नेभिगेसन मेनु

नयाँ पुस्तामा थिएटर क्रेज
सम्पादक:南亚网络电视
समय:2023-03-09 16:31

पछिल्लो समय करिअर अरू नै भए पनि आफ्नो रहर पूरा गर्न कलाकारितातर्फ लाग्ने युवाको संख्या पनि बढ्दै गएको छ । त्यसैमध्येका हुन् गोर्खाका सन्दीप वस्ती । पेसाले सेफ उनी फुर्सद हुनेबित्तिकै नाटक हेर्न थिएटर पुगिहाल्थे । नाटकका विषयमा आफूलाई पाउँथें अनि पात्र आफ्नै छाया जस्तै । त्यसैले त उनले धेरै कलाकारहरूको अभिनयको नक्कल पनि गर्थे । जस्तो कि, थिएटर हुँदै चलचित्र क्षेत्रमा स्थापित भएका बिपिन कार्की उनका आइडल हुन् । मनमा आएको आवेगलाई बाहिरसम्म ल्याउन उपयुक्त प्लेटफर्म भएकाले उनले थिएटर रोजेका हुन् । उनले भने, ‘हाम्रा मन थुप्रै रहेको विभिन्न विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गर्ने माध्यम नै थिएटर हो ।’

काठमाडौंकी १९ वर्षीय संस्कृति दुवाडीको पृष्ठभूमि भने अलिक फरक छ । सडक नाटकमा आमाले गरेका अभिनय देखेर नै नाटक बुझेकी हुन् उनले । ‘आमालाई हेर्दाहेर्दै नाटकमा आकर्षण बढ्दै गयो,’ साइकोलोजीमा स्नातक प्रथम वर्षमा अध्ययनरत संस्कृति भन्छिन् । नाटकभित्रैबाट सिक्न र महसुस गर्नपर्छ भन्ने सोचले उनी प्रशिक्षणका लागि मण्डला आइपुगेकी हुन् । उनले भनिन्, ‘सडक नाटक मात्र नाटक होइन रहेछ भन्ने लाग्यो । नाटक र अभिनय थप निखार्न प्रशिक्षण लिन आए ।’

थापागाउँस्थित मण्डला थिएटरमा अभिनय सिकिरहेका विद्यार्थी ।

मण्डला थिएटरमा १२ औं ब्याच सुरु भएको छ । अभिनयबारे जानकारी गराउने र थिएटरमा हुने अभिनयको चिरफार गर्ने उद्देश्यले मण्डला थिएटरले हरेक वर्ष प्रशिक्षण दिँदै आइरहेको छ । तीन महिनासम्म चल्ने प्रशिक्षणमा २५ जना सहभागी छन् । पछिल्लो समय थिएटरमा रुचि राख्ने युवापुस्ता बढ्दै गइरहेका मण्डलाका कलाकार विजय बराल बताउँछन् । उनी भन्छन्, ‘प्रशिक्षणका लागि ८० जनाको आवेदन परेकामा हामीले छनोट गरेर २५ जनालाई प्रशिक्षण दिन लागेका हौं ।’ उनका अनुसार प्रशिक्षण लिएकालाई नाटकमा अभिनय गर्ने अवसर पनि दिइन्छ ।

मण्डला थिएटरमा अभिनयको प्रशिक्षण दिँदै कलाकार विजय बराल ।

नाटकघर, कला र नाटक प्रशिक्षणलाई खासगरी सहरले मात्र चिन्छ । तर जुम्लाका धनराज सुनार भने कर्णालीलाई नाटक चिनाउने अभियानमा छन् । त्यसका लागि शिल्पी थिएटरमा प्रशिक्षण लिन काठमाडौं आइपुगे । काठमाडौंमा आएर नाटक सिक्नु र आफूमा भएको कला निखार्नु उनका लागि एउटा सपना जस्तै थियो । थिएटरले निःशुल्क प्रशिक्षण र होस्टलको व्यवस्था गरिदिएका कारण उनले यो अवसर पाएका हुन् । स्नातक अन्तिम वर्षमा अध्ययनरत २४ वर्षीय उनले नाटक भनेको सडक नाटक भन्ने मात्र बुझेका थिए । तर अहिले नाटकको बुझाइ फराकिलो भएको छ । प्रशिक्षणका क्रममा नाटकका स्वरूपबारे पनि बुझेका छन् ।

‘प्रशिक्षणमा नाटक के रहेछ, यसका फर्महरूदेखि लिएर थिएटर सञ्चालनसम्मका कुरा बुझ्दै छु,’ उनले भने । प्रशिक्षणपश्चात् कर्णालीमा पनि थिएटर कलाकार जन्माउने जमर्को गरेका छन् धनराजले ।

मण्डला थिएटरमा अभिनयको प्रशिक्षण दिँदै कलाकार प्रविण खतिवडा ।

दोलखाका २१ वर्षीय गोविन्द ओली बत्तीसपुतलीको शिल्पी थिएटरमा जोडिएको ५ वर्ष भइसकेको छ । उनले थुप्रै नाटकमा अभिनय गरिसकेका छन् । उनी पनि सोही प्रशिक्षण जोडिएका छन् । नाटकमा अभिनय गर्न प्यासनसँगसँगै धैर्यता आवश्यक रहेको बताउँछन् । थिएटर कलाकार बन्ने रहरका साथ थुप्रै व्यक्तिहरू आउने गरेका भए पनि लामो समय टिक्न नसकेको उनी बताउँछन् । ‘नाटकमा दुःख छ, प्रतिफल पाउन पनि लामो समय चाहिन्छ । धैर्य भएर निरन्तरता दिन सकियो भने मात्र सफल हुन सकिन्छ,’ उनी भन्छन् ।

मण्डला थिएटरमा अभिनय सिक्दै विद्यार्थी ।

शिल्पी थिएटरले काम गरिरहेका कलाकारको क्षमता अभिवृद्धि गर्न ६ जना विदेशी र ६ जना नेपालीद्वारा १२ जनालाई प्रशिक्षण सञ्चालनमा छ । जसमा कला र अभिनय मात्र सिकाइँदैन एक्टिङ, साउन्डलगायत सबै इलिमेन्टहरूलाई क्यारी गरेर थिएटरलाई प्रोफेसनल बनाउन प्रशिक्षण दिइएको थिएटर कलाकार युवराज घिमिरे बताउँछन् । थिएटरको सीप हरेक क्षेत्रमा उपयोगी हुने उनको बुझाइ छ । उनी भन्छन्, ‘कलाको प्रशिक्षण यस्तो सीप हो, जुन हरेक क्षेत्रमा लागू गर्न सकिन्छ । थिएटरमा अनेक किसिमका अभिनय गर्ने भएकाले सोच्ने चिन्तन गर्ने र आफ्नो लक्ष्यसमेत पहिल्याउन सफल हुन्छन् । उनका अनुसार नाटक घरहरू बढ्दै जानु, नाटक प्रशिक्षण लिन सहज हुनु र थिएटर कलाकार चलचित्रमा स्थापित हुँदै जानुले पनि थिएटरमा युवा पुस्ताको क्रेज बढ्दै गइरहेको छ । कलाकारलाई रोल मोडल बनाएर पनि नाटक सिक्न आउनेहरूको संख्या बढेको हो ।

सिनामंगलस्थित पुरानो घर थिएटरमा विद्यार्थीलाई अभिनय सिकाउँदै कलाकार सुलक्षण भारती ।

मण्डला, शिल्पीजस्तै सिनामंगलस्थित ‘पुरानो घर’ थिएटरले पनि नयाँ पुस्तालाई अभिनय बुझाउँदै छ । पुरानो घर थिएटरमा प्रशिक्षण लिइरहेका छन् रूपन्देहीका १९ वर्षीय अरबिन्द कुमार मौर्य । उनलाई सडक नाटकले थिएटरसम्म ल्याइपुर्‍याएको हो । उनले थुप्रै सडक नाटक गरेका छन् । कपिलवस्तुको बुद्ध थिएटरमा पनि काम गरेका छन् । अब भने उनी थिएटर जानेर अभिनयमा नै रमाउन चाहन्छन् । तीन महिनाको प्रशिक्षणमा सडक नाटक र थिएटरको नाटकको अभिनय धेरै फरक हुने उनले अनुभव बटुल्दै छन् । ‘सडक नाटकमा कुनै सिमाना हुँदैन खुलेर अभिनय गर्न सकिन्छ । तर थिएटरमा निश्चित सिमाना र अनुशासनमा रहेर अभिनय गर्नुपर्ने रहेछ,’ अभिनय र अध्ययनलाई एकसाथ अघि बढाउने सोचेका अरबिन्दले भने ।

पुरानो घर थिएटरले पनि ३ महिने प्रशिक्षण चलाउने गर्दछ । युवापुस्ताले थिएटरलाई चलचित्र क्षेत्रमा जाने प्लेटफर्मका रूपमा लिने थालेको निर्देशक तथा थिएटर सञ्चालक सुलक्षण भारती बताउँछन् । उनका अनुसार नाटक सिक्न आउनेहरूमा धेरै विविधता रहेको छ । अभिनयसँगसँगै कला साहित्य लेखनमा रुचि राख्ने युवापुस्ता थिएटरमा जोडिन थालेका छन् । ‘अहिलेको पुस्ताले कला साहित्य लेखनमा रुचि देखाउन थालेको छ । त्यसकारण उनीहरूले थिएटरलाई प्लेटफर्मका रूपमा लिने गरेका हुन्,’ उनले भने ।

上一页 1 1下一页
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर