खडेरीसँगै बढेको तापक्रमले तराई–मधेस क्षेत्रमा पानीका स्रोत सुक्न थालेका छन् । यसबाट खानेपानीको संकट बढेको मात्र होइन, खेतमा मकै, चैतेधान, तरकारीलगायतका अन्नबाली सुकेका छन् भने असारेधानका लागि तयार गरिएका ब्याडको गरामा धाँजा फाटेका छन् ।
यसपालि हिउँदमा १४ वर्षयताकै कम पानी पर्नुका साथै पछिल्लो दुई सातादेखि तराई क्षेत्रमा वर्षा नहुँदा पानीका स्रोत सुक्न थालेका हुन् । १५ जेठदेखि उकालो लागेको तापक्रम तराईमा अझै पनि अधिकतम औसत ४० डिग्री सेल्सियसभन्दा धेरै छ । ‘हाम्रो कृषि प्रणाली अकासे पानीको भरमा छ, लामो समयदेखि पानी परेको छैन (केही पहाडी क्षेत्रमा हल्काबाहेक), सुक्खापन बढ्दा धानको ब्याड, मकैलगायतका अन्नबाली सुक्ने हुन्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले भने ।
०७९ को हिउँदमा १२.९ मिलिमिटर मात्रै वर्षा भएको थियो । त्यसअघि सबैभन्दा कम हिउँदे वर्षा ०६५ मा ११.५ मिलिमिटर भएको थियो । जब कि हिउँदमा ६०.१ मिलिमिटर वर्षालाई औसत मानिन्छ । ‘भूमिगत जलस्रोतको अत्यधिक दोहनका कारण सुक्खायाममा काठमाडौंमा इनार र तराई–मधेसमा चापाकल तथा बोरिङको पानी सुक्ने क्रम बढेको छ,’ जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठले भने, ‘तर, यसपालि हिउँदमा कम पानी पर्दा रिचार्ज (पुनर्भरण) हुन पाएन, यो समस्या हरेक वर्षजसो बढिरहेको छ ।’
मकवानपुरको मनहरी गाउँपालिका हाँडीखोलामा सुकेको मकैबारी
हिउँदमा कम पानी परे पनि प्रिमनसुन (मार्च–मे)मा औसत पानी पर्दा केही राहत भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रिमनसुनमा २०९.८ मिलिमिटर वर्षा हुनुपर्नेमा ९७.७ मिलिमिटर वर्षा भएको छ । तर, १५ जेठदेखि मुलुकको तापक्रम निरन्तर उकालो लागेपछि तराई–मधेसमा लु चल्नुका साथै किसान मारमा परेका हुन् ।
रौतहटको राजदेवी नगरपालिका– ७ का राजहरण यादवले असारे धानको बिउ राख्न ब्याड तयार गर्दै थिए । तर, अत्यधिक गर्मी बढ्दा र पानीका स्रोत सुक्दा ब्याड बनाउन लागिएको गरोमा धाँजैधाँजा परेका छन् । पानीका मुहान सुकेको र चापाकलमा पनि पानी आउन छाडेकाले बिउ राख्न सक्ने अवस्था नरहेको यादवले बताए । गर्मीका कारण घरबाहिर निस्किन समस्या छँदै छ, चापाकलमा समेत पानी आउन छाडेको चन्द्रपुर नगरपालिका– ४ का स्थानीयहरू बताउँछन् । यो क्षेत्रमा आधा दर्जन चापाकल सुकेको उनीहरूको भनाइ छ ।
ब्याड राख्ने समयमा खडेरी परेका कारण अब समयमा धानको बिउ राख्न नसकिने राजदेवी नगरपालिकाका किसान श्रीराम महतोले दुखेसो पोखे । १५ असारमा रोपाइँ गर्न १५ जेठसम्म बिउ राखिसक्नुपर्ने हो । रौतहटकै बागमती सिँचाइ आयोजनाले निर्माण गरेको नहरको पानी नलाग्ने अधिकांश स्थानका किसानले धानको ब्याड राख्न पाएका छैनन् । यहाँका १८ पालिकामध्ये आधामा मात्र बागमती सिँचाइको नहरको पानी लाग्ने गरेको छ ।
सरोकारवालाका अनुसार रौतहटमा पानीको मुहान र चापाकल सुक्नुमा चुरे दोहन प्रमुख कारण हो । जंगल फँडानी, ढुंगा, गिटी र बालुवाको अवैध उत्खननजस्ता कार्यले पानीको स्रोतमा असर गरेको छ । चुरे विनाशकै कारण पानीका मुहान सुकेको र जिल्लाका तल्लो भेगमा समेत धमाधम चापाकल सुक्न थालेको सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष वेदहरि दाहालले बताए ।
रौतहटको राजदेवी नगरपालिका– ७ मा धाँजा फाटेको धानको ब्याड राखिएको खेत
चुरेको अनियन्त्रित दोहन नरोकिए यहाँका बासिन्दा अन्यत्र बसाइँ सर्नुपर्ने अवस्था आउने चिन्ता छ । भूमिगत खानेपानीको तह तल धकेलिँदा चुरेक्षेत्र र चुरे दक्षिण क्षेत्रमा पानीको अभाव चुलिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनील कर्ण बताउँछन् । ‘गर्मी सहनै नसक्ने गरी बढेको छ । तिर्खा मेट्न पानीको अभाव वर्षैपिच्छे बढ्दै छ । चुरे संरक्षण र नदीमा संरक्षणमुखी कार्य गर्न सकिए मधेसमा पानीका लागि मानिस आकुल–व्याकुल हुनबाट जोगाउन सकिन्छ,’ उनले भने, ‘चुरे–भावर मधेसका लागि पानी जम्मा भएको प्राकृतिक भाँडो नै हो ।’ २ असार ०७१ मा सरकारले नै चुरे क्षेत्रलाई वातावरणीय दृष्टिकोणले ‘संवेदनशील क्षेत्र’ घोषणा गरेको थियो । त्यसै दिन सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति पनि बनायो । तर, चुरे संरक्षणका लागि बर्सेनि करोडौँ खर्च गरिरहँदा दोहन पनि रोकिएको छैन ।
चुरे अतिक्रमण गरेर बसाइएका बस्तीमा स्थानीय तहले थप संरचना बनाएर चुरेमाथि खेलबाड गरिरहेका छन् । चन्द्रपुर नगरपालिकाले डोजर लगाएर अतिक्रमित बस्तीमा बाटो बनाउनेदेखि विद्यालयलगायत संरचना निर्माण गरेको छ । त्यस्तै, मकवानपुरको बकैया गाउँपालिकाले पनि चुरे अतिक्रमित बस्तीमा पक्की सडक नै निर्माण गरेको छ । तर, सरोकारवालाको ध्यान पुगेको छैन । अनियन्त्रित दोहन यसैगरी भइरहे पानीको अभाव, बाढी र भूक्षयका कारण यहाँका बासिन्दा अन्यत्र बसाइँ सर्नुपर्ने अवस्था आउने जानकारहरूको चिन्ता छ ।
मकवानपुर : अत्यधिक तापक्रम र खडेरीका कारण मकवानपुरका खेतबारीमा सुत्ला च्यापेका मकैका बोट र चैतेधान डढेलो लागेझैँ सुकेका छन् । हाँडीखोला, हटिया, मनहरी, बकैयालगायत क्षेत्रमा कुलो तथा नहर नभएका र आकासेपानीको भर पर्नुपर्ने किसान खडेरीको मारमा परेका हुन् ।
‘आकासेपानीको भरमा उब्जनी गरिने मकै र धान चर्को घामका कारण खेतबारीमै सुकेका छन्,’ मनहरी गाउँपालिकाको हाँडीखोलाका अष्टकुमार अर्यालले भने, ‘कतैबाट पानीको जोहो गर्न सक्ने अवस्था छैन ।’
धान र मकै मात्रै होइन, तरकारी पनि बारीमा सुक्न थालेको छ । बेमौसमी तरकारी खेतीका लागि प्रख्यात मनहरी गाउँपालिका– १, हाँडीखोलाका गणेश बर्तौलाले खेतमा लगाएको तरकारी सुकेर नोक्सान भएको छ । ‘घाम उधुम चर्किन्छ, तर पानी पर्दैन । तरकारी र धानखेती सुक्न थाल्यो,’ उनले भने, ‘अझै केही दिन पानी परेन भने धेरै किसानको बिचल्ली हुन्छ । यसबारे गाउँपालिका र सरोकारवालाले ध्यान दिनुपर्ने हो ।’
हटियाका डायमण्ड रुपाखेतीले भने इनारबाट मोटरले तानेर गरेको सिँचाइबाट अहिलेसम्म बाली जोगाएका छन् । इनारको पानी पनि सुक्दै गएकाले खडेरी लम्बियो भने अन्य किसानले जस्तै समस्या भोग्नुपर्ने उनले सुनाए । अर्याल, बर्तौला र रुपाखेती प्रतिनिधि किसान मात्रै हुन् । यस्ता कैयौँ किसानको हालत समान छ ।
वडा नम्बर १, २ र ६ का बासिन्दालाई ट्यांकरबाट पानी वितरण गर्दै जलेश्वर नगरपालिका
महोत्तरी : इनारको पानी सुक्नुका साथै खानेपानीका धारामा पानी आउन छाडेपछि महोत्तरीको जलेश्वर नगरपालिकाले ट्यांकरमा खानेपानी बाँड्न थालेको छ । मेयर सुरेश साह सोनारका अनुसार शनिबार र आइतबार मात्र वडा नम्बर १, २ र ६ का बासिन्दालाई १५ ट्यांकर पानी वितरण गरिएको छ । ‘जहाँका चापाकल सुकेका छन्, ती वडालाई प्राथमिकतामा राखेर पानी बाँड्ने काम भइरहेको छ,’ मेयर सोनारले भने । जलेश्वरका १२ हजार तीन सय ८० घरधुरीमध्ये अधिकांशमा खानेपानीको समस्या छ । जलेश्वर– १, २, ६ र ८ मा खानेपानीको अत्यधिक समस्या देखिएको छ ।
तत्काल प्राकृतिक रूपमै भूमिगत स्रोतमा सुधार आउने सम्भावना कम रहेकाले सेना र नगरपालिकाले ट्यांकरमार्फत वितरण गरिएको उनले बताए । यहाँ खानेपानी संस्थानबाट उपलब्ध पानीका लागि खानेपानीका धारा रहे पनि भूमिगत पानी कम आउँदा असहज भएको संस्थानका प्रमुख काशीन्द्र यादवले बताए । त्यस्तै, बर्दिबास, बलवा र भंगहाका केही वडा तथा एकडारा र पिपरा गाउँपालिकामा पनि इनार सुक्न थालेका छन् ।
बाँके : बैजनाथ गाउँपालिका– २ लढौराका गणेश सुनारले पनि चापाकलमा पानी सुकेपछि पिउनै अभाव भएको बताए । ‘मोटरले पानी तान्न छाडेको छ, हातले चलाउँदा थोपा–थोपा मात्र आउँछ,’ उनले भने । चापाकल सुक्न थालेपछि वीरगन्जका स्थानीय पानीको खोजीमा बाल्टिन र बोतल लिएर छरछिमेकमा भौँतारिन थालेका छन् ।
१५–२० वर्षअगाडिसम्म एक सय ५० फिटको गहिराइमै जडान गरिएका चापाकलमा सहजै पानी आउने गरेकोमा अहिले तीन सय फिटको गहिराइमा जडान भएको चापाकलबाट पनि पानी नआएको वीरगन्ज महानगरपालिका– १२ मुर्लीका राजेश कुसवाहले बताए । स्थानीय मोहन महतोले पनि मोटर चलाउँदा घरको चापाकलमा पानी नआउने भएपछि छिमेकीको घरबाट पानी ल्याउने गरेको बताए । वीरगन्जकी स्थानीय रामसती देवी भन्छिन्, ‘दिउँसो त मोटरले पनि पानी तान्दैन । मध्यरातमा मोटर चलाउँछौँ ।’
चापाकलको भरमा धानको बिउ राखेका बाँकेका किसान अहिले ब्याड सुकेपछि चिन्तित बनेका छन् । चापाकलले पनि पानी दिन छाडेपछि ब्याडमा चिरा परेको बैजनाथ गाउँपालिका– १ च्यामाका रामविलास थारूले बताए । ‘ह्यान्ड पम्पले अघिल्लो वर्षभन्दा एकदमै कम पानी दिइरहेको छ । राखेको ब्याड सुक्ने हो कि भन्ने चिन्ता लाग्न थालेको छ,’ उनले भने ।
राप्तीसोनारी गाउँपालिका– ६ का चापाकलमा पनि पानी आउन छाडेको स्थानीय महादेव थारूले बताए । ‘सुरुमा एकदमै कम आउँछ, एकछिन तानेपछि आउनै छाड्छ,’ उनले भने । त्यस्तै, नरैनापुर गाउँपालिका– ६ का चापाकल पनि सुक्न थालेको वडाध्यक्ष प्रेमचन्द्र मौर्यले बताए । २४ बिघामा सिँचाइका लागि बनाइएका चापाकलमा दिउँसो १२ बजेपछि पानी आउनै छाडेको उनको भनाइ छ । ‘गत वर्षको खडेरीबाट डराएका किसानहरू धानको ब्याड राख्न हच्किएका छन्,’ उनले भने, ‘ब्याड राखिसकेका किसान पनि सुकेपछि पीडामा छन् ।’
बारा र पर्सा : किसानले पनि ब्याडमा बिउ राख्न पाएका छैनन् । बाराको परवानीपुरका किसान कृष्ण साह सोनारले खेतमा सिँचाइको सुविधा नरहेको र पानी पनि नपरेकाले बिउ राख्न नपाएको बताए । पर्साको वीरगन्ज महानगरपालिका– २० को अपौनीस्थित रामजानकी मन्दिरका पुजारी सत्यनारायण दास पानीका लागि खेतमा पाँच घन्टा सुतेका छन् । पानीका लागि भगवान्सँग गुहार मागेको उनले बताए ।
कैलाली : भजनी नगरपालिका लालबोझीका सन्तराम डगौराले राखेको धानको बिउ रोप्ने समय भएको छ । रोपाइँका लागि पम्पसेटबाट सिँचाइको सुविधा पनि छ, तर उनी मनसुनको पर्खाइमा छन् । ‘यस्तो गर्मीमा रोपेर के गर्नु ? दुई दिनमै सुकिहाल्छ,’ डगौराले भने, ‘बिउ रोप्ने वेला भइसक्यो, तर गर्मीले गाउँमा रोपाइँ सुरु भएको छैन ।’ पम्पसेटबाट रोपाइँ गरे पनि सिँचाइ गर्न महँगो पर्ने भएकाले किसान बर्खा कुरेर बसेको उनले बताए ।
कैलालीकै कैलारी गाउँपालिकाको हसुलियाका किसान लक्ष्मीप्रसाद चौधरीले बारीमा लगाएको मकै र तरकारी सुकेको छ । दुई कट्ठा जमिनमा लगाएको तरकारी र मकै चर्को घामबाट जोगाउन नसकेका चौधरी धानको बिउ कसरी जोगाउने भन्ने चिन्तामा छन् । एक बिघा जमिनमा रोप्नका लागि राखिएको धानको बिउ जोगाउन धौ–धौ भएको उनले बताए । ‘गर्मीले मकै र तरकारी बाली सबै सुक्यो,’ उनले भने, ‘दिनकै सिँचाइ गर्नुपर्छ । आज सिँचाइ ग¥यो, गर्मीले भोलि सुक्खा भइसक्छ ।’ गाउँमा नहर भए पनि नदीमा पानी घटेकाले सिँचाइको समस्या रहेको र पालो पर्खिंदासम्म कतिपय किसानको बिउ सुकेको उनले बताए । गर्मीले किसानको बारी सुक्न थालेको छ भने लु चल्न थालेपछि जनजीवन प्रभावित बनेको छ ।
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्माले अहिलेजस्तै गर्मी आठ–दश दिन रहे रोपाइँमा समस्या हुने बताए । गर्मीले मकै र तरकारी बालीमा बढी असर परेको उनले बताए । खडेरीले चुरे क्षेत्रमा पानीका मुहान सुक्न थालेका छन् । पानीका मुहान सुक्दा चुरे गाउँपालिकाका डेढ दर्जन बस्तीमा खानेपानीको समस्या देखिएको गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले बताए । कतिपय बस्तीका बासिन्दा पानीका लागि डेढ घन्टासम्म हिँड्नुपर्ने अवस्था आएको पनि उनले बताए ।
‘गर्मीले मुहान सुकेपछि धेरै बस्तीमा पानीका लागि निकै टाढा पुग्नुपर्ने बाध्यता छ । बर्खा नलाग्दासम्म यो समस्या रहन्छ,’ उनले भने । अत्यधिक गर्मीले तातो हावा (लु) चल्न थालेपछि दिउँसोको समयमा घरबाहिर निस्कन समस्या भएको छ । गर्मी बढेपछि बजार क्षेत्रमा चहलपहल घटेको छ । गर्मीले मजदुरी गर्ने पनि मारमा परेका छन् । ‘घामले दिउँसो काम गर्न सकिँदैन, साँझ–बिहान गर्छौँ,’ आशाराम रानाले भने, ‘दिनभर काम गर्न नपाएपछि कमाइ पनि घटेको छ ।’
दुम्कौलीमा किन बढ्दै छ तापक्रम ?
पूर्वी नवलपरासीको दुम्कौली र यसआसपास क्षेत्रमा तापक्रम उच्च छ । विगतका वर्ष जेठमा ३८ डिग्रीहाराहारी तापक्रम रहने गरेकामा यस वर्ष २५ जेठमा ४४.८ डिग्रीसम्म पुगेको छ । त्यसअघि चार दिन लगातार ४३.८ डिग्री मापन भएको थियो । शनिबार र आइतबारको तथ्यांक उपलब्ध हुन नसके पनि तापक्रम उच्च नै रहेको आकलन छ । विगतमा यो क्षेत्रको उच्चतम तापक्रम ५ जुन १९७९ मा ४३.७ डिग्री मापन भएको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रधानांग पनि त्यस क्षेत्रमा हरेक दिन उच्च तापक्रम हुनुको खास कारण खुल्न नसके पनि बस्ती विस्तार र सहरीकरण हुन सक्ने बताउँछन् । ‘किन तापक्रम धेरै भएको हो भनेर त अध्ययन नै हुनुपर्छ, तर अहिले त्यहाँ बस्ती बाक्लो भएको हुन सक्छ,’ उनले भने ।
देवचुली नगरपालिकाका उपमेयर पार्वता तिवारीका अनुसार यस क्षेत्रमा जमिन भिज्ने गरी पानी नपरेको नौ महिनाभन्दा बढी भयो । पानीको मुहान पनि खासै सुकेको छैन, जंगलमा अहिले डढेलो पनि छैन, सायद लामो समयदेखि जमिन भिज्ने गरी पानी नपरेका कारण तापक्रम बढेको हुन सक्ने तिवारीको अनुमान छ ।यता, देवचुली नगरपालिका– १ केउरानी दुम्कौलीमा आइतबार इन्द्रको पूजा गरिएको छ । अहिले नवलपुरमा इन्द्र, भ्यागुता, माई थानको पूजा गर्न थालिएको छ । नवलपुरमा लामो समयदेखि पानी नपरेपछि यस्तो गर्न थालिएको छ ।
वीरगन्जमा तिवारी यादव, रौतहटमा अशोक पहाडी, महोत्तरीमा रञ्जन भण्डारी, मकवानपुरमा पोष्टराज अधिकारी, बाँकेमा विश्वराज पछल्डङ्ग्या र धनगढीमा तेजराज भट्ट