एस् ए टी भी काठमाडौं, भदौ २० – नेपाल कला तथा संस्कृति महोत्सव तथा Roots & Reflection – कला प्रदर्शनी आज नेपालका सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूद्वारा औपचारिक रूपमा उद्घाटन गरिएको छ।
तीन सातासम्म चल्ने यस महोत्सव नेपाल कला परिषदले नेपाल पर्यटन बोर्डसहित विभिन्न संस्थाहरूसँग सहकार्य गरेर आयोजना गरेको हो। महोत्सवको उद्देश्य नेपालको प्राचीन कला, संस्कृति, भाषा, परम्परा, खानपान र धरोहरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको छ।
महोत्सवमा परम्परागत जात्रा, सांगीतिक तथा नृत्य प्रस्तुती, नेपाली सेनाको सांस्कृतिक कार्यक्रम, दस्तावेज कला, स्थानीय परिकार र सयौँ कलाकृतिहरू प्रदर्शनीमा समावेश गरिएको छ। Roots & Reflection प्रदर्शनीमार्फत परम्परा र समकालीन सिर्जनशीलताको संयोजनमा आधारित कला प्रस्तुत गरिएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको मौलिक कला, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन सबै नेपालीको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले नेपालको सांस्कृतिक सम्पदालाई विश्वमञ्चमा चिनाउन सरकार र समाज दुवैको सक्रियता अपरिहार्य रहेको पनि जोड दिनुभयो।
आयोजकहरूको भनाइमा, महोत्सवले कला–संस्कृतिप्रति जनचेतना बढाउने, पर्यटन प्रवर्द्धन गर्ने र अन्तर्राष्ट्रिय तहमा नेपालको पहिचानलाई थप मजबुत बनाउन योगदान पुर्याउने विश्वास गरिएको छ।