नेभिगेसन मेनु

सवा २३ अर्बको बिमा दाबीमा डेढ अर्ब मात्र भुक्तानी
सम्पादक:南亚网络电视
समय:2025-10-12 12:46

 

 nepal-insurance-authority-2442024041258-1000x0-2712025023734-1000x0

काठमाडौँ — गत २३ र २४ भदौको प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको सवा २३ अर्ब रुपैयाँ बराबरको बिमा दाबी परेकामा डेढ अर्ब रुपैयाँ बराबरको मात्र भुक्तानी भएको छ । असोज २३ सम्मको तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ बराबरको दाबी परेको छ । त्यसमध्ये १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ बराबर मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ । यो परेको कुल दाबीको करिब ६.८२ प्रतिशत मात्र हो । 

२३ असोजसम्म भएको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी १ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ सम्पत्ति बिमा (घरसम्पत्ति) अन्तर्गतको छ । सम्पत्ति बिमापछि धेरै भुक्तानी भएको मोटर बिमा हो । जसमा २४ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ । ठेकेदार तथा इन्जिनियरिङ बिमामा ८७ लाख र अन्य बिमामा ५ लाख रुपैयाँ बराबरको मात्र भुक्तानी भएको छ । खासगरी ठूला क्षतिमा मूल्यांकनको काम नसकिएकाले परेको दाबीमध्ये धेरै कम मात्र बिमा भएको देखिएको बिमा कम्पनीहरूले जनाएका छन् ।

भुक्तानी भएकामध्ये पनि धेरै रकम पेस्कीबापत दिइएको बिमा कम्पनीहरूले जनाएका छन् । खासगरी पूर्ण क्षति भएका सवारी साधनलगायत सम्पत्तिको बिमा भुक्तानी गर्न समय नलागे पनि ठूला क्षतिमा मूल्यांकन (सर्भेयर) को प्रतिवेदन आउन समय लाग्ने भएकाले भुक्तानी रकम धेरै नदेखिएको उनीहरूको भनाइ छ ।

गत २३ र २४ भदौको प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिमा परेको बिमा दाबीमध्ये साना प्रकृतिका सबै दाबी तिहारसम्म भुक्तानी दिइसक्ने नेपाल बिमक संघले यसअघि नै बताइसकेको छ । बिहीबारसम्म बिमा कम्पनीहरूमा ३ हजार ९९ वटा दाबी परेका छन् । तीमध्ये दुई हजारभन्दा बढी दाबी साना प्रकृति (दुई करोडभन्दा कमका) रहेको र तिनको भुक्तानी आउँदो तिहारसम्म गरिसक्ने आफूहरूको तयारी रहेको नेपाल बिमक संघका अध्यक्ष वीरेन्द्र बैदवार क्षेत्रीले जनाए ।

नेपाल उद्योग वाणिज्य महासंघले करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । ‘त्यो क्षतिको २०/२५ प्रतिशत मात्र बिमा भएको देखिन्छ । त्यसमध्ये एक दुई ठूला दाबी हटाउने हो भने करिब १२/१३ प्रतिशतमा मात्र बिमा पहुँच पुगेको छ,’ क्षेत्रीले भने । सरकारी संरचनाको बिमा नै नभएको र धेरै निजी संरचना पनि बिमाको पहुँचभन्दा टाढा रहेकाले आफूहरूको अनुमानभन्दा धेरै कम मात्र बिमा दाबी परेको उनले बताए ।

प्रदर्शनका क्रममा भएको क्षतिमा परेको दाबी हालसम्मकै सबैभन्दा धेरै भएको पनि बिमा कम्पनीहरूको भनाइ छ । यसअघि २०७२ सालको भूकम्पमा १७ अर्ब र अघिल्लो वर्षको असोजमा आएको बाढीमा करिब १३ अर्बको बिमा दाबी परेको थियो । पछिल्लो प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबीमध्ये ७३.९२ प्रतिशत सवारीसाधन (मोटर) बिमाको रहेको पाइएको छ । हालसम्म बिमा कम्पनीहरूमा कुल २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ बराबरको ३ हजार ९९ वटा दाबी परेको छ । त्यसमध्ये २ हजार २ सय ६ वटा दाबीमा ३ अर्ब ४१ करोड ६ लाख रुपैयाँ बराबरको माग गरिएको छ ।

दाबीको आकलन गर्दा प्रदर्शनका क्रममा धेरै सवारीसाधनमा क्षति पुगेको देखिन्छ । सरोकारवाला भने परेको बिमा दाबीभन्दा धेरै संख्यामा सवारीसाधनमा क्षति भएको बताउँछन् । अर्थ मन्त्रालय स्रोतका अनुसार १ हजार २ सयभन्दा बढी सरकारी सवारीसाधनमा क्षति पुगेको छ । तीमध्ये धेरैको बिमा भएको छैन । बिमा भएका सवारीसाधनमा पनि तेस्रो पक्षकै मात्र रहेको जनाइएको छ । धेरै निजी सवारीसाधनमा पनि क्षति पुगेको छ । तर तीमध्ये धेरैको बिमा गरिएको छैन । बिमा भएको पनि तेस्रो पक्षको मात्र भएकाले क्षति भएका सबै सवारीसाधनको बिमा दाबी नपरेको हो ।

रकमका आधारमा हेर्दा भने सबैभन्दा धेरै दाबी सम्पत्ति बिमामा परेको छ । सम्पत्ति बिमामा घर, अपार्टमेन्टलगायत स्थिर सम्पत्ति पर्छन् । यस बिमाअन्तर्गत ६ सय ५३ वटा बिमा दाबी परेका छन् । यसमा १९ अर्ब ६ करोड ७६ लाख रुपैयाँ माग गरिएको छ । यो परेको कुल दाबीको ८१ प्रतिशतभन्दा केही बढी हो ।

कम्पनीहरूमा परेको कुल बिमा दाबीमध्ये (संख्या) सवारीसाधन र सम्पत्ति बिमा जोड्दा करिब ९५ प्रतिशत हुन आउँछ । प्रादेशिक रूपमा हेर्दा सबैभन्दा धेरै बागमतीमा रहेको देखिएको छ । सम्पत्ति धनीले क्षतिबापत गरेको बिमा दाबीको तथ्यांकले यस्तो देखाएको हो । यसअनुसार बागमतीमा मात्र ५४ प्रतिशत अथवा १ हजार ६ सय ६९ वटा दाबी परेका छन् ।

दोस्रोमा, ३ सय ९६ वटा दाबी कोशीमा परेका छन् । तेस्रोमा, मधेशमा ३ सय ५५ वटा दाबी परेका छन् । लुम्बिनीमा २ सय ४६, गण्डकीमा २ सय १२, सुदूरपश्चिममा १ सय ९९ र कर्णालीमा २२ वटा बिमा दाबी परेको बिमा प्राधिकरणले जनाएको छ ।

रकमका आधारमा पनि करिब ७७ प्रतिशत दाबी बागमतीमा परेको प्राधिकरणको तथ्यांक छ । पछिल्लो तथ्यांकअनुसार परेको साढे २३ अर्ब रुपैयाँ दाबीमध्ये सबैभन्दा धेरै १८ अर्ब ४ करोड ३ लाख रुपैयाँ बागमतीकै छ । यो कुल दाबी रकमको ७७.१२ प्रतिशत हो । यसरी बिमा दाबीका लागि परेका उल्लिखित तथ्यांकका आधारमा संख्याका हिसाब आधाभन्दा बढी र रकमका हिसाबले करिब ८० प्रतिशत क्षति बागमतीमा परेको विश्लेषण गर्न सकिन्छ ।

हालसम्म इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा १ सय ९०, पारवहन बिमामा १२ र अन्यमा ३८ वटा दाबी परेका छन् । प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबी आउने क्रम जारी नै रहेकाले अझै बढ्ने अनुमान छ । करिब २५ अर्ब रुपैयाँ बराबरको दाबी पर्ने बिमा कम्पनीहरूको अनुमान छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर