कञ्चनपुरको पुरानो ब्रह्मदेव बजार र भीमदत्त पन्तको सालिक । तस्बिर : भवानी/कान्तिपुर
कञ्चनपुर — ब्रह्मदेव बजारको बीच भागमा छ, सहिद भीमदत्त पन्तको सालिक । जहाँ लेखिएको छ– ‘कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब छैन भलो ।’ किसान, गरिब र विपन्नको आवाज बोल्दै आन्दोलनमा होमिएका पन्तको यो नारा पढ्ने अचेल बिरलै भेटिन्छन् । किनकि सालिक ठडिएको बजार सुनसान छ ।
२००९ सालतिर ब्रह्मदेव बजारमा नुन र लत्ताकपडा किन्न सुदूरपश्चिमका डडेलधुरा, डोटी, बाजुरा र अछामबाट ठूलो संख्यामा हटारु आउने गर्थे । उनीहरूलाई उपदेशी पनि भनिन्थ्यो । गुल्जार यो बजारमा एक समय यिनै भीमदत्तको जयजयकार गुन्जिन्थ्यो । २००९ सालमा पन्तको नेतृत्वमा भएको नुन आन्दोलनपछि ‘जय नेपाल, जय नेपाल बिगुलको बाजाले, दश शेरको नुन खुलायो भीमदत्त राजाले’ भन्दै सर्वसाधारण गीत गाउँथे । नुन आन्दोलनको रोचक इतिहास त यति बेला धेरैको विस्मृतिमा पुग्न थालिसक्यो । त्यतिबेला ब्रह्मदेवको पारिपट्टि भारतीय बजार टनकपुरमा नुन बिक्रीमा कडाइ गरिएको थियो । ब्रह्मदेवमा अधिकांश भारतीय व्यापारी नै थिए । उनीहरूले नेपालतर्फ पनि नुनमा कडाइ गरे । १०/१२ दिनसम्म हिँडेर बजार आएकालाई २ देखि १० शेर (एक शेर बराबर साढे ९ सय ग्राम) सम्म मात्रै नुन दिन थालियो । ब्रह्मदेव बजारको इतिहासबारे जानकार खगराज चटौतका अनुसार त्यतिबेला पहाडी भेगबाट आउनेले वर्षभरि पुग्ने नुन किनेर लैजान्थे । कात्तिकदेखि फागुन–चैतसम्मै किनमेलका लागि भीड लाग्थ्यो । अछाम, बझाङ र बाजुराबाट नुन ढुवानीका लागि भेडा र खच्चर समेत ल्याइन्थ्यो । ब्रह्मदेव मन्डीमै भेडा र खच्चरमा नुन लादेर लगिन्थ्यो । एक जनाले एक मन (४० शेर) लैजाने गरेकामा पनि सर्वसाधारण नुन बिक्रीको कडाइको मारमा परे ।
नुन बिक्रीमा कडाइ गरेपछि हटारु मारमा परे । त्यतिबेला बजार अड्डाको ठेक्का जयदेव सुब्बाको थियो । उनले अड्डामा डिठ्ठा र खरिदार भर्ना गरेका थिए । उनीहरूकै आदेशमा नुनमा कडाइ गरिएको थियो । त्यतिबेला भीमदत्त ब्रह्मदेवमै थिए । चटौत लिखित
ब्रह्मदेव बजारको इतिहास समेटिएको पुस्तक ब्रह्मदेव सिद्धचालिसामा अहिलेको खल्ला नजिकै टुँडिखेलमा भीमदत्तले आफ्ना सेनालाई परेड खेलाउने गरेको उल्लेख छ । स्थानीयको गुनासो आएपछि उनको नेतृत्वमा भारतीय व्यापारीमाथि मारपिट सुरु भयो । बजार अड्डाका कर्मचारीलाई महाकालीमा बगाएर नुन, कपडा र गुड (सक्खर) चाहिए जति लैजान उनले आदेश दिए । ‘दश/बाह्र दिन हिँडेर आए पनि नुन नपाउने अवस्था आएपछि ब्रह्मदेवमा निकै भीड लाग्यो,’ चटौत सम्झिन्छन्, ‘एक दिनमा डेढ/दुई सय जना किनमेलका लागि आउँथे, खल्लाबाट उकालो लाग्ने बाटोमा हिँड्ने ठाउँ पाइँदैनथ्यो, नुन नपाएपछि उनीहरू सबै ब्रह्मदेवमै रोकिएका थिए । नुन पाएपछि तिनीहरूले भीमदत्तको गुणगान गाए ।’
ब्रह्मदेव बजारको इतिहास खोज्दै जाँदा १९९० सालसम्म पुग्न सकिने चटौतको दाबी छ । खल्लामा रहेको ५२ कोठे मन्डी ब्रह्मदेवको ऐतिहासिक बजार भएको र त्यो १९९० को महाभुकम्पले भताभुंग भएको उनी बताउँछन् । त्यसको भग्नावशेष अहिले पनि देख्न सकिन्छ । ‘त्यतिबेला यो ठाउँ किनमेलको केन्द्र थियो,’ उनले भने, ‘महाभुकम्पपछि ब्रह्मदेव बजार अहिलेको बजार भएको स्थानमा सर्यो ।’ २०१६ मा ब्रह्मदेव बजार हालको महेन्द्रनगर (त्यतिबेलाको घुसुडी बजार) मा सरेको थियो । त्यहाँ व्यापार गरिरहेकालाई महेन्द्रनगरमै सट्टाभर्ना दिइयो । ब्रह्मदेवमा व्यापार गर्ने अधिकांश भारतीय थिए, उनीहरू अहिले महेन्द्रनगरमा व्यापार व्यवसाय गरिरहेका छन् ।
२०२२ मा बस्ती विस्तारसँगै यो बजार पुनः फैलिन थाल्यो । बजार महेन्द्रनगर सारिएपछि ब्रह्मदेवमा किनमेलका लागि आउनेलाई रोक लगाइयो । तैपनि फाटफुट रुपमा किनमेलका लागि आउने क्रम रोकिएन । उनीहरू ब्रह्मदेवपारि टनकपुर पुगेर किनमेल गर्थे । पहाडी भेगमा सडक विस्तारसँगै बजारको विकास हुन थाल्यो । २०१६ सालपछि भने ब्रहमदेव विस्तारै सुस्तायो । फागु पूर्णिमादेखि असार पूर्णिमासम्म लाग्ने पूर्णागिरि मेलाबाहेकको समयमा सिंगो बजारलाई भीमदत्त पन्तको सालिकले मात्रै कुरिरहेको जस्तो लाग्छ । कोरोना महामारीका बेला लामो समय लकडाउन तथा नाकाबन्द भएपछि बचेखुचेका व्यापारी पनि पलायन भए । त्यसपछि त यो बजार झनै सुनसान बन्यो । यहाँका पाका पुस्ता बजारसँग जोडिएका पुराना स्मृतिहरू सुनाउँदै रोमान्चित हुन्छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका ८४ वर्षीय रामसिंह विष्ट १५/१६ वर्षकै उमेरदेखि नुन र कपडाका लागि ब्रह्मदेव र पारि टनकपुरसम्म पुग्थे । ‘हातमा घङारुको लौरो । पिठ्यूँमा सामल र घिउका टिनको भारी । त्यही घङारुको लौरोको भरमा उकालीओराली गरेर ब्रह्मदेवबाट नुन बोकिन्थ्यो,’ उनी पुराना दिन सम्झिन्छन् । उनी डडेलधुराको साविक देवल दिव्यपुरबाट चार/पाँच दिन लगाएर तराई झर्ने र त्यति नै दिन लगाएर घर फर्किने गर्थे । घरमा उत्पादन भएको घिउ बिक्री गरेर नुन र कपडा किनेर लैजाने चलन थियो । देवल दिव्यपुरअन्तरगत पिलकोट गर्खाबाट टनकपुरसम्म पुगेर नुन र कपडा लैजान पन्ध्र/बीस जनाकै हुल ब्रह्मदेव पुग्थ्यो । सबैले आफ्ना लागि ओडने,
ओछ्याउने र खानेकुरा बोकेका हुन्थे । पिलकोटबाट हिँडेका उनीहरू ५/६ दिन बाटोमा बास बसेर ब्रह्मदेव पुग्थे । ‘कात्तिकदेखि फागुनसम्मै बाटोभरि भीड हुन्थ्यो,’ विष्ट सम्झन्छन्, ‘डडेलधुरासँगै बझाङ, अछाम र डोटीबाट समेत किनमेलका लागि यहाँ आउँथे ।’ उनीहरू बाटोमा भेडा चराउँदै आउँथे र फर्किंदा तिनै भेडामा मालसामान लगेर जान्थे ।
किनमेलका लागि ब्रह्मदेव वा पारि टनकपुर पुग्ने जो कोहीले पनि घिउका टिन बोकेका हुन्थे । विष्टका अनुसार एक टिनमा २० देखि २५ किलोग्रामसम्म घिउ अटाउँथ्यो । ‘एक टीन ५५/६० रुपैयाँमा बिक्री हुन्थ्यो । त्यही बिक्री गरेर वर्षभरि चाहिने नुन र कपडा किनेर पनि केही पैसा बच्थ्यो,’ डडेलधुराकै ग्वानीबाट किनमेलका लागि टनकपुर पुग्ने गरेका ९० वर्षीय नन्दराज जोशीले भने, ‘दुई/तीन टिन घिउ ल्याउनेले त राम्रै बचाएर लैजान्थे ।’ त्यतिबेला ५ रुपैयाँमा ५० केजीको एक बोरी नुन आउँथ्यो, चार आनामा एक भेली गुड, ५ रुपैयाँमा मन्डी (कम्बल) आउँथ्यो । हाल ब्रह्मदेवमै बसोबास गरिरहेका जोशीलाई ग्वानी क्षेत्रबाट चार/पाँच दिन लगाएर टनकपुर पुगेको र साथीभाइसँगै बाटोमै रात काटेको सम्झना आउँछ । सबैले आफ्ना लागि खानेकुरा दाल, चामल र घिउसँगै बोकेका हुन्थे । बाटोमा खानाका लागि गिठी नामको दुई/तीन माना घिउ अट्ने काठको भाँडो हुन्थ्यो ।
ब्रह्मदेव बजारसँगै जोडिएको एउटा रोचक प्रसंग अहिले पनि धेरैको जिब्रोमै झुन्डिएको छ । प्रायः होलीका बेला बजारमा आगलागी भइरहन्थ्यो । २००२ मा भीषण आगलागी भयो । बजार अड्डाका डिठ्ठा धनसिंह रावलले चिठी लेखेर काठमाडौं पठाए । त्यहाँबाट ६ महिनापछि जवाफ आयो, ‘नजिकै महाकालीबाट पानी ल्याएर निभाउनू ।’ कुनै काम तथा विकास योजनाको काममा भएको ढिलासुस्तीको प्रसंग आउनासाथ स्थानीय बूढापाका अहिले पनि यो पुरानो कथन दोहोर्याइरहन्छन् ।
मेलाले जोडेको सम्बन्ध
राजनीतिकस्तरमा नेपाल–भारतबीच रोटीबेटी सम्बन्धको खुबै चर्चा हुन्छ । यसबाहेक धर्म, संस्कृति र रहनसहन पनि मिल्ने गरेको नेताहरूले बेलाबेला चर्चा गरिरहन्छन् । त्यही धर्म संस्कृतिको उदाहरण पूर्णागिरि मेलामा देखिन्छ ।
महाकालीपारि उत्तराखण्ड चुरे डाँडोमा रहेको पूर्णागिरिको मन्दिर र ब्रह्मदेवमा रहेको सिद्धबाबाको मन्दिरले दुवैतर्फका नागरिकलाई धार्मिक रूपमा जोडेको छ । पूर्णागिरि मन्दिरमा पुग्नेले सिद्धबाबाको दर्शन गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्तीअनुसार हरेक वर्ष पूर्णागिरि मेलाका बेला यहाँ घुँइचो लाग्ने गरेको छ । फागु पूर्णिमादेखि असार पूर्णिमासम्म चल्ने मेलाकै व्यापारले व्यवसायीलाई टिकाएको छ ।
चैतेदसैंको नवरात्रका बेला ब्रह्मदेवमा दर्शनार्थीको घुइँचो थेगिनसक्नु हुन्छ । त्यतिबेला एउटै व्यापारीले दिनमा लाखौंको कारोबार गर्छ । तर अचेल मेला अवधिमा हुने कारोबार घट्दै गएको व्यापारीहरू बताउँछन् । ‘विगतमा चाइनिज मालसामानको कारोबार बढी हुन्थ्यो, अहिले त्यस्ता सामान भारतमा सहजै पाइन्छ,’ ब्रह्मदेव बजार व्यवस्थापन समितिका अध्यक्ष मोहनदेव पन्तले भने, ‘मेलामा चल्ने पूजा सामग्री र कपडाकै भरमा हाम्रो व्यापार टिकेको छ ।’ उनका अनुसार विगतमा जुत्ता, चप्पल, खेलौना, विद्युतीय सामग्रीको माग धेरै हुन्थ्यो । अहिले ती सामान भारतमै राम्रो र सस्तो आइसकेका कारण व्यापार कम भएको छ ।
सिद्धबाबाको प्राचीन मन्दिर ब्रह्मदेव बजारभन्दा ८ किलोमिटर उत्तर कवानी डाँडामा छ । महाकाली भारततर्फ पूर्णागिरि र वारि नेपालतर्फ सिद्धबाबाको मन्दिर छ । उक्त मन्दिर खुला हुँदै ब्रह्मदेवमा स्थानान्तरण गरिएको हो ।
ब्रह्मदेवमा २०४६ मा महायज्ञ गरेर पूर्णागिरि मेलाको सुरुवात भएको इतिहासका जानकार खगराज चटौत बताउँछन् । उनकै पहलमा महायज्ञ लगाएर मेलाको सुरुवात भएको हो । सिद्धबाबा पूर्णागिरि माताका महान् भक्त थिए । उनको भक्तिबाट प्रशन्न भई पूर्णागिरिले आफ्नो दर्शनपछि सिद्धबाबाको पनि दर्शन गर्नुपर्ने र त्यसपछि मात्रै मनोकामना पूरा हुने वरदान दिएको किंवदन्ती छ ।
ब्रह्मदेव बजारमा १ सय हाराहारी पसल छन् । मेलाको मुख्य अवधि रामनवमीका बेला दैनिक ३०/४० हजार हाराहारी दर्शनार्थी पुग्छन् । एक दिनमा २५/३० लाख हाराहारी कारोबार हुने अध्यक्ष पन्त बताउँछन् । फागु पूर्णिमादेखि बजारमा फेरि मेलाको चहलपहल सुरु हुन थालेको छ । महाकाली नदी किनारमै रहेको यो बजार बहुचर्चित महाकाली सन्धिअन्तर्गतको टनकपुर ब्यारेजको साक्षी पनि हो । टनकपुर ब्यारेजको बाँध बजारसँगै जोडिएको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट ८ किलोमिटर उत्तर–पश्चिममा पर्छ । महाकाली सन्धिअन्तर्गत नेपालतर्फ सिँचाइका लागि प्राप्त हुने नहर पनि ब्रह्मदेव छेउमै निर्माण भइरहेको छ ।