नेभिगेसन मेनु

कोपाइलटको अभावमा दुबई उडान १२ घण्टा ढिला
सम्पादक:南亚网络电视
समय:2023-04-03 17:41

thumb

काठमाडौँ — शनिबार मध्यरात बोर्डिङ पास लिएर पनि अन्तिम समयमा रद्द उडानका यात्रुलाई नेपाल वायुसेवा निगमले आइतबार उडाएको छ ।

निगमको वाइडबडी विमान उड्नै लाग्दा कोपाइलटको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति काठमाडौं–दुबई–काठमाडौंको उडान कम्तीमा १२ घण्टा ढिला भएको हो । उडान ढिला हुँदा दुवैतर्फ कम्तीमा ५ सय ४३ यात्रु अलपत्र परेका थिए ।

निगम प्रवक्ता रमेश पौडेलका अनुसार उक्त उडानबाट अमेरिका, युरोपलगायत तेस्रो गन्तव्य मुलुक जानुपर्ने ६६ यात्रुमध्ये ९ जनालाई आइतबार बिहान र बाँकी ५७ जनालाई आइतबार राति अरू वायु सेवाबाट पठाइएको छ । निगम व्यवस्थापनले क्याप्टेनसँगै उड्ने अर्को जगेडा कोपाइलट समयमै व्यवस्था गर्न नसक्दा शनिबार राति १२ बजे दुबईका लागि तय गरिएको आरए २२९ नम्बरको उडान स्थगित भएको थियो । बोर्डिङ पास लिइसकेपछि पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न नपाएका २ सय ६६ यात्रुलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरूमा राखिएको थियो ।

अन्तिम समयमा जहाज नउडाएको भन्दै यात्रुहरूले विमानस्थलमै नाराबाजी गरेका थिए । उनीहरूले आइतबार बिहानै न्युरोडस्थित निगम कार्यालयमा पुगेर पनि व्यवस्थापनविरुद्ध हुटिङ गरेका थिए ।

निगम स्रोतका अनुसार दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि तय भएको यसै विमानको (आरए २३०) उडान पनि रद्द गरिएको थियो ।

उक्त उडानबाट काठमाडौं आउने यात्रुलाई पनि दुबईमा रहेको निगमको स्टेसनले आफ्नै खर्चमा होटलमा राखेको छ । शनिबार रातिको रद्द उडान आरए २२९ आइतबार बिहान ११ बजेपछि दुबईका लागि उडेको थियो । शनिबार राति साढे १० बजे दिल्लीबाट फर्केको निगमको वाइडबडी विमान मकालुलाई दुबई उडानका लागि राखिएको थियो । त्यो जहाज दिल्लीबाट उडाएर ल्याउने क्याप्टेन योगेश हिराचन र कोपाइलट गोपालसिंह बिष्ट नै दुबई जानुपर्ने तालिका थियो । तर, पेटमा भएको गडबडीले अस्वस्थ भएको भन्दै कोपाइलट बिष्टले ‘सिक रिपोर्ट’ गरेका थिए । उनी अस्वस्थ भएपछि निगमको फ्लाइट अपरेसनले बिदामा रहेका पाइलटको खोजी गर्दा एक जना क्याप्टेनलाई दुबई उडानका लागि अनुरोध गरेको थियो । तर, ती क्याप्टेनले मदिरा सेवन गरिसकेकाले आफू उड्न नसक्ने जानकारी दिएपछि निगमको काठमाडौं स्टेसनले दुबई उडान रद्द गरेको उडानमा संलग्न एक कर्मचारीले बताए ।

निगमसँग दुइटा वाइडबडी विमान छन् । यिनका लागि ६ जना कोपाइलट र ८ जना क्याप्टेन छन् । यो संख्या पर्याप्त होइन । ‘केही पाइलट तालिममा, केही विदेशका स्टेसनमा नाइट स्टपमा, केही अर्को जहाजमा भएकाले शनिबार कोपाइलट नै पाइएन,’ वाइडबडी विमानका एक अर्को पाइलटले भने, ‘हाम्रो व्यवस्थापनले १०/१२ जना कोपाइलट तयार पारिसक्नुपर्ने अवस्था छ । तर, व्यवस्थापनलाई उडान व्यवस्थापनको ज्ञान नै छैन ।’

दुबई उडान रद्द घटनामा छानबिन हुने

कोपाइलट बिरामी भएपछि दुबई उडान १२ घण्टा ढिलो भएको घटना छानबिन गर्न निगमले छानबिन समिति बनाएको छ । निगम प्रवक्ता पौडेलका अनुसार नायब महाप्रबन्धक जनकराज कालाखेतीको संयोजकत्वमा आइतबार कार्यकारी अध्यक्ष युवराज अधिकारीले तीन सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिले शनिबार रातिको घटनाको छानबिन गरी सुझावसहितको प्रतिवेदन तीन दिनभित्र कार्यकारी अध्यक्षलाई दिनुपर्ने भनिएको छ । समितिमा निगमको न्यारोबडीका क्याप्टेन सुरज भण्डारी र कार्यकारी अध्यक्षको कार्यालयका प्रबन्धक नारायण पौडेल सदस्य छन् ।

यसैबीच निगमको संस्थागत विभागकी निर्देशक अर्चना खड्कालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएर निगमको वाणिज्य विभागका उपनिर्देशक रमेश पौडेललाई ल्याइएको छ । त्यस्तै कार्यकारी अध्यक्ष अधिकारीले निगमको अपरेसन विभागका निर्देशक क्याप्टेन रवीन्द्र शेरचनलाई पनि जिम्मेवारीबाट पदमुक्त गर्ने निर्णय गरेका छन् । उनको स्थानमा न्यारोबडीका क्याप्टेन उद्धव घिमिरेलाई पत्र दिइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर