नेभिगेसन मेनु

‘ए’ डिभिजन लिग : विदेशी खेलाडी नै सर्वाधिक गोलकर्ताको दौडमा
सम्पादक:南亚网络电视
समय:2023-05-06 13:28

Sports2023-05-06-08-51-11

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदेशी खेलाडी कोटा पाँच पुर्‍याएसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७९/०८० मा उनीहरूको प्रभाव ह्वात्तै बढेको छ । लिगमा १४ क्लब आबद्ध छन् । त्रिभुवन आर्मी फुटबलबाहेक सबै सहभागी क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । विभागीय टोली एपिएफ र नेपाल पुलिसले पनि विदेशी खेलाडी अनुबन्ध गरेका छन् । एपिएफले दुई वर्षअघि नै विदेशी खेलाडी भित्र्याएको थियो । पुलिसले यसै सिजनबाट विदेशी खेलाडी राख्यो । एन्फाले लिगमा दक्षिण एसिया र एसियाका एक–एक खेलाडी राख्नुपर्ने क्लबलाई निर्देशन गरेको छ । त्यसबोहक अन्य तीनजना खेलाडी जुनसुकै राष्ट्रबाट राख्न सकिन्छ । लिग दौरान मैदानमा चार विदेशी खेलाडी मात्रै रहनेछन् । लिग अगाडि र चलिरहँदा ४० माथि खेलाडी विदेश पलायन भएपछि एन्फाले यसपटक विदेशी कोटा बढाएको हो । यसपटक लिगमा तीन सय खेलाडी अनुबन्ध हुँदा ६० भन्दा बढी विदेशी खेलाडी मात्रै छन् ।  

लिगमा डबल लिगका आधा खेल सकिएका छन् । १५औँ चरणका खेल चलिरहँदा विदेशी खेलाडीले घरेलु खेलाडीलाई प्रभावमा राखेका छन् । हरेक क्लबका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकरले उत्कृष्ट प्रदर्शन गरेका छन् । एक किसिमले नेपाली खेलाडी विदेशीका सामु छायामा नै परेका छन् । लिगको मुख्य आकर्षकमध्ये सर्वाधिक गोलकर्ता पनि हो । यो पक्षमा विदेशी खेलाडीकै बाहुल्यता छ । शीर्ष १० उच्च गोलकर्ता दौडमा नेपालका दुई खेलाडी मात्रै छन् । 

मेसुके ओलोमोउ (खुमलटार युथ : १२ गोल) 

क्यामरुनी स्ट्राइकर घरेलु फुटबलका चर्चित विदेशी स्ट्राइकर हुन् । लगातार दोस्रो सिजन लिग खेलिरहेका मेसुकेको प्रभाव र लयमा केही फरक आएको छैन । लिग जित्ने योजना बनाएको खुमलटारले क्यामरुनका मेसुकेलाई अनुबन्ध गरेको हो । मेसुके चम्किरहँदा खुमलटारले योजनाअनुसारको लय पाएको छैन । खुमलटार १७ अंकका साथ ११औँ स्थानमा छ । अहिलेसम्म मेसुकेले १२ गोल गरेका छन् । पहिलो चरणका १५ खेल नै खेलेका मेसुकेले हालसम्म एक हजार तीन सय ५० मिनेट (इन्जुरी समयबाहेक) खेलेका छन् । उद्घाटन खेलमा फ्रेन्ड्सविरुद्ध एक गोल गरेका मेसुकेले चर्च ब्वाइज, जावलाखेल र नेपाल पुलिसविरुद्ध समान एक गोल गरेका छन् । उनले मच्छिन्द्र, आर्मी र मनाङ मर्स्याङ्दीविरुद्ध दुई–दुई गोल गरेका छन् । मेसुकेले गत सिजन न्युरोड टिम (एनआरटी)बाट खेल्दै सात गोल गरेका थिए । मेसुके नेपाल सुपर लिग (एनएसएल)बाट नेपाली फुटबलमा देखिएका हुन् । 

दीपकराजसिंह ठकुरी (सातदोबाटो : १० गोल)

विदेशी खेलाडीको दबदबा रहँदा घरेलु खेलाडीमा सातदोबाटोका दीपकराजले चुनौती प्रस्तुत गरिरहेका छन् । विदेशी खेलाडीलाई उनीहरूकै स्तरमा चुनौती दिने उनी एक्ला नेपाली स्ट्राइकर हुन् । घरेलु फुटबलका अधिकांश चर्चित अनुहार विदेश पलायन हुँदा दीपकले आफूलाई स्थापित गर्ने योजनामा छन् । लिगमा दीपकले सातदोबाटोका लागि १४ खेल खेल्दै १० गोल गरेका छन् । यसक्रममा एक हजार दुई सय ५५ मिनेट (इन्जुरी समयबाहेक) मैदानमा बिताएका छन् । लाओसविरुद्ध राष्ट्रका लागि डेब्यु गरेका दीपकले एनआरटी, हिमालयन शेर्पा र संकटाविरुद्ध समान दुई गोल गरे । मनाङ मर्स्याङ्दी, जावलाखेल, खुमलटार र फ्रेन्ड्ससँगको प्रतिस्पर्धामा उनको नाममा एक गोल रह्यो । जावलाखेलसँग बाहेक दीपकले गोल गरेको खेलमा सातदोबाटो परापिजत हुनुपरेन । 

एनकोटो मासोआबी (जावलाखेल : १० गोल)

अफ्रिकी राष्ट्र लेसोथाका एनकोटो मासोआबीले लिगमा सानदार प्रदर्शन गरिरहेका छन् । जावलाखेल लिगको शीर्षस्थानमा रहँदा मासोआबीले जादु देखाएका छन् । अग्रपंक्तिमा यी खेलाडीले आफूलाई प्रमाणित गर्दा जावलाखेलको नतिजामा प्रत्यक्ष फाइदा भएको देखिन्छ । पहिलोपटक ‘ए’ डिभिजन लिग खेलिरहेका मासोआबीले १० गोल गरेका छन् । १५ खेलमा इन्जुरी समयबाहेक एक हजार तीन सय ५० मिनेट उनले खेलेका छन् । यसक्रममा नेपाल पुलिस र मनाङविरुद्ध समान उनले दुई–दुई गोल गरेका थिए । मच्छिन्द्र, थ्री स्टार, सातदोबाटो, खुमलटार, चर्च ब्वाइज र हिमालयन शेर्पाविरुद्ध समान एक गोल गरेका मासोआबीले लेसाथाका लागि ३१ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । राष्ट्रिय टोलीबाट उनका नाममा दुई गोल छन् । जावलाखेल अनुबन्धअघि मासोआबीले जर्जियन लिग खेलेका थिए । 

आफिज ओलावाले (मच्छिन्द्र : ९ गोल)

साबिक दुईपटकको सहिद स्मारक लिग विजेता मच्छिन्द्र यसपटक लिग उपाधिमा ह्याट्रिक गर्ने योजनामा छ । तर, मच्छिन्द्रको प्रदर्शन सुरुका पाँच खेलमा उत्साहजनक रहेन । तालिकाको पुछारमै रह्यो । पाँच चरणपछि लिगले विश्राम पाउँदा मच्छिन्द्रले लय समातेको छ । घरेलु फुटबलमा चलनचल्तीमा रहेका आफिजेलाई मच्छिन्द्रले चौथो खेलमा मैदान उतार्‍यो । यसपछिका खेलमा मच्छिन्द्रको प्रदर्शन उच्च छ । नाइजेरियाका स्ट्राइकर आफिजेले नौ खेलमा नौ गोल गरेका छन् । चालू लिगमा पहिलो ह्याट्रिक गर्ने खेलाडी उनी नै हुन् । पहिलो लेगमा उनले खुमलटारविरुद्ध पाँच गोल गरेका थिए । उनले पुलिसविरुद्ध दुई गोल र संकटाविरुद्ध दुई गोल गरे । गत सिजन मनाङबाट खेल्दा आफिजले ६ गोल गरेका थिए । आफिजले पछिल्लो एक दशकदेखि नेपाली फुटबलमा परिचित छवि बनाएका छन् ।  

राफिक अमिनु (फ्रेन्ड्स : ९ गोल)

आठाैँ चरणसम्म फ्रेन्ड्स रेलिगेसन क्षेत्रमै थियो । लिगको १३औँ चरणसम्म पुग्दा फ्रेन्ड्स ११औँ स्थानमा पुग्यो । १५औँ चरणका खेल सुरु हुँदा पुनः फ्रेन्ड्स रेलिगेसन क्षेत्रमा झरेको छ । लिगमा फ्रेन्ड्सको कमजोर प्रदर्शन भइरहँदा विदेशी खेलाडी राफिकको प्रदर्शन लोभलाग्दो छ । लिगमा नौ गोल गरेका राफिक सर्वाधिक गोल गर्ने पाँचौँ खेलाडी हुन् । आर्मीविरुद्धको खेलमा उनले निकै लोभलाग्दो गोल गरेका थिए । मैदानको मध्यभागबाट उत्कृष्ट फ्रिकिक उनले गरेका थिए । घानाका यी खेलाडीले १२ खेल खेल्दै नौ गोल गरे । उनले एक हजार १५ मिनेट (इन्जुरी समयबाहेक) मैदानमा बिताएका छन् । हिमालयन शेर्पा र संकटाविरुद्ध दुई गोल गरेका राफिकले जावलाखेल, आर्मी, मच्छिन्द्र, एनआरटी र एपिएफविरुद्ध समान एक गोल गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर