बैतडीका स्थानीय तहले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नाचगान र देउडा प्रतियोगिता आयोजना गरेर मनाएका छन्। दिवसले दैनिक ज्याला मजदुरी गरेर खाने महिला र पारिश्रमिकबिना घरायसी काम गर्ने महिलालाई भने सम्बोधन गर्न सकेन।
दशरथचन्द नगरपालिकाले मङ्गलबार जिल्ला सदरमुकाममा देउडा प्रतियोगिता आयोजना गरे पनि दैनिक ज्याला मजदुरी गरेर खाने महिला र किशोरी हँसिया बोकेर वनतिर हिँडिरहेको भेटिए। सार्वजनिक बिदा भएका कारण ज्याला मजदुरीको काम नपाएपछि पारिश्रमिकबिनाको घरायसी काम घाँस दाउरा गर्न उनीहरू जङ्गलतिर हिँडेका थिए।
घरायसी काम सकेर दैनिक ज्याला मजदुरी गर्न जाँदा पुरुष बराबर काम गरे पनि ज्याला भने कम मिल्ने गरेको ज्योति भुलले बताउनुभयो। पुरुषले ९६० रुपियाँ दैनिक ज्याला पाउँदा महिलाले सात सयभन्दा बढी नपाउने उहाँले बताउनुभयो। स्थानीय सरकारले एक दिन मनाउने नारी दिवसले अहिलेसम्म असमान ज्याला र पारिश्रमिकबिनाको घरायसी कामका बारेमा नबोलेको उहाँले बताउनुभयो।
महिलाको छैन जीवन बीमा
पारिश्रमिकबिनाको घरायसी काम गर्ने महिलाले घाँसको त्यान्द्राका लागि कठिन भीर चढेर काम गर्नुपर्छ। पहाडी भीरमा घाँस काट्दा बैतडीमा यो वर्ष सात जना महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याङ्क छ। यो वर्षको साउन महिनायता बैतडीको पुरचौडी नगरपालिका–६ की ३२ वर्षीया लीला खडायत, सिगास गाउँपालिका–४, बरमकी ४५ वर्षीया गौरा बोहरा, सिगास गाउँपालिका–८, लुपुण घर भएकी २८ वर्षीया सरस्वती धामी बोहरालगायत सात जनाको खर काट्दा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको अभिलेखमा छ तर यसरी मृत्यु भएका महिलाको परिवारले स्थानीय सरकारबाट कुनै राहत पाउन सकेका छैनन्।
मासिक पारिश्रमिकबिना घरायसी काम गर्ने महिलालाई सुरक्षाका उपाय र लडिहाले पनि ज्यान बचाउन सकिने सुरक्षित डोरीजस्ता कुनै पनि उपकरण साथमा हुँदैनन्।
महिला अधिकारका क्षेत्रमा काम गर्ने संस्थाले पनि नाराबाहेक कुनै सहयोग गर्न सकेका छैनन्। अकालमै ज्यान गुमाउने महिलाको मासिक पारिश्रमिक, न जीवन बीमा हुन्छ न त घाइतेको कतैबाट औषधि उपचार हुने गरेको छ। स्थानीय सरकारले भीरबाट लडेर मृत्यु भएका महिलाको अभिलेख राखेर बर्सेनि दोहोरिने यस्ता घटना न्यूनीकरण गर्ने उपाय र जीवन बीमा गरिदिनुपर्ने अधिकारकर्मी पार्वती भट्टले बताउनुभयो।
पञ्चेश्वर गाउँपालिका–३, द्वारी बस्ने पदमा तिरुवा यही मङ्सिरमा घाँस काट्न जाँदा लडेर गम्भीर घाइते हुनुभयो। उहाँको उपचार गर्न भारतमा काम गर्ने मजदुरले चन्दा सङ्कलन गरेर उपचारमा सहयोग गरेको आप्रवासी कामदार जय चन्दले बताउनुभयो।
महिलालाई दिवसबारे थाहा छैन
दशरथचन्द नगरपालिका–४, बाडीलेकको मुक्त हलिया बस्तीका ९० जना महिला दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका छन्। महिला दिवसका बारेमा अधिकांशले थाहा नपाएको बताएका छन्।
मुक्त हलियाका अधिकांश महिलासँग बस्ने घरसमेत छैन । बस्ने घर नहुँदा अर्काको गोठमुनि आश्रय लिएर बसिरहेको एकल महिला ज्योति भुलले नारी दिवसका बारेमा थाहा नपाएको बताउनुभयो।
सरकारले हलिया मुक्तिको घोषणा गरे पनि परिचय पत्रअनुसार राहतका कुनै कार्यक्रम नपाउँदा मुक्त हलियाका महिला भारतीय सीमा नाका झुलाघाटबाट भारी बोकेर जीविका चलाउँदै आएको मीना भुलले बताउनुभयो।
बिदाका दिन नेपालतर्फको झुलाघाट नाका सुनसान हुने भएकाले काममा जान नपाएको राधा भुलले बताउनुभयो। सीमानाका झुलाघाटबाट दैनिक भारी बोकेर गुजारा गर्ने आना भुल, गुड्डी भुल, जमुना भुलले काम नपाएको दिन छाक टार्न धौ–धौ पर्ने गरेको बताउनुभयो।
मङ्गलबार दशरथचन्द नगरपालिकाले आयोजना गरेको नारी दिवसमा दैनिक ज्याला मजदुरी गर्नेभन्दा पनि आर्थिक रूपले सक्षम घरका महिलाको सहभागिता बढी देखिन्थ्यो। सारी, पोते र सुनका हार लगाएर केही महिला नारी वेदनाका देउडा गीत गाइरहेका थिए।
देउडा गीतका माध्यमबाट पनि महिलाले भोग्नुपरेका पीडा उजागर भएको दशरथचन्द नगरपालिकाले जनाएको छ। ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ देउडा प्रतियोगिताको आयोजना गरेर दिवस मनाइएको दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम चन्दले बताउनुभयो ।