पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ ।
गण्डकी, असार ६ गते । नेपालको दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल पोखरा बिमानस्थलमा असार ६ गते पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय बिमानले अवतरण गरेको छ। नेपालस्थित चिनियाँ राजदुतावासको पहलमा सिचुवान एर्लाइन्सको १५० यात्रु क्षमता भएको न्यारोबडी ए ३१९ बिमानले बिहान ९ बजेर ६ मिनेटमा पहिलो अवतरण गरेको हो।
चीन नेपाल मैत्रीपुर्ण ड्र्यागन बोट रेसका लागि चिनको छङदु सहरबाट सहभागी र पाहुना बोकि बिमानले अवतरण गरेको छ। चीनबाट उडेको एयरलाइन्सले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको हो ।
विमानमा पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीहरू बोकेको थियो । अध्यक्ष तिमिल्सिना सहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा जेठ २७ गते चीन भ्रमणमा जानुभएको थियो ।
पोखरा अन्तरास्ट्रिय बिमानस्थलमा अवतरण गरेको बिमानलाइ स्वागत गर्नकालागि बाजागाजा सहित विशेष कार्यक्रमको समेत आयोजना गरिएको थियो। कार्यक्रममा सिचुवान एरलाइन्स मार्फत नै अवतरण गर्नुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदान किराती, गण्डकी प्रदेशका मुख्य मन्त्री शुरेन्द्र राज पान्डे, जनवादी गणतन्त्र चिन नेपालका लागी चिनियाँ राजदुत महामहिम छन सोङ, नेपाल पर्यटन परिषदका प्रमुख कार्यकारी अधिकृत धन्नजय रेग्मि,पोखरा महानगर पालिकाका मेयर धन राज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतका अन्य पदाधिकारीहरूको उपस्थिती रएको थियो।
अङ्ग्रेजी नयाँ वर्षबाट उडान सुरु भएको उक्त विमानस्थलमा यस अघि भने अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौँ हुँदै चीन फर्किनेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ (पुस १७ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो । विमानस्थल उद्घाटनको दिन बुद्ध एयरलाइन्सले परीक्षण उडान गरेको थियो । त्यसयता सिचुवान एयरलाइन्सको पहिलो अन्तर्राष्ट्रिय उडान भएको हो ।
चीनको सिचुआन एयरलाइन्सको आज चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यही असार १ गते सम्झौता भएको थियो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानका लागि अनुमति पाएको थियो ।
पोखराको फेवातालमा यही असार ८ र ९ गते (२३–२४ जुन २०२३)मा फेस्टिभल हुँदैछ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनले सहआयोजना गरेको फेस्टिभललाई होटल सङ्घ नेपाल (हान) र नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) लेसमेत सहयोग गरेका छन् ।
बोट रेस कार्यक्रमका सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल सञ्चालन हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बताउनुभयो ।
चीनले यस प्रकारको बोट फेस्टिभल विभिन्न ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना गर्दै आएको नेपालका लागि चिनियाँ दूतावासका महासचिव वाङ सिनले बताउनुभएको थियो ।
प्रतियोगितामा नेपाल र चीनबाट गरी एक सय २० प्रतियोगी सहभागी हुनेछन् । दुई सय र पाँच सय मिटरमा दुई भागमा आठ बोटमार्फत रेस हुनेछ । साथै विजेतालाइ रु ३० लाख पुरस्कार बितरण गरिने आयोजकले जनाएको छ ।
"सिचुवान एर्लाइन्सको यस सफल चार्टर्ड उडानले चिन नेपाल कनेक्टिभिटी र बि आर आइ सहकार्यमा नयाँ अध्याय थपेको छ। विभिन्न कठिनाइहरु पार गरि यो चार्टर्ड उडानलाइ वास्तविकतामा परिणत गरिदिएकोमा म सिचुवान एरलाइन्सलाइ हार्दिक धन्यवाद दिन चाहान्छु।" राजदुत महामहिम छेन सोङले बताउनु भयो।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कार्यक्रममा यस प्रकारको बोट फेस्टिभलमार्फत पोखरा र समग्र गण्डकी प्रदेशको प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।
“दक्षिण एसियामा पहिलोपटक आयोजना गरिएको बोट रेस फेस्टिभलले नेपालको विश्वभर प्रवर्द्धन हुनेछ । यसबाट भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने विश्वास लिएका छौँ ”उहाँले भन्नुभयो ।
फेस्टिभलमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम पनि रहनेछ । पोखरा विमानस्थलमा पहिलोपटक हुने अन्तर्राष्ट्रिय उडानले पर्यटन क्षेत्र उत्साहित भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।