नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्ष हुँदा पनि यो हत्याकाण्डको रहस्यको पर्दा अझै खुलेको छैन । १९ जेठ २०५८ मा राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो ।
नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो ।
उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, यो प्रतिवेदनप्रति आम नागरिकले विश्वास जताउन सकेका छैनन् ।
रहस्यको पर्दा खुल्न नसकेको यो उक्त हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने माग हुँदै आएको छ । गणतन्त्र स्थापनापछि प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नारायणहिटी हत्याकाण्डको छानबिन गरेर सत्य बाहिर ल्याउने वाचा गरेका थिए । तर अझै पनि हत्याकाण्ड कसले र किन मच्चाएको हो खुल्न सकेको छैन । प्रधानमन्त्री प्रचण्डले केहीदिनअघि पनि दरबार हत्याकाण्डको छानबिन गर्ने घोषणा गरेका छन् ।
वीरेन्द्रको वंशनाशपछि राजा बनेका उनका भाइ ज्ञानेन्द्रले राजतन्त्र जोगाउन सकेनन् । नारायणहिटी दरबारलाई अहिले संग्रहालय बनाइएको छ ।
दरबार हत्याकाण्डबारे उच्चस्तरीय समितिको निष्कर्षमा के छ ?
राजा वीरेन्द्रको वंशनाश हुनेगरी १९ जेठ २०५८ मा नारायणहिटी दरबारमा भएको हत्याकाण्डबारे तथ्य सार्वजनिक गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय अध्यक्ष र सभामुख तारानाथ रानाभाट सदस्य रहेको उच्चस्तरीय समितिले ३२ जेठमा प्रतिवेदन बुझायो । समितिमा प्रतिपक्षी दलका नेता माधव नेपाललाई पनि सदस्य तोकिएको थियो । तर, उनले पार्टीको निर्णयभन्दै राजीनामा दिए । सो समितिले उजागर गरेका तथ्यबारे पाठकलाई जानकारी दिन हामीले प्रतिवेदनको 'घटनाको यथार्थ विवरण' खण्ड जस्ताको तेस्तै प्रकाशित गरेका छौँ ।
नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते शुक्रबार राति घटेको घटनाको यथार्थ तथ्य संकलन गर्ने क्रममा यस उच्चस्तरीय समितिबाट घटनास्थलको अवलोकन, भौतिक चीज वस्तुको संकलन र वैज्ञानिक परीक्षण, घटना प्रत्यक्ष रूपमा देख्ने, घटनाबाट पीडित एवं शाहीरक्षकहरूलगायतका उद्धारकार्यमा संलग्न व्यक्तिहरू, उपचारकार्यमा संलग्न चिकित्सकहरूलगायतका व्यक्तिहरूसँग सोधपुछ गर्ने कार्य गरियो । यसका अतिरिक्त छानबिनका क्रममा बुझिएका मानिसहरूबाट खुल्न आएको तथ्यका सन्दर्भमा बुझ्न आवश्यक देखिएका मानिसहरूसँग बुझ्ने, सोधपुछ गर्ने एवं सम्बन्धित ठाउँहरूबाट आवश्यक रेकर्ड कागजात झिकाउनेसमेतका कार्यहरू गरी छानबिनबाट निम्नबमोजिमको तथ्य खुल्न आएको छ:
(१) नारायणहिटी राजदरबारमा हरेक महिनाको तेस्रो शुक्रबार राति नियमित रूपमा पारिवारिक जमघटको आयोजना गर्ने परम्परा रहेअनुसार २०५८ जेठ १९ गते शुक्रबार पनि जमघटको आयोजना भएको पाइयो । नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा आयोजना गरिएको सो जमघटमा श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेव (यसपछि श्री ५ महाराजाधिराज भनिएको), श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह (यसपछि श्री ५ बडामहारानी भनिएको), श्री ५ मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह (यसपछि श्री ५ मुमा बडामहारानी भनिएको), श्री ५ युवराजाधिराज दीपेन्द्र वीरविक्रम शाह (यसपछि श्री ५ युवराजाधिराज भनिएको), श्री ५ अधिराजकुमार नीराजन वीरविक्रम शाहका अतिरिक्त राजपरिवारका अन्य सदस्यहरू एवं शाही नातेदारहरू गरी २४ जनालाई राति ७:३० बजे आमन्त्रण गरिएकोमा आमन्त्रितमध्ये श्री ५ अधिराजकुमारी प्रेक्षा राज्यलक्ष्मी देवी शाह, कुमार श्री मोहनबहादुर शाही र राजकुमारी विमला सिंह गरी तीनजनाबाहेक अन्य सबैको उपस्थिति रहेको तथ्य श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयको २६ जेठ २०५८ को पत्रबाट खुल्न आएको छ । आमन्त्रित पाहुनाहरूको नामावली अनुसूचीमा समावेश गरिएको छ ।
(२) उल्लिखित जमघट कार्यक्रम आयोजना गरिएको स्थान श्री ५ युवराजाधिराजको खोपी रहेको बंगला त्रिभुवन सदनमा राति ७:३० बजेभन्दा अगाडि नै सर्वप्रथम श्री ५ युवराजाधिराज उपस्थित भएको तथ्य शाही पार्श्ववर्ती राजेन्द्र बोहरासमेतको भनाइबाट पुष्टि भएको छ । त्यसपछि क्रमशः आमन्त्रितहरूको आगमन भएको देखिन्छ । राति ८ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोटरबाट श्री ५ मुमाबडामहारानी राज हुने बंगला महेन्द्र मञ्जिल सवारी भई श्री ५ मुमा बडामहारानीलाई मौसुफको मोटर आफैँले चलाई जमघटस्थान त्रिभुवन सदनमा सवारी चलाइबक्सेको देखिन आयो । श्री ५ मुमा बडामहारानी विलियार्ड कोठाको पूर्वतर्फ सानो बैठक भनिने कोठामा श्री ५ अधिराजकुमारी हेलेन शाहसँग राजभइबक्स्यो । राजपरिवारका सदस्य एवं शाही नातेदारहरूको उपस्थिति भैसकेपछि अन्त्यमा राति करिब ८ः३० बजे श्री ५ महाराजाधिराज मौसुफको अफिसबाट सिधै त्रिभुवन सदनमा पैदल सवारी भई श्री ५ मुमा बडामहारानी सरकारको दर्शन गरिबक्सी केही समयको भलाकुसारीपछि विलियार्ड कोठातर्फ सवारी भएको तथ्य घटनाक्रमका प्रत्यक्षदर्शीहरूबाट खुल्न आयो ।
(३) श्री ५ युवराजाधिराजले ७:३० बजे त्रिभुवन सदनको विलियार्ड कोठामा केही समय एक्लै विलियार्ड खेलिबक्सेको र त्यस क्रममा १/२ पेग निट (पानी नराखी) Famous Grouse ह्विस्कीसमेत पिइबक्सेको तथ्य मौसुफका एडीसी गजेन्द्र बोहरा र शाही नातेदार महेश्वर सिंह तथा रविशमशेर जबरासमेतको भनाइबाट देखियो । श्री ५ महाराजाधिराजको त्रिभुवन सदनमा सवारी हुनुभन्दा केही समयअगाडि (करिब १०-१२ मिनेटजति अगाडि) श्री ५ युवराजाधिराज शरीर थाम्न नसकी ढलपल ढलपल गरेको देखी ह्विस्कीको असरले हो कि भन्ने सभी श्री ५ अधिराजकुमार नीराजन, श्री ५ शाहज्यादा पारस कुमार, गोरख र डा. राजीवसमेत ४ जना भई श्री ५ युवराजाधिराजलाई त्रिभुवन सदनभित्र रहेको मौसुफको खोपीमा सवारी चलाएको कुरा बुझिएका प्रत्यक्षदर्शीहरूबाट खुल्न आएको छ ।
(४) श्री ५ युवराजाधिराज विलियार्ड कोठामा रहँदाकै अवस्थामा राति ८ बजेर १९ मिनेटको समयमा आफ्ना पार्श्ववर्ती गजेन्द्र बोहरालाई चुरोट ल्याउन मोबाइल फोनबाट हुकुम भएको र हुकुम भएबमोजिम गजेन्द्र बोहराले श्री ५ युवराजाधिराजका शाही अर्दली रामकृष्ण केसीलाई आदेश गरेअनुसार निजले विशेष प्रकारको (शिखर चुरोटमा गाँजा र अर्को नाम नखुलेको कालो पदार्थ मिसाई तयार गरिएको) चुरोट विलियार्ड कोठाको पूर्व ढोकामा गई श्री ५ शाहज्यादा पारसमार्फत जिम्मा दिइआएको भन्ने निज रामकृष्णबाट जानकारी पाइयो ।
त्रिभुवन सदनअगाडिको बगैँचाको स-साना पोखरीको सानो पुलको दक्षिण भागमा उत्तानो पल्टी घ्वार्घ्वार् आवाज निकालिरहेको अवस्थामा श्री ५ युवराजाधिराजलाई भेटिएको भनी उद्धारकर्मी सेनानी विष्णु खड्का एवं शाही पार्श्ववर्तीसमेतले समितिसमक्ष जानकारी गराएको देखिन्छ ।
गाँजालगायत कालो पदार्थको व्यवस्था श्री ५ युवराजाधिराजले स्वयम् गर्ने गरेको, कहाँबाट ल्याएको हुन्छ भन्ने थाहा नभएको र करिब १ वर्षदेखि आफूले त्यस्तो चुरोट बनाइदिने गरेको कुरा श्री ५ युवराजाधिराजका अर्दली रामकृष्ण केसीले समितिलाई जानकारी दिए । श्री ५ युवराजाधिराजका शाही पार्श्ववर्ती गजेन्द्र बोहरा र राजु कार्कीसमेतबाट श्री ५ युवराजाधिराजले त्यस प्रकारको चुरोट पिउने गरिबक्सेको कुरा समितिसमक्ष बताएकाले अर्दली रामकृष्ण केसीको भनाइ पुष्टि हुन आउँछ ।
(५) छानबिनका क्रममा केही टेलिफोनको विवरण आवश्यक भएकाले नेपाल दूरसंचार संस्थानबाट प्राप्त मोबाइल फोनको विवरणअनुसार २०५८ जेठ १९ गते राति ८:१२ बजेको समयमा श्री ५ युवराजाधिराजको मोबाइल नम्बर ९८१०२१५१३ बाट नेपाल ग्यास उद्योगको नाममा दर्ता रही उषा राणालाई दिइएको मोबाइल नम्बर ९८१०२४३३९ मा एक मिनेट चौध सेकेण्ड (१:१४) देवयानी राणासँग कुरा भएको र दोस्रोपटक देवयानी राणाले राति ८:१९ बजे फोन नं. ०१४२३०५१ बाट श्री ५ युवराजाधिराजसँग मौसुफको मोबाइल नं. ९८१०२१५१३ मा ४ मिनेट १४ सेकेण्ड (४:१४) कुरा भएको अभिलेखबाट देखियो । पुनः राति ८:३९ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोबाइल नं. ९८१०२१५१३ बाट देवयानी राणालाई मोबाइल नं. ९८१०२४३३९ मा ३२ सेकेण्ड कुरा गरेको तथ्य सोही विवरणबाट खुल्न आएको छ । काडमाडौं, महाराजगञ्ज बस्ने निज देवयानी राणासँग श्री ५ युवराजाधिराजको घनिष्ठ सम्बन्ध रहेको तथ्य शाही पार्श्ववर्तीहरू गजेन्द्र बोहरा र राजु कार्की तथा श्री ५ युवराजाधिराजका मित्र सुप्रिया शाहको भनाइबाट खुल्न आएको छ । श्री ५ युवराजाधिराज र देवयानी राणाका बीच सम्पर्क रहेको तथ्य देवयानीका मातापिता स्वयम्ले समितिसमक्ष सोधपुछका क्रममा उल्लेख गर्नुभयो । देवयानी राणालाई समितिले बुझ्न खोज्दा उपचारका क्रममा निज भारतमा रहेको बुझिएकाले भारतस्थित शाही नेपाली राजदूत डा. भेषबहादुर थापालाई समितिको तर्फबाट अख्तियार गरिएबमोजिम देवयानी राणालाई बुझ्दा (निजको आवाज अंकित टेप रिकर्डअनुसार) पनि श्री ५ युवराजाधिराज र देवयानी राणाका बीच घनिष्ठता रहेको तथ्य पुष्टि भएको छ ।
(६) देवयानी राणाले श्री ५ युवराजाधिराजसँगको कुरा आफ्नो व्यक्तिगत विषय भएकाले त्यसबारे बताउन नचाहेको र राति ८ः२५ बजे कुरा भइरहेको समयमा श्री ५ युवराजाधिराजको स्वर लरबराइरहे जस्तो लागेकाले सरकारसँग अरु कुरा हुन नसकेका कारणले 'श्री ५ युवराजाधिराजको स्वर अलि लरबराइराखेको छ अलि सञ्चो छैन कि ? भनी श्री ५ युवराजाधिराजको पार्श्ववर्ती गजेन्द्र बोहरालाई अफिसमा र राजु कार्कीलाई निजको घरमा फोन गरेर खोपीमा गई हेर्न आग्रह गरेकी हुँ' भनी उल्लेख गरेको पाइयो ।
(७) देवयानी राणाले श्री ५ युवराजाधिराजको पार्श्ववर्ती गजेन्द्र बोहरालाई फोन गरेपछि र राजु कार्कीले गजेन्द्र बोहरालाई फोनबाट सोसम्बन्धी समाचार दिएपछि गजेन्द्र बोहराको आदेशानुसार श्री ५ युवराजाधिराजको अर्दली रामकृष्ण केसी र द्वारे आमा जमुना अधिकारी श्री ५ युवराजाधिराजको खोपीमा पुग्दा श्री ५ युवराजाधिराज भुईंमा पल्टिराखिबक्सेको र शरीरको माथिल्लो कपडा फुकाल्न खोजी बक्सेको देखी सो कपडा फुकाल्न निजहरूले सहयोग गरेको र कपडा फुकालिसकेपछि श्री ५ युवराजाधिराज बाथरूम सवारी होइबक्सेको, बाथरुमभित्र वाक्वाक् गरिबक्सेको आवाज जमुना अधिकारीसमेतले सुनेको र बाथरुमबाट निस्किबक्सेपछि श्री ५ युवराजाधिराजले ती दुवै जनालाई सुत्न आ-आफ्नो कोठातिर जानू भनी हुकुम भएको भन्ने द्वारे आमा र अर्दली रामकृष्ण केसीको कथन छ ।
(८) राति ८:३९ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोबाइल फोन नं. ९८१०२१५१३ बाट देवयानी राणालाई ९८१०२४३३९ नं. को मोबाइलमा ३२ सेकेण्ड कुरा गरिबक्सेको दूरसंचारको अभिलेखबाट देखिएकोमा सो कुरालाई देवयानी राणाले स्वीकार गरी श्री ५ युवराजाधिराज सरकारबाट 'अब म सुत्न लागें', 'गुड नाइट, भोलि कुरा गरौँला' भनिबक्सेको भन्ने निजको कथन छ ।
(९) देवयानी राणासँग फोन सम्पर्क गरिबक्सेपश्चात् श्री ५ युवराजाधिराजबाट सैनिक कम्ब्याट पोशाक पहिरी हात हतियारसमेत लिई खोपीबाहिर निस्किबक्सिँदा श्री ५ युवराजाधिराजको अर्दली रामकृष्णले देखी श्री ५ युवराजाधिराजको बाहिर सवारी हुने रहेछ क्यार भन्ने ठानी 'इमर्जेन्सी ब्याग टक्र्याऊँ सरकार ?' भनी जाहेर गर्दा श्री ५ युवराजाधिराजबाट 'पर्दैन अहिले' भन्ने हुकुम भएको भन्ने अर्दली रामकृष्णको कथन रहेको छ ।
(१०) श्री ५ युवराजाधिराज कम्ब्याट सैनिक पोशाकमा दुईतर्फ राइफल र १२ बोर भिरिबक्सी विलियार्ड कोठातर्फ प्रवेश गरिबक्सेको विलियार्ड कोठासँगै जोडिएको डाइनिङ कोठाको पूर्वपट्टिको बैठकबाट ब्वाइज बच्चुराम केसीले देखेको भन्ने निजको कथन छ ।
(११) श्री ५ युवराजाधिराज सैनिक कम्ब्याट पोशाकमा विलियार्ड कोठामा प्रवेश गरिबक्सी कालो रङको बन्दुक (9mm Caliber MP-5K Automatic Sub-machine Gun) द्वारा कोठाको सिलिङ र पश्चिम भित्तातर्फ फायरिङ गरेपछि तत्काल विलियार्ड टेबुलको पूर्व छेउमा उभिएर अरुहरूसँग कुरा गरिबक्सेको अवस्थामा श्री ५ महाराजाधिराजलाई भटटट फायर गरी पछाडि सर्दै विलियार्ड कोठाबाहिर निस्की सो कोठाको पूर्वतर्फ भित्री बगैँचाको छेउकै उत्तरतर्फ झ्याङनजिक १२ बोरको बन्दुक (SPAS 12- L FRENCH SPA) फ्याँकी पुनः भित्र विलियार्ड कोठामा प्रवेश गरी बत्ती र टेलिस्कोपसहितको राइफल (5.56mm Caliber Colt M-16 A2) सोझ्याउँदै आएर भटटट पार्दै पुनः श्री ५ महाराजाधिराज एवं कुमार गोरखशमशेर राणा, श्री धीरेन्द्र शाह र कुमार खड्गविक्रम शाहसमेतलाई फायरिङ गरी पछाडि सर्दै ढोकामा पुगी पुनः अगाडि बढेर तेस्रोपटक श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी शाह, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह र श्री ५ शाहज्यादी जयन्ती शाह लगायत अन्यलाई लाग्ने गरी जथाभावी परररर फायरिङ गरी श्री ५ युवराजाधिराज विलियार्ड कोठाबाट बाहिर पूर्वतिरको भित्री बगैँचातर्फ पछाडि सर्दै गइबक्सेको भन्ने व्यहोरा घटनास्थलमा उपस्थित श्री ५ अधिराजकुमारी शोभा, श्री ५ शाहज्यादा पारस, कुमार गोरख, केतकी चेष्टर, रविशमशेर, डा. राजीव शाही, महेश्वरकुमार सिंहसमेतको भनाइ छ ।
श्री ५ युवराजाधिराजलाई उपचारका लागि अस्पताल पुर्याउँदा पञ्जा लगाएको अवस्थामा पुऱ्याइएको अस्पतालको पत्र प्राप्त हुन आएको छ । सो पञ्जा पनि समितिलाई उपलब्ध गराइएको छ । सो एक जोर पञ्जाबाहेक घटनास्थल एवं अस्पतालसमेतबाट अन्य कुनै पञ्जा प्राप्त हुन सकेको देखिँदैन ।
(१२) विलियार्ड कोठामा तेस्रोपटक अन्धाधुन्ध फायरिङ गरेपश्चात् पछाडि सर्दैसर्दै पूर्वतर्फको भित्री बगैँचातिर जाँदा रातो सारी पहिरिएको महिलाको आकृतिले पनि त्यसतर्फ खेद्दै गरेको दृश्य विलियार्ड कोठासँग जोडिएको उत्तरतर्फको डाइनिङ रुमबाट ब्वाइज शान्तबहादुर खड्कासमेतले देखेको भनी निजले बताएको पाइयो । विलियार्ड कोठाबाट पूर्व भित्री बगैँचामा जाने बाटोहुँदै सो बगैँचाको उत्तर त्रिभुवन सदन खोपीतर्फ जाने बाटो र पूर्वतर्फ रहेको प्रतीक्षास्थल (सेड)मा जाने सानो बाटोको संगमजस्तो ठाउँमा श्री ५ बडामहारानीको पछाडिपछाडि श्री ५ अधिराजकुमार नीराजन सवारी भएको भन्ने श्रीमती केतकी चेष्टरसमेतको भनाइ रहेको र सोही ठाउँमा रहेको नीलकाँडाको झ्याङ नाघी सानो चौरमा उभिएर दक्षिण मोहडा गरी उत्तरबाट दक्षिणतर्फ गोली चलेको त्यहाँ प्राप्त भएको गोलीको खोकाको स्थिति र दक्षिणतर्फको भित्तामा रहेको गोली लागेका प्वालहरूसमेत घटनास्थलको अवलोकनबाट देखिएको र सो ठाउँमा नै श्री ५ अधिराजकुमार नीराजन पूर्वतर्फ टाउको पारेर ढलिबक्सेको अचेत अवस्थामा देखिएको भन्ने उद्धार गर्न आएका सेनानी विष्णु खड्कासमेतले त्यहाँबाट बोकी बाहिर ल्याई मोटरमा राखी अस्पताल पुऱ्याएको भन्ने पाइयो ।
(१३) विलियार्ड कोठामा भएको फायरिङपश्चात् त्रिभुवन सदनको मूल ढोकाको दाहिनेपट्टिको एडीसी अफिसको भित्री कोठामा रहेका शाही पार्श्ववर्तीहरू फायरिङको आवाज र 'डाक्टर चाँडो बोलाऊ...' भन्ने आवाज सुनी भित्र गई विलियार्ड कोठाबाट चाँडो उद्धार गर्न सो कोठाको दक्षिणतर्फको सधैँ बन्द रहने गरेको ढोकाको सिसा फुटाएर शाही पार्श्ववर्ती महासेनानी सुन्दरप्रताप रानासमेत भित्र प्रवेश गरी श्री ५ महाराजाधिराज सरकारलाई अचेत अवस्थामा बाहिर बोकेर ल्याई मोटरमा राखी सैनिक अस्पताल छाउनी लगेको भन्ने शाही पार्श्ववर्तीहरूको कथन रहेको देखिन्छ ।
(१४) श्री ५ युवराजाधिराजको खोपीतर्फ जाने सानो पोखरीको पुलबाट उत्तर लागी माथि तलाको खोपीतर्फ जाने मुख्यद्वार हुँदै भित्री भर्याङको सातौँ खुड्किलोमा श्री ५ बडामहारानीलाई खोपीमा पुग्ने ठाउँको भर्यायाङको माथिल्लो भागमा रहेको ल्यान्डिङ एरियाबाट फायरिङ भई श्री ५ बडामहारानी ढलिबक्सेको भनिएको सो ठाउँमा गिदी बाहिर निस्की छरपष्ट भएको, केही दाँत र बंगाराहरूसमेत झरी छरिएर यत्रतत्र रहेको, रातो टीका, दुईवटा कानको रातो टप, रातो चुराका टुक्राहरू रहेको, रगतका छिटाहरू ठाउँठाउँमा लागेको एक किसिमको रगतको खोलै बगेको स्थिति घटनास्थलको अवलोकनबाट देखिएको छ ।
(१५) श्री ५ युवराजाधिराज राज हुने त्रिभुवन सदन (जहाँ श्री ५ युवराजाधिराजको खोपी छ) अगाडिको बगैँचाको स-साना पोखरीको सानो पुलको दक्षिण भागमा उत्तानो पल्टी घ्वार्घ्वार् आवाज निकालिरहेको अवस्थामा श्री ५ युवराजाधिराजलाई भेटिएको भनी उद्धारकर्मी सेनानी विष्णु खड्का एवं शाही पार्श्ववर्तीसमेतले समितिसमक्ष जानकारी गराएको देखिन्छ ।
श्री ५ युवराजाधिराजको साथमा रहने गरेको भनिएको 9mm Caliber Glock Ges पिस्तोल र खोकासमेत पूर्वपट्टिको पोखरीको पानीमा रहेको घटनास्थलको अवलोकन गर्दा पाइएको छ । 5.56 Caliber M-16 A2 राइफल पनि सोही स्थानको पश्चिमपट्टि रहेको सानो चौरमा रहेको घटनास्थल अवलोकनका क्रममा पाइएको छ ।
(१६) उपर्युक्तबमोजिमको विलियार्ड कोठा र सो कोठाको पूर्वी बगैँचा एवं खोपीमा जाने भर्याङमा भएको घटनापश्चात् शाही पार्श्ववर्तीहरू एवं अन्य सुरक्षाकर्मीहरूले उद्धार गरी श्री वीरेन्द्र सैनिक अस्पताल छाउनीमा पुर्याएकोमा अस्पताल पुर्याउँदाको समय र अवस्थाका सम्बन्धमा यस समितिमा देहायबमोजिमको जानकारी प्राप्त भएको देखिन्छः
(क) श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेव राति ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
(ख) श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह राति ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
(ग) श्री ५ अधिराजकुमार नीराजन वीरविक्रम शाह राति ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
(घ) श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मीदेवी राणा राति ९:२० बजे वीरेन्द्र सैनिक अस्पताल पुऱ्याएको र ९:५५ बजे अस्पतालमा मृत घोषित ।
(ङ) श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह राति ९:३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
(च) श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह राति ९:३० बजे अस्पताल पुर्याउँदा मृत घोषित ।
(छ) श्री ५ शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह राति ९:३० बजे वीरेन्द्र सैनिक अस्पताल पुऱ्याउँदा मृत घोषित । (ज) श्री कुमार खड्गविक्रम शाह राति ९:३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
(झ) श्री ५ युवराजाधिराज दीपेन्द्र वीरविक्रम शाह २०५८ / २ / १९ राति ९:२४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएको र २०५८ / २ / २२ गते सोही अस्पतालमा बिहान ३:४५ बजे मृत घोषित ।
(ञ) श्री धीरेन्द्र शाह २०५८ / २ / १९ राति ९:२४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएको र २०५८/२/२२ गते बेलुकी ५:५७ बजे सोही अस्पतालमा मृत घोषित ।
(१७) माथि उल्लेख गरिएका १० (दश) जनाबाहेक सो घटनामा परी अन्य कोही कसैको मृत्यु भएको भन्ने कहीँ कतैबाट खुल्न आएको देखिएन ।
(१८) घटनाबाट पीड़ित घाइतेहरू वर्तमान श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह, श्री ५ अधिराजकुमारी शोभा राज्यलक्ष्मी शाही, कुमार गोरखशमशेर जबरा र श्रीमती केतकी चेष्टरलाई गम्भीर घाउचोट लागेको तथ्य अस्पतालबाट प्राप्त घाउचोट विवरणबाट देखिन्छ ।
(१९) श्री ५ युवराजाधिराजलाई घटनाको तत्कालै पछि उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएकोमा सो अस्पतालबाट प्राप्त २०५८ / २ / २८ को पत्रअनुसार कालो आर्मी बुट, आर्मीको क्याम्पफलाइज (कम्ब्याट) ज्याकेट, पाइन्ट, छालाको कालो पञ्जा, कालो मोजा र क्याम्पफलाइज भेस्ट लगाएको अवस्थामा रहिबक्सेको उल्लेख भएको छ । सो कपडा, पञ्जा, जुत्ता आदि र वेब बेस्टसमेत समितिले झिकाई अवलोकन गरेको र सोमा लागेको रगत र पहेँलोपहेँलो पदार्थको प्रयोगशालामा परीक्षण गराउँदा 'B' समूहको रगत भन्ने विशेषज्ञको राय प्राप्त भएको छ । मृतकहरूमध्ये श्री ५ बडामहारानी तथा श्री ५ युवराजाधिराजको रगत समूह पनि 'B' रहेको पाइन्छ ।
(२०) श्री ५ युवराजाधिराजलाई उपचारका लागि अस्पताल पुर्याउँदा पञ्जा लगाएको अवस्थामा पुऱ्याइएको अस्पतालको पत्र प्राप्त हुन आएको छ । सो पञ्जा पनि समितिलाई उपलब्ध गराइएको छ । सो एक जोर पञ्जाबाहेक घटनास्थल एवं अस्पतालसमेतबाट अन्य कुनै पञ्जा प्राप्त हुन सकेको देखिँदैन ।
घटनाबाट पीड़ित घाइतेहरू वर्तमान श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह, श्री ५ अधिराजकुमारी शोभा राज्यलक्ष्मी शाही, कुमार गोरखशमशेर जबरा र श्रीमती केतकी चेष्टरलाई गम्भीर घाउचोट लागेको तथ्य अस्पतालबाट प्राप्त घाउचोट विवरणबाट देखिन्छ ।
(२१) (क) 5.56 Caliber Colt M-16 A2 हतियार नं. A0073943 (Commando) Automatic Rifle बाट प्रहार भएका ४७ वटा Cartridge Cases फेला परेको पाइयो । उक्त राइफलको क्षमता प्रतिमिनेट ७०० देखि १००० गोली फायर हुन सक्ने भन्ने विशेषज्ञको रायबाट देखिन्छ ।
(ख) घटनास्थलमा रहेका २९ वटा Cartridge Cases 9mm Caliber MP-5 K Automatic Sub-machine Gun बाट प्रहार भएको र उक्त बन्दुकको क्षमता प्रति मिनेट ९०० सम्म गोली फायर हुन सक्ने भन्ने विशेषज्ञको रायबाट देखिन्छ ।
(ग) घटनास्थलमा फेला परेको २ वटा Cartridge Cases 9mm Caliber MP-5K Automatic Ges.m.b.H Pistol बाट प्रहार भएको भन्ने विशेषज्ञको रायबाट देखिएको छ । उक्त Cartridge श्री ५ युवराजाधिराजलाई उद्धारकर्मीहरूले घाइते अवस्थामा फेला पारेको भनिएको सानो पुलछेउमा रहेको पोखरीमा फेला परेको थियो । (घ) उपरोक्त प्रकरण (क) मा उल्लेख भएको A0073943 नं. को M-16 बन्दुक शाही रक्षक सैनिक प्रहरी राजदरबारको २०५६/५/३१ को मागबमोजिम निकासी भई शाही नेपाली सेनाको हतियार भण्डारबाट बुझिलिई राजदरबार कोतखानामा बुझाएको भनी समितिको कार्यालयमा सह-सेनानी माधव भण्डारीले बताएको । सो हतियार श्री ५ युवराजाधिराजसमेत ट्रेकिङमा सवारी भैबक्सेको बेला साथमा लिई सवारी भएको । श्री ५ युवराजाधिराज सरकारले चाहिबक्सेको बेलामा राजदरबार कोतबाट सिधै पनि हतियार लिने प्रचलन रहेको व्यहोरा श्री ५ युवराजाधिराजका पार्श्ववर्ती गजेन्द्र बोहराले सोधपुछका क्रममा उल्लेख गरेको समेत पाइयो ।
(ङ) एउटा पेस्तोल र 9mm Caliber को बन्दुक १ समेत शाही पार्श्ववर्ती राजदरबारबाट माग भएबमोजिम २०५३/१/२७ र २०५६/७/२८ मा निकासा भएको देखिन्छ । श्री ५ युवराजाधिराजका अंगरक्षक गजेन्द्र बोहराका अनुसार उक्त हतियारहरू श्री ५ युवराजाधिराज को साथमा (जिम्मामा) रहेका थिए ।
(च) 9mm. G19 Glock नं. YY 334 नं. को पेस्तोलसमेत २०५५/१०/२२ मा श्री ५ अधिराजकुमार नीराजनका बाहुलीमा दाखिला हुने गरी कोतबाट निकासा भएको राजदरबारबाट प्राप्त विवरणबाट देखिन्छ ।
(छ) विलियार्ड कोठामा फेला परेको 9mm. Caliber Glock पेस्तोल र Lawn को दक्षिण पश्चिम बाटोछेउ कुनामा फेला परेको १२ Bore Single Barrel Shot Gun बाट सो घटनामा Fire भएको भन्ने विशेषज्ञको राय एवं फेला परेका कारतुससमेतबाट देखिन आएन ।
(२२) नारायणहिटी राजदरबार त्रिभुवन सदनभित्र एडीसीको कार्यालय रहेको मूल प्रवेशद्वार र पूर्वतर्फको सानो बन्द रहेको सानो गेटबाहेक सो घटना भएको स्थानमा प्रवेश गर्ने अन्य मार्ग घटनास्थलको अवलोकनबाट प्रत्यक्षतः देखिन आएन । घटनास्थलको नक्सा स्केच यसै प्रतिवेदनको अनुसूचीमा दिइएको छ ।
(२३) २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा घटेको घटनामा परी मृत्यु हुने सबैको मृत्युको कारण बन्दुकको गोली लागेको कारणबाट भएको कुरा वीरेन्द्र सैनिक अस्पताल छाउनीका सम्बन्धित चिकित्सकहरूको रायसमेतबाट देखिएको छ । घटनाबाट पीडित घाइतेहरूको घाउचोटसमेत गोली लागेको कारणबाट भएको कुरा स्वयम् घाइतेहरूले सोधपुछका क्रममा उल्लेख गरेको पाइयो । वीरेन्द्र सैनिक अस्पतालबाट प्राप्त जानकारीअनुसार पनि घाइतेहरूको घाउचोट बन्दुकको गोली लागी भएको भन्ने देखियो ।
- १९ जेठ २०५८ को राजदरबार हत्याकाण्ड सम्बन्धमा गठित उच्चस्तरीय समितिको प्रतिवेदनबाट साभार ।
दरबार हत्याकाण्ड कसरी भयाे ? पारस शाहकाे बयान
१९ जेठ २०५८ मा नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा सबैभन्दा धेरै प्रश्न उठाइएका पात्र हुन्, तत्कालीन शाहज्यादा पारस शाह । राजा वीरेन्द्रको वंशनाश हुँदा उनका भाइ ज्ञानेन्द्र राजा बने, पारस युवराज । त्यसैले उनको परिवारले आशंका र आरोप खेप्नुपरेको छ । पूर्वराजा ज्ञानेन्द्रले यसबारे जवाफ दिइसकेका छन् भने पारसले भावुक बनेर कवितासमेत लेखेका थिए । सो गोलीकाण्ड हुँदा पारस कहाँ थिए र के गर्दैथिए ? उच्चस्तरीय समितिलाई उनले दिएको बयान हामीले जस्ताको त्यस्तै प्रकाशित गरेका छौँ ।
समितिः सरकार, राजदरबारमा भएको जेठ १९ गते जुन पारिवारिक जमघट थियो, त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारी हामीलाई प्राप्त भयो । त्यसबाट सरकारले के नजर गरिबक्स्यो, के अनुभव गरिबक्स्यो, त्यो सबै जानकारी भएका सुनेका कुराहरूचाहिँ हामीलाई प्राप्त भएमा रिपोर्ट दिन सजिलो पर्ने थियो ?
पारसः अब, हामी पुग्यौँ त्यहाँ, त्यस्तै अन्दाजी साढे ७ बजेभन्दा अलि ढिलो पुग्यौँ । हामी त्यही ७:४० तिर पुग्यौँ, सबै जना आइसकेका थिए । मुमा, म, बहिनी, हिमानी र हामी अलि ढिलो पुग्यौँ । ७:४० तिर पुग्यौँ, पुग्दाखेरी अ... युवराजाधिराज अलिकति कक्टेल ज्युनार भैसक्याजस्तो थियो । अनि के खाने- मैले कोक मात्र खाने विचार गरेँ । ए कोक मात्र खाने ! म त ह्विस्की खाएर बसेको छु, हुकुम भयो । त्यो बेलासम्म ठीकै होइबक्सन्थ्यो, एकदमै लागेको जस्तो गरिबक्सी राखेको थ्यो । अ....... कुरा गर्दाखेरि के भो भन्दाखेरी हैन यही विवाहको कुरा भइराखेको छ । मेरो मुमासँग पनि कुरा गरे । आफूमुमासँग पनि कुरा गरेँ, अनि दुवै जनाले हुन्न भन्नुभयो । अब आइतबार बुबासँग कुरा गर्छु, हुकुम भयो । त्यति कुरा भइराखेको थियो, त्यत्ति हुँदाहुँदै ८ बज्यो । सबै जनालाई ड्रिङ्क्स स्रिङ्क्स टक्राइबक्स्यो । ८ बज्यो आफूमुमा, मुमा बडामहारानी सवारी होइबक्स्यो, फेरि सरकारबाटै सवारी चलाइबक्सेका, फेरि ड्रिङ्क्स दिइबक्स्यो, अनि यस्तै साढे ८ तिर महाराजाधिराज सवारी होइबक्स्यो । अफिस सकाएर सवारी होइबक्स्यो, त्यो बेलामा दाइ हामीसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो, त्यही कोठामा होइबक्सन्थ्यो । एकदमै लागेको जस्तो गरी ढलिबक्स्यो, बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो, त्यही भुईंमा नै सुकला भयो, म, गोरख, निराजन र राजीव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन, ठूलो बुबा सवारी होइबक्स्यो, अब यसो यस्तो कति छ छ माथि सवारी चलाउँछौँ भनेर हामी चार जना भएर माथि खोपीमा सवारी चलायौँ, त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन पाइनँ । गद्दीको मुन्तिर सानो ओछ्यान छ, नि त्यहीँ नै सुताएर गयौँ हामी । करिब साढे ८ जस्तो भा'थ्यो, साढ़े ८ त्यस्तै ३१/३२, ८:३१३२ होला । हामी तल आयौँ । बत्तीसत्ती निभाएर तल आयौँ । तल आएपछि अब महाराजाधिराजको भित्रै, मुमा बडामहारानी सरकार जहाँ राज होइबक्सेको थ्यो, त्यहीँ नै हेलेन शाहसँग मिटिङ भइराखेको थियो । हामीले दर्शन गर्न पनि पाएको थिएन, बाहिर कुरेर बसिराखेको थिएँ, त्यहाँ भित्रको मिटिङ आधा घण्टाजति चल्यो होला, म्याक्सिमम आधा घण्टाजति चल्यो होला । त्यसपछि हामी दर्शन गरेर यता आयौँ । महाराजाधिराज सरकार र मुमा बडामहारानी सरकार पनि यतै सवारी भयो । त्यही कोठामा जहाँ यो घटना भयो, त्यही कोठामा सवारी भयो । भर्खर ड्रिङ्क्स लिइबक्सेको थियो, महाराजाधिराज सरकारले । हामीले चियर्स पनि गरेका छैनौँ, भर्खर ड्रिङ्क्स लिइबक्सेको थियो, यसै बीचमा अब हामीचाहिँ यतापट्टि कुनामा थियौँ हजुर, देखिएन युवराजाधिराज सवारी भएको । अ.... हामीले युवराजाधिराज सवारी भएको देखेनौँ, हामी कुनामा थियौँ । मैले त यो...।
समितिः कुना भनेको त्यो बडामहारानी सरकार राज भएको कुर्सीतिर कि ?
पारसः होइन, क्यारेमबोर्ड छ नि ।
समितिः क्यारेमबोर्ड यो ?
पारसः क्यारमबोर्ड, क्यारमबोर्ड छ नि ।
को-को मारिएका थिए दरबार हत्याकाण्डमा ?
नारायणहिटी दरबार हत्याकाण्ड भएको २२ वर्ष पूरा हुँदा पनि यो हत्याकाण्डको रहस्यको पर्दा अझै खुलेको छैन । १९ जेठ २०५८ मा राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो ।
रहस्यकाे पर्दा खुल्न नसकेकाे याे उक्त हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने माग हुँदै आएको छ । यस हत्याकाण्डमा मारिएका र घाइते भएका व्यक्तिहरू ः
मारिएकाहरू
राजा वीरेन्द्र
रानी ऐश्वर्य
युवराजधिराज दीपेन्द्र
अधिराजकुमार निराजन
अधिराजकुमारी श्रुति
अधिराजकुमार धीरेन्द्र (तत्कालीन अवस्थामा अधिराजकुमारको पद खोसिएका)
अधिराजकुमारी शान्ति राज्य लक्ष्मी (राजा वीरेन्द्रकी बहिनी)
अधिराजकुमारी शारदा राज्य लक्ष्मी (राजा वीरेन्द्रकी बहिनी)
कुमार खड्गविक्रम शाह (राजा वीरेन्द्रका ज्वाइँ, शारदाका पति)
अधिराजकुमारी जयन्ती (राजा वीरेन्द्रकी बहिनी, काकाकी छोरी)
घाइते भएकाहरू
अधिराजकुमारी शोभा (राजा वीरेन्द्रकी बहिनी)
कुमार गोरख शमशेर (अधिराजकुमारी श्रुतिका पति)
अधिराजकुमारी कोमल (पछि बडामहारानी)
श्रीमती केतकी चेस्टर (राजा वीरेन्द्रकी बहिनी तथा काकाकी छोरी, राजपद छोडेकी)