धादिङको धुसटारनजिकै सेती खोलामाथिको जबरे गाउँमा ६१ वर्षअघि जन्मेकी देउकुमारी हमाल (ठकुरी) को कथा हो यो, जहाँ जीवन–जगत् ‘अँध्यारो’ मात्रै छ । संयोगले पुरानो बानेश्वरको एउटा डेरामा भेटिएकी देउकुमारी उमेरभन्दा बढी चाउरिएकी र थकित देखिन्थिन् ।
डेराकोठामा जम्मा २ वटा साना खाट छन्, दाल–चिनी हाल्ने केही बट्टाबट्टी छन् । मुस्किलले दुई व्यक्ति यताउता गर्न मिल्ने भान्सा कोठा छ । ‘म अरूका घरमा भाँडा माझेर महिनाको १५ हजार कमाउँछु, यो डेराकोठाको भाडा महिनाको ११ हजार रुपैयाँ छ,’ आमा देउकुमारी बोल्न थालिन्, ‘धन्न, यो छोरीले एउटा दोकानमा काम गरेर त्यही १५/२० हजार रुपैयाँ कमाउँछे र, गर्जो टारिएको छ ।
यो दुःखान्तको सुरुवात यी आमाछोरीले के–कसरी गर्जो टारिरहेका होलान् भन्नेमा होइन । बरु एउटा सामान्य परिचय र नेपाली नागरिक हुनुको निस्सा नपाएरै बितेको जीवनको कथा–व्यथा यी आमाछोरीको कथानकमा छ । यो कथानकको पछिल्लो सूत्रमा जोडिएकी छोरी मेलिना उप्रेती पनि अहिले उमेरमा २५ पूरा भइन् । तर, उनी नेपाली नागरिक हुन् कि अनागरिक अथवा शरणार्थी, उनी आफैंलाई पत्तो छैन ।
देउकुमारीको ‘जबरे’
स्मृति र पुरानो ठेगानाको कुरो कस्तो छ भने धादिङको ‘जबरे’ भन्ने ठाउँ कहाँनेर छ, यो खोजिहेर्दा पनि पत्तो भएन । ‘गजुरीबाट चरौंदी नाघेपछि सेती खोला तर्नुपर्छ, त्यो खोलाबाट उकालै उकालो एक घण्टा हिँडेर पुगिन्थ्यो मेरो माइती देश,’ कहानी सुनाएझैं आमा उमेरकी देउकुमारी सुनाइरहेकी थिइन्, ‘म त्यहीं जन्मिएँ, हुर्किएँ । मेरा बाबु राजुकमार हमाल ठकुरीको सानसौकत थियो नै, हामी अरू कामदार राखेर खाने हैसियतमा थियौं ।’
जे–जसो भए पनि त्यो समय र धादिङे कुनोको रीतिथितिमा देउकुमारीले स्कुल पढ्न भने पाइनन् । १४ वर्षे उमेरसम्म घाँसपात, गाईगोठालो गरेरै जीवन निर्वाह हुँदै गयो । त्यो समयमा घुम्दैफिर्दै आएका दोलखा, पोगटी गाउँका एक जना श्याम उप्रेती नामका तन्नेरीले देउकुमारीकै घरमा बसोबास बनाएका थिए, घरेलु कामदारका रूपमा । झन्डै एक वर्ष त्यो घरमा बसेपछि र देउकुमारीसँग मन मिलेको संकेत पाएपछि बाबुआमाले ती तन्नेरीलाई घरमै घरज्वाइँ राख्न चाहे । तर, उनले मानेनन् ।
‘१४ वर्षे उमेरपछि मेरा दुःखका दिन सुरु भए । ठाउँ न ठहर र धेरै कुरो पत्तै नपाई बाआमाले त्यही मान्छेसँग कन्यादान गरिदिए,’ देउकुमारी सम्झन्छिन्, ‘अनि म त्यही लोग्नेका पछि लागेर काठमाडौं आएँ, आजभन्दा ४७ वर्षअघि । सुरुमा कालीमाटीमा एउटा भट्टी पसलमाथिको पाँचौं तलामा मलाई राखियो, मेरो संसार भन्नु केही थिएन, सिवाय त्यही लोग्ने ।’
कता होला पोगटी ?
जीवन बित्दै गयो । बिहान–बेलुकै रक्सी खाएर मदहोस हुँदै आउने लोग्नेसँग देउकुमारीको अरू सरोकार थिएन, उनी केवल दोलखाको पोगटी घर पुग्न चाहन्थिन् । तर, लोग्नेले जहिल्यै ‘जाउँला–लैजाउँला’ भनेपछि अरू प्रश्नोत्तर रहन्नथ्यो पनि ।
धादिङ गाउँबाट बाआमाले कन्यादान गरिदिँदा इज्जतसहित र जीउभरि गरगहना लगाइदिएर पठाइदिएका थिए । जँड्याहा लोग्ने र बेठेगानको दैनिकीका कारण ती गरगहना बेच्दै जीवन निर्वाह गर्नुबाहेक देउकुमारीका अरू उपाय थिएन । त्यही क्रममा लगातार हिसाबमा ११ जना छोराछोरी पेटमा आए तर ३ बाहेक सबै असमयमै तुहिएर गए । ‘एउटा छोरो बाँचेको थियो, त्यो पनि २०७१ सालतिर २७ वर्षे उमेरमा बित्यो । एउटी छोरी बिहा भएर गइसकी । अर्की कान्छी छोरी मेलिना र ममात्रै यो डेरामा छौं,’ आमा देउकुमारीले गह्रौं मन लिएर सुनाइन्, ‘मेरो लोग्नेलाई पनि आजभन्दा २६ वर्षअघि यही कान्छी छोरी काखैमा छँदा मैतिदेवीमा गाडीले थिचेर मार्यो । त्यसपछि त झन् न दोलखाको पोगटी न त धादिङको जबरे नै रह्यो । न नागरिकता, न विवाह दर्ता वा न त लोग्नेको मृत्यु दर्ता नै कतै हुन सक्यो । हामी आमाछोरी आज आकाशबाट आएका अर्कै जीवजन्तुझैं यहाँ बसेका छौं ।’
धादिङको गजुरीमाथिको गाउँ भनेपछि त्यति टाढाको कुरा पनि होइन । तर, आफ्नै जिन्दगीको सुरताल बिग्रिएपछि र बिहान–बेलुकीको गर्जो टार्न मुस्किल भएका बेला त्यही गजुरी पनि टाढा भएको स्थिति छ । बिहापछिको केही वर्षमा देउकुमारी माइती गाउँ पुगेकी थिइन् । त्यसबेला उनलाई थाहा भयो, उनका बाबु राजुकमार हमाल ठकुरी कान्छी आमा लिएर कैलाली–कञ्चनपुरतिर बसाइँ सरिसकेका रहेछन् । एउटा बहिनी र भाइ थिए, ती पनि कहिल्यै सम्पर्कमा आएनन् । गाउँमा रहेका सानो बुबा–आमाले अलिक हेपेर व्यवहार गरेपछि उनी फर्किएर माइती जान छाडिछन् । देउकुमारीका अनुसार, उनका मामा धादिङ धुसाटारका हेमकान्त जैसी थिए जो पञ्चायतकालमा प्रधानपञ्चसमेत थिए ।
‘आमाले सुनाएको हन्डर–ठक्करको कथा सुनेर म पनि एकान्तमा बसेर रुन्थें, म आफैं पनि १० वर्षको उमेरसम्म अरूकै घरमा कामदारझैं बसेकी थिएँ,’ अहिले कमलपोखरीको एउटा व्यापार केन्द्रमा सेल्सगर्ल रहेकी मेलिना भन्छिन्, ‘दुःखजिलो गरेर कसरी बाँच्ने, आमालाई कसरी छिनभर भए पनि खुसी बनाउने भनेरै म रोजीरोटी जुटाउनमा लागिरहें । अहिले एसएलसीको सर्टिफिकेट पनि हातमा भएपछि र अरू उच्च शिक्षा वा तालिम, अवसरका निम्ति चहारिहेर्दा मेरो नागरिकता नभएपछि सबै कुरा रोकिएको छ, यो जीवनै रोकिएजस्तो भइरहेको छ ।’ कतिसम्म भने मेलिनाकी एक जना दिदी बिहा गरेर अर्कैको जीवनमा गइसकेकी छन् भने एउटा दाइ (राजु) को अनागरिक (नागरिकता नपाएरै) अवस्थामा २७ वर्षे उमेरमा केही वर्षअघि निधन भइसकेको छ ।
आफ्नै ठाउँमा ‘अनागरिक’
देउकुमारीको जीवन कतिसम्म असहाय छ भने उनको माइती वा घरको ठामठेगाना पहिल्याइदिने पनि आज कोही छैन । न उनले एकल महिलाको भत्ता पाउन सकेकी छन्, न छोरीको जन्मदर्ता वा नागरिकताको प्रबन्ध हुन सकेको छ । ‘मेरा लागि सिंगो संसार भनेकै कि त माइती देश (धादिङ) कि त काठमाडौं,’ आमाले गह भर्दै सुनाइन्, ‘त्यही पनि मनको बह कसैलाई नकह भनेरै यो उमेरमा आएकी छु । अब छोरीको भविष्य र तालिम–सुविधा वा पढाइको अधिकारका लागि पनि नागरिकताको कागज चाहिएपछि यसरी बोल्न थालेकी छु । मलाई न घर, न माइत कसैको पनि सम्पत्ति चाहिएन । तर, यही म नेपाली नागरिक हुँ भन्ने निस्साप्रमाण चाहियो ।’
देउकुमारीलाई आफ्नो माइतीदेशको खुबै सम्झना छ । आफूले गाईबाख्रा लिएर चराउन गएको नजिकैको जंगल, गाउँबस्ती र बाह्रैमास पानी आउने झरना । केही साथीसंगी पनि । ‘म बितेका ४७ वर्षदेखि एक्लै छु । लोग्ने भन्नु मात्रै, दुःखसुख र पीरमर्का कहिल्यै बुझिदिएनन् । बरु धादिङ माइती खलकका कोही भेटिएलान् कि भनेर म केही समय कालीमाटी तरकारी बजारतिर पनि टहलिन जान्थें,’ देउकुमारीले सुनाइन्, ‘तर कोही कहिल्यै फेला परेनन् । फेला परेकाले पनि चिनेजस्तो कहिल्यै गरेनन् ।’
जीवन यसरी बितेको छ कि आमा देउकुमारी र छोरी मेलिनासँग हर्ष, सुख वा सम्झने मीठा कुरा त्यस्तो केही पनि छैन । दसैं–तिहार वा चाडपर्वको भेटघाटको सुमधुर स्मृति पनि केही छैन । पूरै एकांकी छ जीवन । ‘अर्काकै घरको भाँडा माझेर जीवन कटाएकी छु, काम गर्ने हरेक घरका मालिकसँग नागरिकता बनाइदिनका लागि उपाय खोजिपाऊँ भनेर बिन्ती बिसाएकी छु,’ देउकुमारी भन्छिन्, ‘तर कसैले यो कागज बनाइदिने कुरामा भर दिएनन् । कि माइत जाऊ, कि घर भन्नेहरू निस्किए सबै । आज न मेरो माइत लगिदिने कोही छ, न घरकै टुंगो छ ।’ छोरी मेलिनाका अनुसार, यही दुःखेसो सुनाउन आमा देउकुमारी एक पटक माइती नेपाल पनि गएकी थिइन् । तर, त्यहाँ पनि यो कहानी सुनिदिने कोही भएन ।
कुनै पहिचान र कागजात नभएरै पनि जीवन बितेको छ देउकुमारीको । पहिलेको जुगमा जे–जसरी पनि चलिहाल्छ भनेपछि न जन्मदर्ता चाहियो, न पहिचानको अरू आधार । तर, आज जे कुरामा नागरिकता चाहिने र त्यसमाथि पनि आमाको नामबाट नागरिकता लिनुपर्ने अवस्थाको झैझमेला छोरी मेलिनाले भर्खरै मात्रै थाहा पाउन थालेकी छन् ।
‘कोही कसैले अलिक राम्रो ठाउँमा काम दिन्छु, राम्रै तलब आउँछ भनिरहेको हुन्छ । तर, मसँग पहिचान छैन । नागरिकतै छैन,’ आमापछि छोरीले गह भर्दै सुनाइन्, ‘मेरी आमाकै जन्मदर्ता नरहेको कुरा मेरी आमा २५ वर्षयता एकल महिला भएर दुःख–सास्तीका दिनरात बिताएपछि मात्रै मैले थाहा पाएकी छु । अब म मेरो जन्मदर्ता, नागरिकता र अरू जन्मसिद्ध अधिकारका लागि के–कता गएर रोइकराइ गरौं ? लु भनिदिनुस्, म कहाँ जाउँ ?’