एस् ए टी भी १२ जेष्ठ, काठमाडौँः प्राकृतिक चिकित्सा विज्ञान एक यस्तो एउटा प्राकृतिक र मौलिक उपचार प्रणाली हो जसले शरीरको स्वउपचार गर्ने स्वाभाविक क्षमतालाई प्राथमिकता दिने गर्दछ । यस प्रणालीमा रोगको लक्षण मात्र होइन त्यसको मूल कारणको उपचारमा जोड दिइन्छ ।
प्राकृतिक चिकित्सा विधिहरू जीवनशैलीमा सुधार, रोग निवारण र प्राकृतिक साधनको प्रयोगमार्फत स्वास्थ्य प्रवर्धन गर्ने विविध सिद्धान्तमा आधारित छ । यी सिद्धान्त प्राकृतिक उपचारको दर्शन, चिन्तन, मर्म, भावना र अभ्यासलाई मार्गदर्शन गर्ने मूल नियम हुन् । यी सिद्धान्तले प्राकृतिक चिकित्सा अभ्यासका व्रmममा रोगको रोकथाम, सुरक्षित उपचार र दीर्घकालीन स्वास्थ्य लाभका लागि मार्गदर्शन गर्छन् । यिनै सिद्धान्तले प्राकृतिक चिकित्सा अभ्यासको मूल आधार बनाउँछन् ।
१.स्वस्थ जीवनशैलीको सिद्धान्त
स्वस्थ जीवनशैली हाम्रो स्वास्थ्यको मूल आधार हो । जीवनशैली स्वस्थकर नहुँदा हामीलाई अनेकौँ नसर्ने रोगले गाँज्दछ भने सरुवा रोगले पनि चाँडै समात्छ । जीवनशैली भनेको भोजन, व्यायाम, विश्राम, विचार एवं व्यवहारलाई स्वास्थ्यमैत्री हुने गरी ठिक रूपले समायोजन गर्नु हो ।
२.समत्वको सिद्धान्त
मानवमा हरेक कुरालाई सकारात्मक र नकारात्मक भनी छुट्याइहाल्ने तथा आफूले मन पराएको पक्षतिर ढल्किएर अर्को पक्षलाई बेवास्ता गर्ने बानी हुन्छ तर राम्रो र नराम्रोभन्दा पर समत्वको तल छ । समत्व अपनाउन नसक्ने व्यक्ति चाँडै रोगको चङ्गुलमा फस्दछ । जस्तैः
क)व्यायाम, श्रम आदि नगर्ने बानी नराम्रो हो । व्यायाम नगर्नाले मधुमेह, उच्च रक्तचापलगायत थुपै्र रोग लाग्छन् भन्ने हामीलाई थाहा छ तर त्यही व्यायाम वा श्रम बढी भयो भने पनि रोग लाग्छ । एकदमै बढी व्यायाम वा चोट लाग्ने खेलकुद बढी खेल्नाले जोर्नी तथा मांसपेशीका रोग, हर्मोनसम्बन्धी समस्या तथा स्नायुसम्बन्धी रोग लाग्छन् । यसलाई सन्तुलनमा ल्याउन विश्राम चाहिन्छ ।
ख)चिल्लोले खराब गर्छ भन्ने त हामीलाई थाहा छ तर चिल्लो पदार्थ खानामा नभए पनि थुप्रै रोग जन्मिन सक्छन् भन्ने पनि थाहा हुनु जरुरी छ ।
इसेन्सियल फ्याटी एसिड भएको चिल्लोलाई रोग उपचारमा समेत प्रयोग गरिन्छ । त्यस्तै ठिक मात्रामा नराम्रो चिल्लो अर्थात् स्याचुरेटेड फ्याटी एसिडको पनि शरीरलाई जरुरत पर्दछ ।
ग) स्वस्थ रहन सरसफाइ एकदमै महत्वपूर्ण छ भन्ने त हामीलाई थाहा नै छ । त्यस्तै फोहोरी वातावरणले विभिन्न रोगाणुलाई निम्तो गर्दछ । यी रोगाणुले अनेक रोग उत्पन्न गर्छन् भन्ने पनि हामीलाई थाहा छ तर हाम्रो शरीर रोगाणुको संसर्गमा आउन सकेन भने विस्तारै ती रोगाणुविरुद्ध रोग प्रतिरोधक शक्ति कम हुँदै जान्छ र शरीरले रोगाणुसँग लड्न सक्दैन । फलस्वरूप रोग लाग्न सक्छन् ।
घ) तामाले शरीर रक्षा गर्ने एन्टिअक्सिडेन्ट्सको निर्माण गर्दछ । त्यति मात्रै होइन यसले कोलेस्टेरोल, रक्तचाप, मधुमेह ठिक राख्ने काम पनि गर्छ तर यही तामा बढी भए शरीर नष्ट गर्ने फ्री रेडिकल्स बढ्छन् । जसले उल्टै शरीरलाई हानि गर्दछ ।
त्यसैले हामीले के बुझ्नु जरुरी छ भने जसरी हरेक सिक्काका दुई पाटा हुन्छन् त्यसरी नै हरेक वस्तुका राम्रा र नराम्रा पक्ष हुन्छन् । यसर्थ सबैभन्दा महत्वपूर्ण भनेको सन्तुलन हो । जीवनमा कुनै पनि वस्तुको सन्तुलन कायम गर्नु नै स्वास्थ्य प्राप्त गर्ने एक मात्र उपाय हुन्छ । चाहे त्यो खानामा होस् वा व्यायाममा वा तनावमा । सन्तुलन नै स्वास्थ्य हो । साथै याद राखौँ बदलिँदो वातावरण भए पनि जे जस्तो अवस्थामा पनि शारीरिक, मानसिक, आध्यात्मिक रूपमा सन्तुलित हुनु नै स्वस्थता हो ।
३.शारीरिक एवं मानसिक प्रकृति एवं बनावटको सिद्धान्त
अचेल बदलिँदो वातावरण र आधुनिक जीवनशैलीबीच हामी कति स्वस्थ रहन सक्छौँ भन्ने कुराको निर्धारण हाम्रो मन तथा शरीरको प्रकृति र गठनले गर्दछ । प्रकृति र गठनको सिद्धान्तले गर्दा नै थुप्रै व्यक्ति पूर्ण रूपमा अप्राकृतिक जीवनयापन गर्दागर्दै पनि सम्पूर्ण जीवनभर स्वस्थ नै रहन्छन् भने कतिपय व्यक्ति प्राकृतिक जीवनयापन गर्दागर्दै पनि रोगको सिकार बन्दछन् । कतिपय व्यक्तिलाई रक्सी, चुरोट तथा मासुको सेवन जीवनभर गर्दा पनि केही हुँदैन तर प्राकृतिक जीवनयापन गरेका व्यक्ति भने क्यान्सरको सिकार बन्छन् ।
यी सबै कुरा त्यो व्यक्तिको प्रकृति र शारीरिक एवं मानसिक बनावटले निर्धारण गर्दछ । बनावट भनेको हाम्रो आधारभूत जिनको प्रकृति, गठन र बदलिँदो वातावरण तथा जीवनशैलीबीच ती जिनमा आउने परिवर्तन वा ती जिनले देखाउने व्यवहारले निर्धारण गर्दछ ।
४.प्रकृतिको नियमसम्मत जीवनयापनको सिद्धान्त
प्राकृतिक नियम अकाट्य छ र यसलाई पालन ग¥यौँ भने हामी स्वस्थ रहन्छौँ । अचेल रोग बढ्नुको मुख्य कारण नै हामीले प्रकृतिको नियम तोड्नु हो । यदि हामी स्वस्थ रहन चाहन्छौँ भने हामीले पूर्णतया प्रकृतिमै आश्रित रही प्रकृतिका नियम अर्थात् प्राकृतिक आहारविहार, व्यायाम तथा विश्रामलाई ध्यान दिनु एकदमै आवश्यक भएको छ । यो नियम चाहे खानपानको होस् वा व्यायामको होस् वा वातावरण वा विश्रामकै किन नहोस् ।
अचेल हामी प्रकृतिबाट टाढा भइरहेका छौँ । कृत्रिमता नै रोगको जननी हो । त्यसमाथि मान्छे त प्रकृतिमाथि विजय पाउन चाहन्छ । जुन असम्भव छ । प्रकृतिले नै हामीलाई जन्माएको हो र हामीले यसैमा विलीन हुनु छ । प्राकृतिक खानपान, व्यायाम, तनाव, प्रदूषण आदि नियन्त्रण वा ठिक नगरी रोग ठिक गर्न सकिन्न । यही नै यथार्थ हो ।
५.मानसिकता तथा प्रवृत्तिको सिद्धान्त
हाम्रो सोचाइ, मानसिकता र प्रवृत्तिले हामीलाई कस्तो खाले रोग लाग्ने हो भन्ने कुरा निर्धारण गर्दछ । हामीले गरेको कार्य, लिएको तनाव, खाएको खाना, व्यायाम, जीवनशैली, बानी, कुलत, चाहना, साथीसङ्गत, मनपर्ने वस्तु आदि सम्पूर्ण कुरा हाम्रो सोचाइ, मानसिकता र प्रवृत्तिले नै निर्धारण हुन्छ । यी नै थुप्रै रोगका कारण बन्छन् ।
जीवनशैलीसँग सम्बन्धित वा जीवनशैलीले उब्जाएका सर्ने तथा नसर्ने रोग त शतप्रतिशत सोचाइ, मानसिकता र प्रवृत्तिले नै उब्जाएका हुन्छन् । हामीलाई के मन पर्छ वा पर्दैन त्यसले नै यस्ता प्रायः रोगको आधार तयार गर्दछ । यसलाई केही उदाहरणबाट बुझौँ : रक्सी, चुरोट, चिल्लो खाना, मासु, फास्टफुड आदि बढी खान मन पराउनेलाई कोलस्टेरोलका समस्या, विभिन्नखाले क्यान्सर, मुटु तथा रक्तनलीका रोग र मधुमेह लाग्ने सम्भावना उच्च हुन्छ ।
अत्यधिक तनाव लिनेलाई मानसिक समस्या, उच्च रक्तचाप, मधुमेह, स्नायु तथा हर्मोनसम्बन्धी रोग लाग्न सक्छ । ढाडलाई आराम दिन समय नहुने, बढी बसिरहने वा उठिरहने, खराब आसनमा बसिरहने, सामान उठाई रहनुपर्नेलाई ढाडको समस्या हुन्छ । व्यायाम वा शारीरिक श्रम गर्न नरुचाउनेलाई मोटोपन, मोटोपनसँग सम्बन्धित रोग जस्तै हड्डी खिइने, मुटु तथा रक्तनलीका रोग तथा मधुमेह आदि हुन सक्छ ।
यस्तै आरामका निम्ति समय नै नहुनेहरू, सधैँ कुनै न कुनै काममा शारीरिक रूपले लागिरहनेहरू वा सधैँ काममा दौडधुप गरिरहनुपर्नेहरूलाई शरीर खिइने वा टुटफुट हुने, मांसपेशी कडा भई दुख्ने किसिमका समस्या देखा पर्न सक्छन् । व्यभिचारीलाई एड्स, हेपाटाइटिस बी, यौन रोग आदि हुने सम्भावना बढी हुन्छ ।
६.एक रोग– एक उपचारको सिद्धान्त
जति नामकरण गरे पनि मूलभूत रूपमा रोग एउटै छ र रोगको कारण पनि एउटै छ । त्यो हो शरीर वा मनमा विजातीय पदार्थले बास गर्नु । चाहे त्यो रोगाणु होस् वा विष–सञ्चय वा दोष–सञ्चय वा विषको उत्पादन वा सेवन होस् । यस सैद्धान्तिक आधारले रोग एउटै छ र त्यसको उपचार पनि एउटै छ भन्ने कुरा प्रस्ट पार्दछ ।
यसलाई अझै राम्ररी भन्नुपर्दा अधिकांश रोगको मुख्य कारण शरीरमा नचाहिने पदार्थ विकार/विजातीय र शरीरबाट बाहिर फ्याकिनुपर्ने पदार्थ जस्तै युरिया, युरिक एसिड जस्ता विभिन्न मेटाबोलिज्मका अन्तिम पदार्थ वा शरीरमा हुन नपर्ने रोगाणु आदि जम्मा हुनु, ठूलो आन्द्रामा मल सञ्चय, रक्तदोष, नकारात्मक विचार र औषधिको गलत प्रयोग आदि नै हुन् ।
शरीरलाई आवश्यक नभएका वा हानि गर्ने विजातीय पदार्थहरू हाम्रा गलत खानपान, जीवनशैली, गलत शारीरिक अवस्था, अधिक वा कम श्रम/व्यायाम, तनाव, नकारात्मक विचार आदिका कारण नै शरीर वा मनमा जम्मा हुन्छन् । रोग लगाउन मद्दत गर्ने रोगाणु पनि शरीरमा मेल नखाने विजातीय जीव नै हुन् । तसर्थ रोगको उपचार भनेको शरीरबाट विजातीय पदार्थ निष्कासित गर्नु, कब्जियत हुन नदिनु, पाचनको ख्याल गरी भोजन गर्नु, व्यायाममा सात्विक हुनु, वातावरणीय प्रदूषण र फोहोरमैलाबाट बच्ने उपाय गर्नु र हर्मोन एवं ग्रन्थीको सन्तुलन मिलाउनु, रोगाणुको सफाया गर्नु नै हो ।
रोग भगाउने मूल चिकित्सा पनि एउटै छ । त्यो हो शरीरमा जीवनशक्ति र रोग प्रतिरोधशक्ति बढाई विजातीय भारलाई निष्कासित गर्नु । रोगको मूल कारण एक छ र रोगको मूल उपचार पनि एक नै छ ।
७. तीव्र रोगहरू हाम्रो शत्रु हैन मित्र हुन्
आधुनिक चिकित्सा विज्ञानका मार्गदर्शक, प्रणेता एवं औषधिशास्त्रका पिता हिप्पोक्रेट्सले भनेका छन्, “मलाई ज्वरो देऊ म सम्पूर्ण रोग ठिक गर्दछु ।”
हरेक तीव्र रोग शरीर ठिक गर्ने उपचारात्मक र रोकथामका प्रक्रिया हुन् र यिनले रोग लगाउने कारण तथा पदार्थहरू शरीरबाट बाहिर निष्कासन गर्न सहयोग गर्छन् । जस्तैः
क. खान नहुने मट्टीतेल, साबुन, रक्सी, कीटाणु, विषाणु भएको दूषित पानी वा खाना पेटमा पुगेमा स्वतः बान्ता भई बाहिर निस्कन्छ ।
ख.धुवाँ–धूलो, कीटपतङ, कीटाणु, विषाणु आदि नाकबाट श्वासमार्गमा पसेमा तुरुन्त हाँच्छ्युँ आउँछ, रुघा लाग्छ र त्यसमार्फत ती नचाहिने पदार्थ शरीर बाहिर निकालिन्छन् ।
ग. खान नहुने पदार्थहरू, कीटाणु, विषाणु भएको दूषित पानी वा खाना आन्द्रामा पुगेमा स्वतः शरीरले बाहिर फ्याक्ने प्रक्रिया नै झाडापखाला हो ।
घ.शरीरलाई नचाहिने र हानि गर्ने कुनै पनि पदार्थ वा कीटाणु, विषाणु शरीर वा रगतमा पुगेमा त्यसलाई मार्न वा खतम गर्न स्वतः शरीरको तापक्रम बढ्न जान्छ । जसलाई ज्वरो भनिन्छ ।
८.शरीरले आफ्नो रोग आफैँ ठिक गर्दछ ।
कुनै पनि बाहिरी तत्व वा रोगाणुले शरीरमा प्रवेश गरेमा हाम्रो शरीरमा भएका सैनिक अर्थात् रोग प्रतिरक्षा प्रणालीले त्यसलाई तुरुन्तै मार्दछ । काटिएको भाग शरीरले आफैँ जोड्छ । भाँचिएको हड्डी नचलाई राख्यो भने जस्ताको तस्तै जोडिन्छ । भाँचिएको कुनै पनि हाड जोडिन प्लास्टर नै गर्नु पर्छ भन्ने छैन । रगत बगिरहेको आफैँ जम्छ र रोकिन्छ । बढी खाँदा वा विष खाँदा उल्टी हुन्छ । घाउ वा चोटपटकमा विभिन्न किसिमका कोषले टाल्ने, जोड्ने, रक्तस्राव रोक्ने, नयाँ कोष उमार्ने आदि भई मर्मतका काम सम्पन्न हुन्छन् । यी सबै प्रक्रिया स्वतः चलिरहन्छ ।
यी सबै प्रक्रियालाई जीवनशक्तिले काम गराइरहेको हुन्छ । शरीरमा रहेका हरेक कोषमा जीवनशक्ति रहेको हुन्छ र हरेक कोषले आफूलाई स्वस्थ राख्न सक्ने र आफ्नो सुरक्षा तथा मर्मतको सामथ्र्य राख्छ । हामीले प्राकृतिक
आहारविहार अपनाएर शरीरलाई त्यसका निम्ति अवसर प्रदान गर्नु पर्छ । जबसम्म जीवनशक्ति ठिक छ तबसम्म रोग लाग्न सक्दैन वा रोग लागेमा पनि चाँडै नै ठिक हुन्छ । जीवनशक्ति बढाउन जीवनशैली, योग र प्राकृतिक चिकित्साभन्दा राम्रो अन्य अरू पद्धति छैन ।
९.व्यायामले पोषण र विकार तत्व निष्कासन प्रक्रियालाई सन्तुलनमा ल्याउँछ
संसारका सबै वस्तु चालमा छन । पृथ्वी, सूर्य, तारा, चन्द्रमालगायत सूक्ष्म परमाणुसमेत गतिशील छन् । यिनको चाल रोकिए स्वतः प्रलय आउँछ । हाम्रो शरीरका अङ्गलाई पनि चलाउन छाडे सुक्दै जान्छन् । विचार आउन जान छाडेमा मानसिकता निष्क्रियता विकसित हुन्छ । खाना जुन रूपले आन्द्रामा अगाडि बढिरहनुपर्ने हो त्यो भएन भने पनि रोग लग्छ । त्यसैले शरीरलाई पनि नियमित रूपमा गतिशील राखिरहनु पर्छ । जबसम्म हामी गति वा शारीरिक श्रम वा व्यायाम रहन्छौँ तबसम्म हामी स्वस्थ रहन्छौँ । शारीरिक श्रम अनुसार खाना खानु पर्छ होइन भने रोग लाग्छ ।
१०. शरीर कमजोर हुँदा रोगाणुले बिरामी बनाउन सक्छन्
जीवनशक्ति र रोग प्रतिरोध शक्तिमा आँच आएका बेला वा कम भएका बेलामा रोगाणुले रोग लगाउने र रोग बढाउन सहयोग गर्छन् । यी कीटाणु, विषाणु, परजीवी आदि शरीरमा जीवनतìव वा रोग प्रतिरोधात्मक क्षमताको कमी वा रोगी अवस्थामा अझै बढी खतरनाक भएर निस्कन्छन् ।
हरेक दिन हामी अर्बौं रोगाणुसँग संसर्गमा आएका हुन्छौँ । श्वासप्रश्वास, मुख, आँखा, कान र छालाबाट रोगाणुले शरीरमा प्रवेश गरिरहेका हुन्छन् । यति हुँदा पनि हामी स्वस्थ नै छौँ । कसरी ? किनकि हाम्रो रोगप्रतिरोध शक्तिले ती सबै रोगाणुलाई मारेर हामीलाई स्वस्थ राखेका हुन्छन् ।
तर अप्राकृतिक जीवन जिउँदा, शरीरमा विजातीय द्रव्य सङ्कलन हुँदै जान्छ त्यसले यो रोगप्रतिरोध शक्ति वा जीवनशक्ति क्षीण हुँदै जान्छ । जसले गर्दा रोगाणुले सजिलै आक्रमण गर्न सक्छन् ।
११. व्यक्तिको आत्मशक्ति, विश्वास र सङ्कल्पले स्वस्थ बनाउँछ
स्वस्थ रहन होस् या रोग उपचार गर्न आफ्नो धैर्य, आत्मशक्ति, विश्वास र रोगमाथि विजय पाउने सङ्कल्पलाई अझ दरिलो पार्नु पर्दछ । थुप्रै रोगी त निराश भएर आफ्नो जीवनलाई नै सरापिरहेका हुन्छन् । उनीहरू डाक्टर, परिवारजन आदिसँग पनि रुष्ट हुन्छन् । उनीहरूलाई थाहा छैन रोग ठिक गर्ने बाटो उनीहरूकै हातमा छ भनेर । औषधि खाएर मात्रै रोगमाथि विजय सम्भव छैन । रोग ठिक गर्न त आफ्नो खानपान, चालचलन, बानीबेहोरामा परिवर्तन ल्याउनु एकदम आवश्यक छ । यसका निम्ति आत्मशक्ति, धैर्य, विश्वास र सङ्कल्प चाहिन्छ ।
१२. महाभूत सन्तुलनको सिद्धान्त
हाम्रो शरीर पनि ब्रह्माण्डमा पाइने पञ्चमहाभूतबाट बनेको छ । यी भूतादि पदार्थको शरीरमा अधिक सञ्चय एवं अधिक क्षय भयो भने हाम्रो स्वास्थ्य स्वस्थितिमा नै रहन सक्दैन । यसर्थ पञ्चमहाभूतको सन्तुलनबाट रोगको उपचारको उपाय खोज्नु पर्दछ ।
१३. प्रकृति नै सर्वश्रेष्ठ चिकित्सा सिद्धान्त
प्राकृतिक चिकित्साले विश्वास गर्दै आएको अर्को मूलभूत सिद्धान्त भनेको प्रकृति नै सर्वश्रेष्ठ चिकित्सकको सिद्धान्त हो । यो सिद्धान्तले प्रकृतिमा पाइने उपचार क्षमताको महत्वलाई जनाउँछ । आधुनिक औषधिको विकासभन्दा अगाडि मानिस स्वास्थ्यमै सुधार ल्याउन हावा, पानी, घाम, जडीबुटी र ताजा खाना जस्ता प्राकृतिक तत्वमा भर पर्थे ।
प्रकृतिले केवल शारीरिक उपचार मात्र होइन मानसिक र भावनात्मक सन्तुलन कायम राख्न पनि मद्दत गर्छ । घामको किरणले शरीरमा भिटामिन–डी उत्पादन गर्छ । जुन हड्डी र प्रतिरक्षा प्रणालीका लागि आवश्यक हुन्छ । शुद्ध हावा र पानी स्वास्थ्यको आधार हुन् । घाँसमा नाङ्गो खुट्टा हिँड्नु वा हरियाली क्षेत्रमा गहिरो सास फेर्नु जस्ता सामान्य क्रियाकलापले समेत शान्ति र ताजगी दिन सक्छ ।