उनी विक्रमसंवत् २००३ सालमा जन्मिएकी हुन् । उनी जन्मिँदै २५ या २६ वर्षकी थिइन् । सुन्दर, परिपक्व र सचेत ! उनले कहिल्यै बामे सर्नै परेन । कहिल्यै तोते बोली बोल्नै परेन । उनलाई आमा–बाबुले आफ्नो काखमा राखेर हुर्काउनै परेन । एकैपटक २५ या २६ वर्षमा जन्मनुको यही फाइदा हो । तर, बेफाइदा पनि कतिकति ! उनले बालापनलाई अनुभूत नै गर्न पाइनन् । उनी जन्मँदै कृष्णकी ‘स्वास्नी’ भएर जन्मेकी थिइन् । जन्मँदै कृष्णलाई आसक्त बनाउने देह र बैंससहित जन्मिएकी थिइन् ।
होइन त अद्भुत कुरा ? तर, यो सत्य हो । उनको नाम हेलेन हो । उनीबारे विस्तारमा बुझ्न तपाईं विक्रम संवत् २००३ सालमा प्रकाशित गोपालप्रसाद रिमालद्वारा लिखित ‘मसान’ (नाटक) पढ्न सक्नुहुन्छ । यसका निकै संस्करण प्रकाशित भइसकेका छन् । यो तपाईंको घरको लाइब्रेरीमा उहिलेदेखि सजाएर राखिएको पनि हुन सक्छ । नभए तपाईंको छोराछोरी, दाजुभाइ, दिदीबैनी, भतिजा–भतिजीका कलेजका किताबका खातमा कतै थिचिएर चुपचाप बसेको हुन सक्छ । किताब चुपचाप बस्नु राम्रो कुरा होइन । किताबसित त वार्तालाप गरेकै राम्रो । जीवन्त किताबहरू प्रायः आफूलाई पल्टाउने पाठकहरूका रुमानी औंलाहरूको पर्खाइमा हुन्छन् । ‘मसान’ ले तपाईंका मादक औंलाहरूलाई पर्खिरहेको हुन सक्छ ।
‘मसान’ हेलेनको आत्मकथा होइन । तर, यो पढेर तपाईं उनको जीवनको एउटा पाटोसँगै उनको सोच, नियति र छटपटीलाई बुझ्न सक्नुहुन्छ । किताब पातलो छ । हिमालयन जाभामा बसेर अमेरिकानो पिउँदै तपाईं एक सिटिङमै पढेर सिध्याउन सक्नुहुन्छ । साझा प्रकाशनबाट छापिएकाले यसको मूल्य पनि सस्तो छ । हेलेनलाई बुझ्न सय, सवा सय खर्च गर्न तपाईंले पक्कै लोभ गर्नुहुनेछैन ।
यतिखेर रातिको नौ बजेको छ र म आफ्नो शयनकक्षमा छु । आजै मेरो विवाह भएको हो । प्रेम विवाह । हेलेनसित । २५ वर्षकी हेलेनसित । २००३ सालमा जन्मिएकी हेलेन, विक्रमसंवत् २०७९ सालसम्म पनि उस्तै राम्री र जवान थिइन् । शरीर उस्तै पुष्ट र मादक ।
किताबका युवतीहरू कहिल्यै बूढी नहुने रहेछन् ।
मैले हेलेनलाई केही महिनाअघि मात्रै बालाजुको बाइसधारामा भेटेको थिएँ । वास्तवमा म उनी नै हेलेन हुन् भनेर कहाँ चिन्न सक्थें र ! संयोगले त्यही बिहान मैले ‘मसान’ पढेको थिएँ । खासमा साहित्यप्रति असीम अनुराग भए पनि यत्तिका वर्षसम्म मैले ‘मसान’ पढेकै थिइनँ । रिमाल बूढाले हेनरिक इब्सेनको नाट्यकृति ‘द डल्स हाउस’ बाट प्रभावित या प्रेरित भई यो नाटक लेखेको भन्ने थाहा भएकाले पनि होला, मेरो मनमा यसको मौलिकताबारे गहिरो संशय थियो । तर, मेरा पिताजी स्वयम् त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयका अवकाशप्राप्त प्राध्यापक हुनुहुन्छ । केही महिनाअघि मात्रै उहाँले ‘मसान’ का विषयमा लेखेको लामो समालोचना नेपाल प्रज्ञा प्रतिष्ठानको ‘समकालीन साहित्य’ भन्ने पत्रिकामा छापिएको थियो । उहाँले नै मलाई आफ्नो समालोचना पनि पढ्न दिनुभयो र ‘मसान’ पनि । त्यतिबेला उहाँले भन्नुभएको थियो, ‘नारीभित्र सुषुप्त अवस्थामा लुकी बसेको विद्रोह–चेत ढिलोचाँडो अवश्य प्रकट हुन्छ । त्यसको गतिलो उदाहरण हो– मसान । नारीका विषयमा उपन्यास लेख्न तम्सिने तँजस्ता नवोदित लेखकहरूले यो किताब पढ्नैपर्छ । यो नाट्यकृति तेरा लागि असल सन्दर्भ–ग्रन्थ हुन सक्छ ।’
पिताजीले यति भनिसकेपछि नै मैले ‘मसान’ पढ्नु जरुरी भएको थियो । संयोग कस्तो विचित्रको पर्यो भने जुन बिहान ‘मसान’ पढें, त्यही दिन दिउँसो हेलेनसित मेरो भेट भइहाल्यो ।
राति अबेरसम्म पानी परिरहेकाले ओसिलो दिन थियो त्यो । घाम लागेकै थिएन । तर, मौसमको यस्तो मनपरि चलिरहँदा पनि हेलेनको उपस्थितिले बालाजुको बाइसधारा उद्यान धपक्क उज्यालिएको थियो । रङ्गीबिरङ्गी फूलहरूले सुन्दर बगैंचा झनै सुन्दर भएको थियो । चपला–अबलाहरू हातमा गुनकेशरीको फूल लिई एकसुरमा, तर उन्मुक्त यताउता गरिरहेका थिए । प्रेम गर्नका लागि वातावरण साह्रै उपयुक्त भएको थियो ।
मैले उनलाई देख्नासाथ चिनिहालें । उनले घर छाडेर निस्केको कुरा मलाई थाहा थियो । यतिबेला उनको मनमा कति उथलपुथल भइरहेको होला भन्ने म सहजै अनुमान लगाउन सक्थें । हिजो–अस्तिसम्म सुख, सुविधा, माया र सम्मान पाइरहेको घरलाई र त्यस घरभित्र बस्नेहरूसित जोडिएका सम्बन्धहरूलाई एकाएक त्यागेर हिँड्नु एउटी नारीका लागि कम ठूलो साहसको कुरा थिएन । समाजका लागि त यो ठूलो विद्रोह थियो । यद्यपि यस्तो विद्रोहलाई सम्मान गर्ने कि नगर्ने भन्ने विषयमा समाज विभाजित थियो । तर, मैले भने किताब पढिसक्नासाथ उनको विद्रोहलाई सम्मान गरेको थिएँ ।
बालाजु उद्यानको त्यस्तो प्रेममय वातावरणमा पनि उनी उदास थिइन् । नारीलाई केन्द्रमा राखेर आफ्नो पहिलो उपन्यास लेख्ने तयारीमै भएकाले नारीको मनोदशालाई राम्ररी बुझ्छु भन्ने कुरामा म आश्वस्त थिएँ । त्यसमाथि मनोविज्ञान विषयमा हालै उच्च अङ्कका साथ स्नातकोत्तर पनि उत्तीर्ण गरेको थिएँ । त्यसैले त्यस दिन उनी नजिकैको भर्याङको खुड्किलोमा बसेर पानी बगिरहेका बालाजुका बाइसधारातिर एकतमासले हेर्दै के सोचिरहेकी होलिन् भनेर म सहजै अनुमान लगाउन सक्थें । तर, यो उनलाई हेर्दै उनको मनोदशाको विश्लेषण गर्ने बेला थिएन । यो उनीसित संवाद गर्ने र उनलाई सम्झाउने बेला थियो । त्यसका लागि मलाई उनीसित परिचय गर्नु जरुरी थियो । तर, धेरै बेरसम्म उनको छेउमा गएर उभिने आँट भएन । टाढैबाट हेर्दा पनि मलाई उनको व्यक्तित्वको विशालताले अत्याएको थियो । उनीसामु पर्दा कतै मलाई मेरै हीनतावोधले खर्लप्प निल्ने त होइन ? यो सोच मात्रैले पनि मलाई आतङ्कित पारेको थियो ।
तर, मैले मन बलियो बनाएँ । परिचय गर्दैमा केही बितिहाल्ने त होइन नि ! विनम्र भएर आफ्नो सामु आएको युवकलाई उनले पक्कै पनि ढुङ्गा हानेर लखेट्दिनन् होला । यसरी मानसिक रूपमा आफूलाई तयार बनाएपछि मैले अबेर गरिनँ । म उनीसामु गएँ । उनलाई नमस्कार गरें र औपचारिकताका लागि सोधें, ‘तपाईं नै होइन मसानकी युवती ? कृष्णकी श्रीमती ? भोटुकी माइजू ?’
उनले पुलुक्क मतिर हेरिन् । मतिर हल्का व्यङ्ग्यपूर्वक मुस्कुराएर हेरिन् अनि बोलिन्, ‘ठीक चिन्नुभयो । अझ तपाईंले मेरो परिचयमा एउटा कुरा भन्न छुटाउनुभयो, म घरमा भित्रिएकी कृष्णकी नयाँ दुलहीको सौता पनि हुँ ।’
मलाई आफ्नो गल्ती अनुभूत भयो । मैले तत्काल आफूलाई सच्याएँ र भनें, ‘उफ् ! गल्ती गरें मैले । मैले त सोझै ‘तपाईं हेलेन होइन ?’ भनेर पो सोध्नुपर्ने ! यसरी मैले तपाईंको निजी व्यक्तित्व र पहिचानलाई अरूको व्यक्तित्वसित गाँसेर बुझ्नै नहुने ।’
उनले जवाफमा यति मात्रै भनिन्, ‘रोग हो हजुर रोग । यो रोगले नारीका धेरै कुरा बुझ्नै दिँदैन ।’
रीति, परम्परा र संस्कारका नाममा युगौंदेखि मेरो चेतनामा गजधम्म बसेको पुरुष मानसिकता अन्ततः रोगकै रूपमा मभित्र रहेको त होला नि ! उनले गलत कहाँ भनेकी थिइन् र !
म एकछिन मौन भएँ । कत्ति कुरा गर्न मन थियो उनीसित ! तर, एकछिनलाई मसित कुरा सकिएजस्तै भयो । त्यसैले बडो अप्रासङ्गिक कुरा सोधें, ‘तपाईं यो उद्यानमा कतिबेलादेखि बस्नुभएको ?’
‘मसान २००३ सालमा छापियो । अहिले २०७९ साल भयो । म यहाँ बसेको त ७६ वर्षभन्दा पनि बढी भयो ।’
जवाफ दिँदै उनले पुलुक्क मतिर हेरिन् । करिब ७६ वर्षदेखि पीडाको यत्रो महासागर आफूभित्र बोकेर हिँड्दा पनि उनको सुन्दरता जस्ताको तस्तै थियो । उनी कृष्णको घर छाड्दा जस्तो थिइन्, आज पनि त्यस्तै थिइन् । ‘कृष्णजीको घर छाडेपछिका दिनहरू कता बिताउनुभयो ? एक्लो महिलालाई डेरा पाउन पनि गाह्रो भयो होला’, मैले अलिक सहज भएर सोधें ।
‘कृष्णको घर छाडेको रात मैले भूगोलपार्कको पेटीमा बिताएँ । जीवनमा पहिलोपल्ट मैले घरबाहिर रात बिताएकी थिएँ । मेरो मनमा भुइँचालो गएको थियो । त्यसबाहेक हिजोसम्म लोग्ने भनाउँदाको घरमा सुखसयलमा बसेकी मलाई सडकको पेटीमा निद्रा पर्ने कुरै पनि थिएन । त्यो रात मात्र किन ? म त्यसपछिका कुनै रात पनि निदाएकी छैन ।’
‘यसरी निद्रा नलाग्नुलाई अङ्ग्रेजीमा इन्सोम्निया भन्छन् । स्लिपिङ डिसअर्डर । उपचार गराउनु भएन ? एकपटक डाक्टर विश्वबन्धुलाई जँचाउनुभएको भए अवश्य फाइदा हुन्थ्यो’, मैले एकसाथ सहानुभूति र सल्लाह दिएँ ।
‘रोगी तपाईंको यो समाज छ, जँचाउनुचाहिँ मैले पर्ने ?’
उनको यो तिखो प्रश्नले मलाई अत्यायो । बिस्तारै भनें, ‘यो समाज त तपाईंको पनि हो नि । हैन र ?’
‘यो समाज मेरो पनि भैदिए मैले यसरी युगौंदेखि यो बाइसधाराको बगिरहेको पानी हेरेर जीवन बिताउनुपर्ने थिएन ।’
उनको कुराले मेरो मनलाई चिसो बनायो । मैले प्रसङ्ग केही बदलेर सोधें, ‘यहाँ बालाजुको बाइसधारामा चपलाअबलाहरू एक सुरमा, गुनकेशरीको फूल लिई शिरमा पानी छ्यापाछ्याप गरेर कति आनन्दले खेलिरहेका छन् ! के तपाईंलाई त्यसरी नै खेलूँ खेलूँ लाग्दैन कहिल्यै ?’
‘मनमा आनन्द भए पो खेल्नु ।’
‘मनमा किन आनन्द नभएको त ?’, मैले बुझ्दा–बुझ्दै पनि बुझ पचाएर यो प्रश्न सोधेको थिएँ । प्रत्युत्तरमा उनले भनिन्, ‘जवाफ तपाईंको पिताजीसित सोध्नुस् न । उहाँले मसानका मजस्ता पात्रहरूका बारेमा त्यत्रो समालोचना नै लेख्नुभएको छ त ।’
तर, मैले पिताजीले मसानबारे लेखेको त्यो समालोचना पढिसकेको थिएँ । त्यसमा एक ठाउँमा पिताजीले लेख्नुभएको थियो– ‘पुरुषले सधैं महिला कि आफ्नो यौन तृप्ति गर्ने साधन बनोस् भन्ने चाहन्छ कि सन्तान जन्माउने मेसिनको रूपमा रहोस् भन्ने चाहन्छ । यो पुरुष प्रवृत्ति मसान नाटकमा राम्रोसित अभिव्यक्त भएको छ । मसानमा प्रमुख पात्रका रूपमा रहेका युवती अर्थात् हेलेन, दुलही अर्थात् कृष्णकी दोस्रो श्रीमती र कृष्णकी बैनी अर्थात् बागमती, यी सबै कुनै न कुनै रूपमा पुरुष र पुरुष सत्ताबाट प्रताडित छन् । तर, यो नाटकले महिलाहरूलाई आफूप्रति भैरहेको अन्यायलाई सधैं सहेर बस्नु हुँदैन भन्ने सन्देश पनि दिन्छ । हेलेनको विद्रोहले महिलालाई ठूलो प्रेरणा र हौसला दिएको छ ।’
म निकैबेर घोरिएको देखेर उनैले भनिन्, ‘मैले आफूप्रति भएको अन्यायको विरोधमा कृष्णको घर छाडें । तपाईंका पिताजीहरूले मेरो त्यो कदमलाई विद्रोह हो भनेर विश्वविद्यालयका पाठ्यक्रम, गाइड बुक र समालोचनाहरूमा लेख्नुभयो । ती लेख र मसानबारे काठमाडौंका विभिन्न साहित्य महोत्सवहरूमा चर्चा/परिचर्चा पनि भए । तर, आजसम्म कसैले मसित ‘हेलेन, कृष्णको घर छोडेपछि तैंले कतै डेरा पाइस् कि पाइनस् ?’ भनेर सम्म सोधेका छैनन् । मलाई साहित्यको बलियो ‘पात्र’ को रूपमा त धेरै प्राध्यापक, साहित्यकार, बुद्धिजीवीहरूले स्वीकार गरे । तर, ‘व्यक्ति’ को रूपमा जब–जब म उहाँहरूको घरको ढोकामा डेरा खोज्न उभिन्छु, उहाँहरूले जहिले पनि केही नबोली ढोका बन्द गरिदिनुभएको छ । लोग्नेको घर छाडेकी ‘पात्र’ को विद्रोहबारे सम्मान साथ बहस गर्नु त उहाँहरू सबैका लागि रुचिकर विषय रहेछ । तर, त्यसरी नै लोग्नेको घर छाडेर हिँडेकी ‘नारी’ भने उहाँहरूका लागि चरित्रहीन हुने रहिछ । म कुनै दिन तपाईंको पिताजीको घरमा पनि डेरा खोज्दै गएकी थिएँ । तर, मेरो दुर्भाग्य, मसित उहाँलाई देखाउने कुनै चारित्रिक प्रमाणपत्र थिएन ।’
उनको कुरा सुनेर म धेरैबेरसम्म निःशब्द भएँ । मौनता मेरो वरिपरि व्याप्त भयो । पानी छ्यापाछ्याप गरिरहेका चपलाअबलाहरूको उन्मुक्त हाँसो पनि मैले सुनिरहेको थिइनँ । म रोएँ । ठीक त्यसरी नै रोएँ, जसरी रोएको थिएँ ‘मसान’ पढ्दा । ‘मसान’ को त्यो प्रसंग, जहाँ हेलेनले आफूलाई कृष्णले बाँझो हुने औषधि ख्वाएर सधैं तरुनी राखेर यौनतुष्टि प्राप्त हुने मेसिन बनाउन खोजेको कुरा थाहा पाउँछिन्, त्यो प्रसङ्ग उल्लेख भएको पानामा पक्कै पनि अझै मेरो आँसुको दाग बाँकी हुन सक्छ ।
...
त्यस दिनपछि पनि हेलेनसित मेरो पटक–पटक भेट भयो । म बिस्तारै उनीप्रति आकर्षित हुँदै गएँ । साथीहरूलाई भनेर हेलेनका लागि डेरा पनि खोजिदिएँ । उनीप्रतिको मेरो सदाशयताले दशकौंपछि उनको मनमा पुरुषप्रति अलिकति विश्वास पलाएको थियो ।
मप्रतिको उनको मनमा पलाएको यही विश्वास नै बिस्तारै प्रेम–भावमा परिणत भयो ।
हो, हेलन र म प्रेममा पर्यौं ।
हाम्रा प्रेमका ती दिनहरू साह्रै सुखमय थिए । मेरो मनमा त्यो सुखलाई अझै दिगो बनाउने रहर पलायो । मैले आफ्नो यो रहरबारे बताएँ । उनले भनिन्, ‘रहर त मलाई पनि छ ।’
कुरा मिल्यो । हिजो हामीले बिहे गर्यौं । यसरी ‘मसान’ की २६ वर्षीया युवती अर्थात् हेलेन अब मेरी ‘स्वास्नी’ बनिन् ।
...
मेरो शयनकक्ष थरीथरीका फूलमालाले सिँगारिएको थियो । सेतो तन्नामा गुलाफका राता पत्रहरू छरिएका थिए । कोठामा रातो गुलुप बलिरहेको थियो । र, त्यसको प्रकाशले वातावरणलाई पूरै मादक बनाएको थियो । पलङमा उनी मेरो प्रतीक्षामा बसिरहेकी थिइन् । म बिस्तारै उनको छेउमा गएर बसेँ र भनें, ‘आज आमा घरमा भैदिएको भए उहाँ तिमीजस्ती बुहारी पाएर कति खुसी हुनुहुन्थ्यो होला ।’
‘मेरो पिताजी र आमाबीच विवाह गरेदेखि राम्रो सम्बन्ध रहेनछ । सधैं झैंझगडा भैरहन्थ्यो रे । हामी सानै थियौं । एक दिन आमाले यो घर छाडेर हिँड्नुभएछ । सुरुमा उहाँ आफ्नो माइतीमा जानुभएछ । त्यतिखेर म र मेरो दाइ पनि उहाँसँग गएका थियौं । तर, त्यसपछि उहाँ अर्को पुरुषको प्रेममा पर्नुभयो रे । सबैले भन्थे– उहाँ त्यही केटासित भाग्नुभयो । अनि त हामी लाचार र आमाविहीन भएर यही घरमा फर्कियौं । बुबाले अर्को विवाह गर्नुभयो ।’
त्यो मसानको कृष्णले तिमीलाई विवाह गरेर ल्याएको रात नधोएको खुट्टाको जल ख्वायो होला । म त्यस्तो छैन । म तिमीलाई मेरो फोहोर खुट्टाको जल खान दिन्नँ । बरु म खुट्टा धोएर आउँछु । अनि जल खानू !
यी सबै कुरा हेलेनलाई भनिसकेपछि मैले फेरि भावुक भएर भनें, ‘हेर न विडम्बना, मलाई त मेरी आमाको नाम पनि थाहा छैन । नागरिकतामा पनि उहाँको नाम छैन ।’
मेरो कुरा सुनेर उनी पनि भावुक भइन् र मलाई सहानुभूतिपूर्वक हेरिरहिन् । टाढा कतै नारायणगोपाल रियाज गरिरहेका थिए– ‘केही मीठो बात गर... रात त्यसै ढल्किँदै छ ।’
हो नि ! यो त मायाको मीठो ‘बात’ गर्ने बेला पो हो ! कहाँ दुःखको बातमा समय बिताइरहेको मैले ! अनि मैले प्रसङ्ग बदलें र भनें, ‘प्यारी युवती, मेरी प्यारी हेलेन ! तिमीले जीवनमा धेरै दुःख भोगिसक्यौ । अब त्यस्तो दुःख तिमीले भोग्नुपर्ने छैन । म तिम्रो पूरापूरा ख्याल राख्नेछु । मेरो यति आम्दानी छ कि तिमीले कुनै जागिर खानुपर्ने छैन । तिमी आरामले घरभित्र मेरा लागि स्वेटर बुनेर बस्न सक्छ्यौ । कतै जानुपरे, तिमीले एक्लै जानुपर्ने छैन । सधैं म तिमीलाई तिम्रो गन्तव्यसम्म पुर्याउनेछु । म यो घर तिम्रा लागि आनन्दै आनन्दले भरिएको सुपरमार्केट बनाइदिनेछु । उहिल्यै ‘मसान’ मा कृष्णले आफ्नो यौनेच्छा पूरा गर्न तिमीलाई सधैं तरुनी बनाउन घातक ओखती ख्वाएर राखेको थियो । म त्यस्तो पटक्कै गर्दिनँ । त्यसैले मैले तिमीलाई तरुनी बनाउन आफ्नो अप्रेसन गरेर आफूलाई नै बाँझो बनाएको छु । अब तिमी सधैं आफ्नो स्वाभिमान नगुमाएरै जवान भैरहन पाउनेछ्यौ । हामीबीचको सम्मानसहितको यौनक्रीडा युगौंसम्म जारी रहनेछ ।’
अनि मायाले उनको चिउँडो उचालेर भनें, ‘त्यो मसानको कृष्णले तिमीलाई विवाह गरेर ल्याएको रात नधोएको खुट्टाको जल ख्वायो होला । म त्यस्तो छैन । म तिमीलाई मेरो फोहोर खुट्टाको जल खान दिन्नँ । बरु म खुट्टा धोएर आउँछु । अनि जल खानू !’
मैले आफ्नो कुरा सकिएपछि उनीतिर हेरें । उनी जिल्ल परेर मलाई हेरिरहेकी थिइन् । यतिबेला उनी झनै राम्री र उत्तेजक देखिएकी थिइन् ।
अब समय आएको थियो, मैले आफ्नो पाउ पवित्र बनाउने र आफ्नो गरुङ्गो पोसाक पनि उतारेर नग्न हुने ।
म बाथरुममा पसें । आफ्ना सबै पोसाक उतारे । म पूरै नाङ्गिएँ । हात–मुख धोएर तरोताजा भएँ । खुट्टा पनि साबुन लगाएर पखालें । अनि यौन उन्मादसहित नग्न अवस्थामै कोठामा आएँ । तर, म कोठामा आउँदा पलङमा हेलेन थिइनन् । बाहिर निस्कने ढोका भने खुला थियो । यति छिटो कता गइन् उनी ? म आत्तिएँ । उनलाई खोज्न बाहिर निस्कनै लागेका बेला मैले सिरानमा कागजको एउटा सानो चिर्कटो देखें । टिपें । हेलेनले छाडेको चिठी रहेछ ।
‘फेरि मबाट गल्ती भयो । म एउटा कृष्णबाट मुक्त भएर फेरि अर्को कृष्णको चङ्गुलमा फस्न पुगेछु । त्यो कृष्णलाई पनि आफ्नै आनन्द प्रिय थियो । यो कृष्णलाई पनि आफ्नै आनन्दको चिन्ता छ । बस्, त्यो कृष्ण र यो कृष्णले भन्ने शब्द र गर्ने व्यवहारहरू फरक छन् । तर, आसय उही । दुवै मलाई यौन उत्तेजना शान्त पार्ने गुडिया नै बनाउन चाहन्छन् । त्यसैले मैले फेरि अर्कोपटक पनि विद्रोह गर्नुपर्ने भयो । मैले यो घर पनि छाड्नुपर्ने भयो । म हिँडें । अब मसानका कुनै संस्करणहरूमा नखोज्नू मलाई ।’
यति पढ्दापढ्दै मलाई रिङ्गटा लाग्न थालिसकेको थियो । तर, चिठीमा अरू वाक्यहरू पनि बाँकी थिए । ती अझै बढ्ता रिङ्गटा लगाउने खालका थिए । मनमा अझै ठूलो भुइँचालो ल्याउने खालका थिए ।
‘प्रिय युवक, जाँदा–जाँदै तिमीप्रति एउटा उपकार गर्छु । तिमीलाई तिम्री आमाको नाम भनिदिन्छु । उनको नाम हो– बागमती । तिम्रो प्राध्यापक पिताबाट प्रताडित भएर माइती गएर बसेकी बागमती । कसरी चिनेनौ तिमीले
आफ्नी आमालाई ? जबकि तिमीले मसान पढेको पनि धेरै समय भैसक्यो ।’
हेलेनको चिठी मेरो हातमै थियो । चिठी राखेकै सिराननिरै थियो, ‘मसान’ को नयाँ संस्करण ।
म भने कोठाको बीचमा उभिइरहेको थिएँ । निःशब्द ! नग्न !
त्यहीबेला मलाई मेरा लेखक मित्र नयनराज पाण्डेको फोन आयो । उनले हतारिँदै सोधे, ‘यार, हेलेन अहिले मकहाँ आएकी छिन्, डेरा खोज्दै । के मैले उनलाई आफ्नो घरमा राख्नु ठिक हुन्छ ? के तिमीले मलाई उनको चरित्रको प्रमाणपत्र दिनसक्छौ ?’