्वकीय सचिवका रूपमा सरकारी सेवासुविधा लिएका थिए । हाल जितेन्द्र अमेरिकामा र उनका भाइ दीपेश भारतमा रहेको प्रहरी अधिकारीहरूको दाबी छ । जितेन्द्र हेलिकोप्टर चालकको तालिम लिन भन्दै अमेरिका गएका थिए ।
पूर्वउपराष्ट्रपति पुनका अर्का छोरा दीपेश असार २०८० मा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र त्यसअघि १० पुस २०७९ मा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करीमा मुछिएका थिए । सुन तस्करी प्रकरणमा दीपेशको संलग्नता किटान गर्दै सुन जाँचबुझ आयोगले पनि थप अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो । दीपेश नक्कली भुटानी शरणार्थी प्रकरण र सहकारी ठगी प्रकरणका पनि आरोपित हुन् ।
पुन उपराष्ट्रपति छँदाका ‘वैदेशिक मामिला विज्ञ’ जीवनकुमार गुरुङ त्रिभुवन विमानस्थलमा १९ मंसिर २०८० मा बरामत १४ केजी सुन प्रकरणमा मुछिएर १४ फागुनमा पक्राउ परेका थिए । पछि उनी धरौटीमा छुटेका थिए ।
भन्सार ऐन, २०६४ अन्तर्गत सरकारद्वारा जारी आदेशअनुसार ‘झिटीगुन्टा’ शीर्षकमा महिलाले ५० ग्राम र पुरुषले २५ ग्राम तथा भन्सार शुल्क तिरेर २ सय ग्रामसम्म तयारी सुन ल्याउन पाइन्छ । यसबाहेक हुने सुन कारोबार दण्डनीय मानिन्छ । भन्सार ऐन, २०६४ को दफा ५७ मा ‘कसैले कुनै मालवस्तु चोरी, निकासी वा चोरी पैठारी गरे वा गर्ने प्रयत्न गरे वा खास बाटोबाट मात्रै निकासी–पैठारी गर्न पाउनेमा अन्यत्रबाट निकासी–पैठारी गरेमा कसुर गरेको मानिने’ उल्लेख छ । त्यस्तो कसुरमा १ करोडदेखि ३ करोड रुपैयाँसम्मको बिगो कायम भए १ देखि ३ वर्षसम्म र त्यसभन्दा माथिको बिगोमा ३ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
जितेन्द्र पुनले तस्करीबाट ल्याएको ४ केजी सुन ४ करोडभन्दा बढीको हो । यो कसुर पुष्टि भए उनीविरुद्ध खुलेको बिगो र ५ वर्षसम्म कैद सजाय हुन सक्छ । महराविरुद्ध सीआईबीले भन्सार ऐन र संगठित अपराधका दफाअन्तर्गत कसुरमा अनुसन्धान गरिरहेको छ । संगठित अपराध निवारण ऐन, २०७० मा ‘कसैले आपराधिक समूहको लाभका लागि, आपराधिक समूहको निर्देशनमा आपराधिक समूहका तर्फबाट आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक वा सदस्य भई जानीजानी कुनै गम्भीर अपराध गरेमा निजले संगठित अपराध गरेको मानिने’ भनिएको छ ।