नेभिगेसन मेनु

पाका पुस्ताको काँधले थामेको सरायनाच
सम्पादक:南亚网络电视
समय:2025-10-14 12:38

 

 Dhurkot-saraye-2

रेसुङ्गा (गुल्मी), असोज २८ गते । गुल्मी मुसीकोट नगरपालिका–४, बारुकाका ७३ वर्षीय निर्खसिंह ठकुरीको आँखैअगाडि बारुकाको सराय हराउँदै गएको छ । बाल्यकालदेखि सराय खेल्दै र हेर्दै आउनुभएका निर्खसिंहका लागि यो नाच केवल रमाइलो नभई जीवनको हिस्सा थियो ।

उहाँ सम्झनुहुन्छ, “पहिले सराय खेल्ने चौरमा मान्छे चउरिन्थ्यो । रातो जूनको उज्यालोमा नाच्ने र हेर्ने दुवैको भिड लाग्थ्यो ।” द्वन्द्वकालको सुरक्षाजन्य कारणले रातको सट्टा दिउँसो सराय खेलिन थाल्यो । त्यसयता जति नै परिवर्तन भए पनि निर्खसिंह जस्ता पाका पुस्ताको जोश भने घटेको छैन ।

धुर्कोट गाउँपालिका–५, वस्तुका केरमान गन्धर्व र उहाँका भाइ रामबहादुर गन्धर्वले ७० वर्ष नाघिसक्नुभएको छ तर दसैँको समयमा धुर्कोट कोतमा सराय नाच्दा उनीहरूको कदम अझै युवाको झैँ चुस्त देखिन्छ । स्थानीय भन्छन्, “धुर्कोट कोतको सराय यी दुई गन्धर्व भाइबिना अधुरो लाग्छ ।” सङ्गीत र नृत्यप्रेमी यी दुवै दाजुभाइले सरायलाई केवल परम्परा होइन, आफ्नो पहिचान मानेका छन् । उनीहरूको उपस्थितिबाट प्रत्येक वर्ष सरायमा पुरानो जोश फर्किन्छ ।

मालिका गाउँपालिका–६ का ६३ वर्षीय डिलबहादुर परियार सायद गुल्मीका अन्तिम नर्सिङ्गा र कर्नाल फुक्नेमध्येमा पर्नुहुन्छ । १७ वर्षको उमेरदेखि सराय खेल्न थाल्नुभएका उहाँ भन्नुहुन्छ, “पहिले फूलबारीमा सराय खेल्दा खुट्टा टेक्ने ठाउँ हुन्नथ्यो, अहिले फेरो नै पुग्दैन ।” डिलबहादुरका अनुसार सरायमा प्रत्येक दुई मिनेटमा नर्सिङ्गा र कर्नाल फुक्नु पर्छ, जसले खेलको ताल जीवन्त राख्छ । अहिले त्यो ताल हराउँदै गएकोमा उहाँ चिन्तित हुनुहुन्छ ।

७० वर्षीय मीनबहादुर परियार अझै पनि दमाहा ठोक्नुहुन्छ । उमेरले शरीर भारी भए पनि उहाँको उमङ्गले गरुङ्गो दमाहा हलुङ्गो बनाइदिन्छ । उहाँ भन्नुहुन्छ, “सहनाई गीतमा दमाहाको ताल नमिल्यो भने सरायको मजा नै हुँदैन ।”

‘आयो दसैँ गयो, देवी भेट भयो’ जस्ता गीतमा नाचिने सराय केवल नाच होइन, संस्कृतिको सौन्दर्य हो तर मीनबहादुर चिन्तित हुनुहुन्छ, “अहिलेका युवाले बाजाको मर्म बुझ्दैनन्, नक्कली र देखावटी धेरै छन् ।”

अर्जे पश्चिम गुल्मीको सबैभन्दा व्यवस्थित सराय स्थल, अहिले पनि परम्परा जोगाउने प्रयासमा छ । दसैँको पूर्णिमाको रातमा हुने सरायलाई स्थानीयले निरन्तरता दिइरहेका छन् । मालिका गाउँपालिका–६ का पूर्ववडाध्यक्ष शोभाखर गिरी भन्नुहुन्छ, “इतिहास बाँचोस् भनेर हामीले जति सक्दो प्रयास गरिरहेका छौँ ।”

दसैँको भोलिपल्ट इस्मा मैदानमा हुने सराय अझै पनि गुल्मीको आकर्षण बनेको छ । पहिले इस्माली र छपाली युवाबिच मौलो छोप्ने प्रतिस्पर्धा हुन्थ्यो तर त्यसले झगडा बढाएपछि अहिले त्यो प्रतिस्पर्धा आत्मीय सम्मानमा रूपान्तरण गरिएको छ । मनकामना पूजा समितिका अध्यक्ष खगराज बस्नेत भन्नुहुन्छ, “पहिलेका वर्षमा इस्मामा दही, केरा र अम्बाको ओलक ल्याएर सराय खेल्नेलाई खुवाइन्थ्यो । अहिले सहयोग घट्दै गएको छ, छापले मात्रै ओलक ल्याउँछ र हामीले बाँकी दही किनेर खुवाउँछौँ ।”

पाका पुस्ता अझै पनि दमाहा, कर्नाल र नर्सिङ्गा बोकेर मैदानमा पुग्छन् । उनीहरूका लागि सराय केवल पर्व होइन, जिन्दगीको गाथा हो तर उनीहरू वृद्ध हुँदै जाँदा र नयाँ पुस्ता आकर्षित नहुँदा यो परम्परा अस्ताउँदै गएको छ ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर