काठमाडौँ , असोज २७ गते । तराई–मधेशका जिल्लाहरूमा सूर्य उपासना पर्व छठ नजिकिँदै गर्दा समुदायका नागरिक अहिले बाँसका सामग्री बनाउन काममा व्यस्त देखिएका छन् ।
छठ पर्वमा विशेषगरी बाँसबाट बनेका सामग्रीको प्रयोग हुनेहुँदा बजारमा माग बढेसँगै यति बेला डोम समुदायका महिला तथा पुरुष बाँसका सामग्री बनाउन व्यस्त भएका हुन् ।
प्रत्येव वर्षको छठमा प्रयोग हुने बाँसको सुपा, डलिया, टोकरीलगायतका सामग्री नयाँ प्रयोग गर्नुपर्ने परम्परा अनुसार बाँसका सामग्रीको माग बढ्दै गएपछि धनुषा, सिरहा, महोत्तरी, सप्तरी र रौतहटलगायतका जिल्ला अहिले बाँसका विभिन्न सामग्री बनाएको देख्न सकिन्छ । जनकपुरधाम उपमहानगरपालिका–६ की ४० वर्षीया दुलारी देवी मल्लिक भन्नुहुन्छ, “मिथिला क्षेत्रमा मनाइने छठ, चौरचन तथा बर्साइन पर्व आउँदा बाँका सामग्री बनाउने चटारो हुन्छ ।’’
उहाँका अनुसार छठ पर्वले उनीहरूको वर्षकै सबैभन्दा व्यस्त समय ल्याउँछ । छठमा प्रयोग हुने सबै पूजा सामग्रीमध्ये बाँसका वस्तु अनिवार्य रूपमा प्रयोग हुन्छन् । प्रसाद राख्ने, जलाशय किनारमा पूजा गर्ने र सूर्यलाई अर्घ दिने क्रममा बाँसका डालो, सुपा र टोकरीको प्रयोग गरिन्छ । जुन धार्मिक र सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ ।
यस्तै, जनकपुरधाम–७ की निललम देवीका अनुसार छठ पर्वकै समयमा उहाँहरूको परिवारको मुख्य आम्दानी हुने गर्छ । “यो समयमा महिनामा १५ देखि २० हजारसम्म कमाइ हुन्छ,” उहाँ भन्नुहुन्छ, “अरू महिनामा काम घट्छ, तर छठले हामीलाई बाँच्ने आधार दिन्छ ।”
तर धार्मीक, सांस्कृतिक तथा पर्यावारणमैत्री बाँसका सामग्री बाँसका सामग्री बनाउने परम्परागत सीपलाई थप आधनुनिकतासँग नजोडिदा उक्त सीप सङ्कटमा परेको ति समुदायको गुनासो छ ।
नयाँ पुस्ता यो पेशातिर आकर्षित नभएको र बजारमा सस्तो प्लास्टिकका सामग्रीले प्रतिस्पर्धा समेत बढाएको छ । ठुला सहरतिर बाँसबाट बनाइने आर्षक सामग्री ठुला होटल तथा मलहरुमा बिक्री वितरण हुने गरेका छन्, तर परम्परागत रुपमै ति सामग्री बनाउँदै आएका तराई मधेशका ती समुदायका नागरिकलाई पनि थप ज्ञान तथा सीपको आवश्यकता छ, जसले परम्परागत सीपलाई अझै मजबुत बनाउँदै लैजाने छ र भावी पुस्ताले पनि यो सीपलाई अंगाल्न रुचाउने छन् ।