प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसद्मा कपडा खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएका छन् । विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका थिए ।
बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोली विरोध जनाएका हुन्। त्यससँगै संसदमा अन्य दलका सांसदहरू समेत बोल्न पाउनुपर्ने माग गर्न उठेका थिए।
तर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गरे भने प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गरे। अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी पनि उनले दिए।
सांसद सिंह अहिले बैठकस्थलबाट बाहिरिसकेका छन् भने हाल प्रतिनिधि सभा बैठक चलिरहेको छ।