पर्वतको मोदी गाउँपालिकाबाट नयाँ प्रजातिको फट्यांग्रा भेटिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको गोरखाको घ्याल्चोकमा रहेको कृषि विज्ञान केन्द्रमा कार्यरत मदन सुवेदीले विज्ञानका लागि नयाँ प्रजातिको फट्यांग्रा अभिलेख गरेका छन् । ‘बाजुङको भीरफड्के’ नेपाली नाम दिइएको यो फट्यांग्राको वैज्ञानिक नाम ‘स्केयोटेट्टिक्स कासलो सुवेदी,२०२३’ दिइएको छ ।
यो नयाँ प्रजातिको अभिलेखसँगै नेपालमा ‘स्केयोटेट्टिक्स’ वंश(जेनस) तीनवटा फट्यांग्रा नेपालबाट अभिलेख भएका छन् । सुवेदीले गरेको अभिलेखसँगै नेपालबाट अभिलेख भएका फट्यांग्राका प्रजातिको संख्या ३ सय ११ कटेको छ । सुवेदीले अभिलेख गरेको फट्यांग्रा यसै साता ‘जर्नल अफ अर्थोप्टेरा’ मा प्रकाशित छ ।
फट्यांग्रा प्रजातिमा विगत ४ वर्षदेखि काम गर्दै आएका सुवेदी कृषि अधिकृतको रुपमा गण्डकी गाउँपालिका ७ घ्याल्चोकमा कार्यरत छन् । सुवेदी गत वर्ष दसैं मनाउनका लागि भनेर घर गएकै बेला उनले यो प्रजाति फेला पारेका हुन् । पर्वतको मोदी गाउँपालिका–५ को पानी खोलामा किरा खोज्ने क्रममा उनले यो प्रजातिको फट्यांग्रा देखेका थिए । सुवेदी भन्छन्, ‘पानी खोलामा मैले एउटा मात्रै देखेँ । त्यही दिन ममाथि बस्नी गाउँ पुगेँ । त्यहाँ पनि एउटा देखेँ । काफ्लेको पाखोमा हेर्दा धेरै नै प्रजाति भेटियो ।’ काफ्लेको पाखोमा धेरै नै भेटिएपछि उनले यो प्रजातिको संकलन गरेर ज्ञान केन्द्रमा राखे । त्यसपछि उनी उक्त ठाउँमा एक महिनासम्म बारम्बार निगरानी गरे र निष्कर्षमा पुगे, प्रजातिको मुख्य बासस्थान ।
स्केयोटेट्टिक्स कासलो
भेटिएको नयाँ प्रजाति स्केयोटेट्टिक्स वंश (जेनस) को फट्यांग्रा रहेकोमा उनी विश्वस्त थिए । उनैले फट्यांग्राको नयाँ वंश (जेनस) ‘स्केयोटेट्टिक्स सुवेदी, २०२२ पत्ता लगाएका थिए । यो वंशअन्तर्गतको नयाँ प्रजाति पनि पत्ता लगाएका थिए । जसमा स्केयोटेट्टिक्स नेत्रज्योति पत्ता लगाएर व्याख्या गरेका छन् । उक्त प्रजातिबारे अघिल्ल्लो वर्षको कात्तिकमा ‘जु ट्याक्सा’ जर्नलमा प्रकाशित छ । सोही अध्ययनमा उनले कोप्टोटेटिक्स वंशको एउटा फट्यांग्रालाई स्केयोटेट्टिक्स वंशमा ल्याएका थिए । उक्त फट्यांग्रा स्केयोटेट्टिक्स मुग्ललिंगी रहेको छ । सुवेदीले गत वर्ष यो वंशको ‘स्केयोटेट्टिक्स नेत्रज्योति’ नामको फट्यांग्रा अभिलेख गरेका थिए । यो वंशको नेपालबाट अभिलेख भएको अर्को प्रजातिचाहिँ स्केयोटेट्टिक्स मुग्लिङ्गी हो ।
सुवेदीले पत्ता लगाएको नयाँ प्रजति स्केयोटेट्टिक्स कासलोको विशेषता उनले पत्ता लगाएको स्केयोटेट्टिक्स वंशसँग मिल्दो जुल्दो भएकाले थप अध्ययन गरेका थिए । अध्ययनका क्रममा यो वर्गका अन्य दुई प्रजातिहरु मुग्लिंगी र नेत्रज्योति चितवन, तनहुँ, गोरखा र कपिलवस्तुका कम उचाईका उपोष्ण क्षेत्रहरूमा भेटिएका थिए भने समुद्री सतहभन्दा ५ सय मिटरभन्दा कम क्षेत्रबाट रिपोर्ट गरिएको थियो ।
अहिले अभिलेख भएको नयाँ प्रजाति भने शितोष्ण हावापानी भएको १६ सय मिटरदेखि करिब २ हजार मिटरसम्मको उचाइमा पाइएको हो ।
स्केयोटेट्टिक्स कासलो
बाजुङका भीरपाखामा पाइने भएकाले उनले यसको नामकरण बाजुङको भीरफड्के नामकरण गरिदिएका छन् । वैज्ञानिक नामचाहिँ उनले आफ्नो सहकर्मीको नाम जेडिदिए । जसमा निको कासलोको थरबाट उनले फट्यांग्राको अध्ययनमा गरेको योगदानलाई कदर गर्दै राखिदिएका हुन् । निको कासलोले भुइँफड्को अध्ययन गर्ने क्रोएसियाका अनुसन्धानकर्ता हुन् ।
यो प्रजातिको पूरा नाम स्केयोटेट्टिक्स कासलो सुवेदी, २०२३ भनेर लखिएको छ । यो प्रजाति यही वर्गमा हुने भएकाले उनले योसिप स्केयो, निको कासलो र मदन सुवेदीलाई एउटै सूत्रमा बाँधिदिएको उल्लेख गरेका हुन् ।
स्केयोटेट्टिक्स नेत्रज्योति
सुवेदीले पत्ता लगाएको यो प्रजातिमा विभिन्न भिन्नताहरु छन् । यअसघि भेटिएका प्रजातिहरूमा प्रोनोटम र पखेटा दुवै छोटा थिए भने नयाँ प्रजातिको लामा र छोटा दुवै किसिमका छन् । प्रोनोटम भनेको पछाडिको भाग हो । यो प्रजातिमा एन्टिनाको स्थान अन्य प्रजातिहरुको तुलानामा तल हुन्छ । भित्री पखेटाहरू तुलनात्मक रुपमा लामा, मध्यस्थ उकास अन्य प्रजातिहरुको तुलानामा उबडखाबड, पातामुनिको भागको आकार मध्यम र अन्य प्रजातिको तुलनामा चौडा स्कुटेलम रहेको छ । स्कुटेलमचाहिँ दुईवटा एन्टिनाबीचको भाग हो । एन्टिना भनेको कीराको अगाडिबाट निस्किएको दुईवटा चुच्चो (सिङ) हो ।
सुवेदीले अभिलेख गरेको यो फट्यांग्रा अन्य मुलुकहरूमा अभिलेख गरिएको छैन । अहिलेसम्म नेपालबाटै मात्रै भेटिएकाले यो नेपालमा मात्रै पाइने फट्यांग्रा भन्न पनि मिल्ने उनले बताए । यो प्रजातिको नंग्रा (क्लज) पनि नेत्रज्योति र मुग्लिंगी प्रजातिभन्दा केही ठूलो हुन्छ ।
पानी नजिकै पाइने फट्यांग्रामा रुची भएका सुवेदीले टेट्रिगडी परिवारको तस्बिर खिच्न खाजेका थिए । यो प्रजातिका फट्यांग्राको प्रोनोटम लामो हुन्छ । लेउ, पतिंगर, काई झ्याउ खाने फट्यांग्रालााई जैविक सूचकको रुपमा लिन सकिन्छ । यो फट्यांग्रा पाइएको स्थानमा लेउहरूको उत्पादन धेरे नै छ भन्ने थाहा हुन्छ । सुवेदी भन्छन्, ‘फट्यांग्रा धेरै छन् भने लेउ तथा झ्याउहरू धेरै छन् भन्ने बुझ्नुपर्छ ।’
फट्यांग्रा भ्यागुता,माकुरासँगै चराचुरुंगीको आहारा पनि हुन् । सुवेदीले अभिलेख गरेको यो फट्यांग्रा १ देखि २ सेन्टिमिटरसम्मको हुन्छ । यसको अभिलेख भर्खरै भएकाले यो प्रजातिले कसरी फूल पार्छ, के गर्छ, अरु कुन कुन ठाउँमा पाइन्छ भन्ने सवालमा अध्ययन हुन बाँकी छ । उनले अभिलेख गरेको फट्यांग्राचाहिँ हानिकारक होइनन् ।
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट इन्टमोलोजीमा स्नातकोत्तर पूरा गरेका सुवेदीले चितवन र पर्वतका धानखेतमा पाइने फट्यांग्राको पनि अध्ययन गरेका छन् । उनको अध्ययनले चितवनको रामपुर, पवर्तको कालीमाटी र काइरिम्टाका धान खेतहरूमा २५ प्रजातिका फट्यांग्रा पाइने गरेको उल्लेख छ । धानखेतमा धेरै प्रजातिको फट्यांग्रा हुँदा नराम्रो मानिन्छ । ती सबै हानिकारक फट्यांग्रा थिए । उनी अघिल्लो दुई साताअघि मात्रै आईयूसीएनको ग्रासहोपर स्पेसलिस्ट ग्रुपमा पनि चयन भएका छन् ।
अनुसन्धानकर्ता सुवेदी
किटविज्ञ एवं सहप्राध्यापक दयाराम भुसाल फट्यांग्राको पखेटा अन्य किराहरूको भन्दा दाह्रो हुने बताउँछन् । नेपालको सन्दर्भमा फट्यांग्राहरू कम अध्ययन भएका किराहरूमा पर्ने उनले बताए । फट्यांग्राहरू इन्सिक्टाको आर्थोप्टेरा अर्डरमा पर्छन् । नेपालबाट अध्ययन धेरै नहुँदा नयाँ प्रजातिहरू फट्यांग्रा पारस्थितिकीय प्रणालीलाई सहयोग नि गर्छन्‚ केही हानिकारक पनि छन् ।
धेरैजसो धान र मकैलाई आक्रमण गर्ने खालका पनि छन् । सलह पनि फट्यांग्राभित्र नै पर्छ । ‘कहिले कलिलो मुनाहरू खान्छन् । यिनको महत्त्व पनि छ र घाटा पनि गराउँछन्,’ भुसालले कान्तिपुरसित भने ।