एस् ए टी भी १३ ज्येष्ठ, काठमाडौंः आज नेपालको संघीय राजधानी काठमाडौँमा एभरेस्ट अलायन्स नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय एभरेस्ट समिटर्स समिट २०२५ सफलतापूर्वक सम्पन्न भएको छ। यो कार्यक्रम विश्वभरका आरोहणकर्ता र सरोकारवालाहरूलाई एकत्रित गर्दै हिमालयको दिगो भविष्यको लागि साझा प्रतिबद्धता जनाउने महत्वपूर्ण कोशेढुङ्गाको रूपमा स्थापित भएको आयोजकले जनाए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेले आरोहण क्षेत्रमा शेर्पाहरूको अडिग समर्पण र महत्वपूर्ण योगदानको प्रशंसा गर्दै भने, “हामीले शेर्पाहरूको शारीरिक र भौतिक सहयोगको कदर गर्नुपर्छ, जसले गर्दा एभरेस्ट जस्ता उच्च शिखरमा आरोहण सफल र सुरक्षित हुन्छ।” उनले आरोहण क्षेत्रको सहजताको लागि कानुनी अथवा अन्य भौतिक संरचना र पूर्वाधारको विकासको आवश्यकता औंल्याउँदै दिगो र सुरक्षित आरोहण अभ्यासको लागि सरकारको प्रतिबद्धता व्यक्त गरे।
आयोजनाका अध्यक्ष सुदर्शन नेपालले उद्घाटन सन्देशमा भने, “यो समिटले १६ देशका १७७ भन्दा बढी आरोहणकर्ताहरूलाई एकत्रित गर्दै दिगो पर्यटन, वातावरणीय संरक्षण र हिमाली समुदायहरूको सशक्तिकरणका विषयमा छलफल गर्ने अवसर प्रदान गरेको छ।”
समिटको मुख्य आकर्षणमा शेर्पा गाइड कान्छा शेर्पालाई १९५३ को एभरेस्ट आरोहणमा ऐतिहासिक योगदानको लागि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। साथै समिटमा विभिन्न समय खण्डमा सगरमाथा आरोहण गरेका नेपाल तथा अन्य राष्ट्रका आरोहीहरूलाई सम्मान पनि गरिएको थियो। यसै क्रममा चीनकी सबै भन्दा कान्छी सगरमाथा आरोही सु चोउ युआनले पनि सम्मानपत्र प्राप्त गरेकी थिइन्।
समिटमा प्रमुख अन्तर्राष्ट्रिय र राष्ट्रिय संस्थाहरू जस्तै ICIMOD, IUCN, WWF, ZSL र NTNC का प्रतिनिधिहरूले हिमालयको दिगो संरक्षणका लागि साझा प्रयासको आवश्यकता औंल्याए। साथै, महिला आरोहणकर्ताहरूको सहभागिता, आधुनिक आरोहण प्रविधि र जलवायु परिवर्तनका प्रभावका विषयमा सेमिनारहरू पनि आयोजना गरिए।
“एभरेस्ट हाम्रो गर्व, पहिचान र अब हाम्रो जिम्मेवारी हो” भन्ने मूल नारासहित सम्पन्न यस समिटले हिमालयको संरक्षण र दिगो आरोहण अभ्यासको लागि नयाँ विश्वव्यापी प्रतिबद्धता जनाएको छ।