काठमाडौँ — अन्तर्राष्ट्रिय मञ्चमा देशकै बदनाम गराउने नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै पार्टीका प्रभावशाली नेता बालकृष्ण खाण र पूर्वसभासद आङ्टाबा शेर्पा पक्राउ परिसक्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गर्न चाहेका छैनन् । बरु पक्राउ परेका पार्टी नेतालाई जोगाउन खोजिरहेका उनी यस प्रकरणमा आफूनिकटस्थ अरू नपरून् भनेर सचेत देखिन्छन् ।
कांग्रेसको विधानमा दुई महिनामा एक पटक केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुपर्ने व्यवस्था छ तर बैठक नबसेको ९ महिना भएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा देखाउँदै गरिएको ठगी धन्दामा आफ्नै पार्टीका नेताहरू संलग्न रहेको आरोप लाग्दासमेत सभापति देउवाले बैठक टार्न थालेपछि महामन्त्री गगन थापाले मंगलबार विज्ञप्ति जारी गर्दै आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् । त्यसलाई पार्टीकै दृष्टिकोणका रूपमा लिन उनले आह्वानसमेत गरेका छन् । अनुसन्धानको दायरामा परेका जोसुकै सार्वजनिक पदबाट अलग हुनुपर्ने, नभए पार्टीले निलम्बन गर्नुपर्ने उनको धारणा छ ।
देउवा पत्नी आरजु राणा र खाण पत्नी मञ्जुले गिरोहबाट पैसा लिएको भनिएको अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेकै बेला पार्टी प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशरण महतले पत्रकार सम्मेलनमार्फत प्रतिरक्षा गर्न खोजेकामा पनि थापाले असन्तुष्टि प्रकट गरेका छन् । ‘शरणार्थी प्रकरणमा नेपाली कांग्रेस र यस पार्टीसँग आबद्ध कुनै पनि सदस्यले छानबिन प्रक्रियालाई सघाउने हो, आरोपित व्यक्ति निर्दोष भए छुट पाउँछ, अपराध गरेको भए कानुनबमोजिमको सजाय पाउनै पर्छ, जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने कुरा स्वाभाविक हो र पार्टीका साथीहरूले त्यहीअनुसार बुझ्नुपर्छ,’ थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘परम्पराका नाममा यसलाई अपव्याख्या गर्ने, सामान्यीकरण गर्ने र पार्टीको कुनै पनि तह, पद र वा सांगठनिक संरचनालाई दुरुपयोग गर्ने पक्षधरता लिने काम तत्काल रोकिनुपर्छ ।’
पार्टी प्रवक्ता एवं अर्थमन्त्री महतले मंगलबार बिहान अडियोको वैधानिकताबारे प्रहरीले जाँच गरिरहेकै बेला ‘फेक’ अडियोलाई लिएर ‘मिडिया ट्रायल’ गर्न खोजिएको भन्दै आरजुको बचाउ गर्न खोजेका थिए ।
‘मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको छ । आरजु राणाले प्रमाणित होस् भनेर उजुरी गर्नुभएको छ । तर अहिले सामाजिक सञ्जालबाट ट्रायल गरेर दोषी हो भन्ने व्यवहार भइरहेको छ,’ महतले भनेका थिए, ‘यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अडियो झूटो हो भन्ने विश्वास छ ।’
नेपालीलाई भुटानी शरणार्थी बनाउने काम ठगी मात्रै नभई संगठित अपराध, मानव बेचबिखन, देशद्रोह रहेको उल्लेख गर्दै महामन्त्री थापाले यसमा संलग्न जोसुकैलाई हदैसम्मको सजाय हुनुपर्नेमा जोड दिएका छन् । ‘कुनै पनि बहानामा अनुसन्धान प्रक्रियामा अवरोध, ढिलासुस्ती, दबाब वा प्रभाव पारिनु हुँदैन । पर्दा पछाडिबाट त्यस्तो दुष्प्रयास गर्नेहरूको भन्डाफोर गर्नुपर्छ,’ उनले भनेका छन्, ‘विधिको शासन र कानुनको दृष्टिमा सबै नागरिक समान हुन् । अपराधको दल, वर्ण, जात, लिंग वा समुदाय हुँदैन, हुनु हुँदैन, दोषी छ भने जस्तोसुकै शक्तिशाली र प्रभावशालीले पनि उन्मुक्ति पाउनु हुँदैन । निर्दोष छ भने अन्यायमा पनि पर्नु हुँदैन । स्वतन्त्र र स्वाभाविक दिशाले निर्दिष्ट गरेको अन्तिम बिन्दुसम्म अनुसन्धान हुनुपर्छ ।’ महामन्त्री थापाले ‘अनुहारमा दाग लागेपछि ऐना जति पटक पुछे पनि दाग पुछिँदैन, अनुहारकै दाग पुछ्नुपर्छ’ भन्दै त्यसका लागि पार्टीका प्रत्येक सदस्यले दृढ संकल्प गर्ने बेला आएको बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणले कांग्रेसभित्र ध्रुवीकरण बढ्न थालेको छ । कांग्रेसको नेतृत्व र संस्थापन पक्षकै कतिपय नेता यस प्रकरणको लहरो नेता खाणभन्दा माथि जान नहुने पक्षमा देखिएका छन् । संस्थापन इतरका नेताहरूको जोड यस प्रकरणमा जोडिएका कोही पनि उम्किन नहुने भन्नेमा छ । शरणार्थी प्रकरण र भ्रष्टाचार मुद्दालाई लिएर महामन्त्री थापाले देशव्यापी अभियान छेड्न खोजेका छन्, जसलाई उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेलगायतको साथ छ । केन्द्रीय सदस्य मधु आचार्य, गोविन्द पोखरेल, गुरुराज घिमिरेलगायतको अर्को टोलीले पार्टी रूपान्तरणका लागि भन्दै अर्को अभियान थालिसकेका छन् । उनीहरूले मंगलबार बिहान नै पत्रकार सम्मेलन गरेर सातै प्रदेशमा भेला बोलाएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वले पार्टी र मुलुक जोगाउनेभन्दा पनि व्यक्ति जोगाउने विषयलाई प्रधान बनाउँदा कांग्रेसको भविष्यमाथि नै संकट उत्पन्न भएको बताउँछन् । बैठक बोलाउन केन्द्रीय सदस्यहरूले दबाब बारम्बार दिए पनि नेतृत्वले नसुनेको उनको गुनासो छ । ‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरण मुख्य एजेन्डा रहे पनि ठप्प रहेको पार्टी संगठनलाई चलायमान बनाउन, चुनावको समीक्षा गर्न, अपूर्ण समितिलाई पूर्णता दिन, भ्रातृ संस्था गठनलगायत दर्जनौं एजेन्डामाथि छलफल गर्न बैठक आवश्यक छ,’ उनले भने । नेतृत्वले बैठक बोलाउन चासो नदिएपछि पार्टीको भविष्य जोगाउन सबै विषय र मुद्दाबारे सार्वजनिक रूपमै राख्न सभा बोलाउने विषयमा छलफल भइरहेको पौडेलले जानकारी दिए । ‘संख्याले दबाब नपुगेपछि जमिनको तागतले नेतृत्वलाई डोर्याउन बाध्य बनाउन सकिन्छ भन्ने हाम्रो धारणा छ,’ उनले थपे ।
संस्थापन पक्षीय केन्द्रीय सदस्य नैनसिंह महरले बैठक छलेर पार्टीको उत्थान नहुने बताए । ‘छल्ने काम बन्द गर्नुपर्छ । शीघ्र बैठक राखेर पार्टीको जीवनमा आइपरेका संकट र विषयमा छलफल गर्दै पार्टीको कार्यदिशा र नयाँ दृष्टिकोण बनाउनुपर्छ,’ उनले भने, ‘अहिलेसम्म संसदीय निर्वाचनको समीक्षा नहुनु दुर्भाग्य छ । त्यसपछि पनि उपनिर्वाचनलगायत कैयन् राजनीतिक घटना क्रम विकसित भए । ती सबैमा पार्टीभित्र छलफल हुन सकिरहेको छैन ।’ देउवाले वैशाख २८ मा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउन खोजेका थिए । तर बुधबार र बिहीबार बसेको पदाधिकारी बैठकमा उपसभापति गुरुङ, महामन्त्रीद्वय थापा र शर्माले खाणको पार्टी सदस्यता निलम्बन गर्नुपर्ने माग उठाएपछि देउवाले बैठक डाकेनन् ।