वसन्तपुरमा रहेकाे चिर पुजा गर्दै स्थानियहरू //तस्विर-एस ए टि भी
काठमाडौंको प्रसिद्ध हनुमानढोका दरबार क्षेत्र, बसन्तपुरमा सोमबार धुमधामका साथ होली मनाइएको छ । सहरका विभिन्न स्थानबाट आएका युवायुवती भेला भइ एकअर्कामा अबिर दलेर होली मनाइरहेका छन् । बसन्तपुरमा होलीमा रमाउन आउने विदेशीहरूको सहभागिता पनि उल्लेख्य मात्रामा देख्न पाइएको छ । यहाँ विभिन्न संस्थाहरुले बाजागाजासहित होलीमा मनोरञ्जनात्मक कार्यक्रमहरू राखेका छन् ।
आज फागु पूर्णिमा अर्थात् होली पर्व । आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। काठमाडौंका विभिन्न स्थानमा युवायुवती,बालबालिका तथा विदेशी पर्यटकहरू भेला भएर होली मनाइरहेका छन्। यसै अवसरमा वसन्तपुरमा सहभागी भएर सयौंको संख्यामा युवा–युवती,वृदवृद्धा,बालबालिका होली मनाइरहेका छन् । परम्परागत बाजागाजा र आधुनिक रंगसँगै सबैले एकसाथ होली मनाइरहेका छन्। होली खेल्न विभिन्न स्थानबाट युवायुवतीहरू आउने क्रम जारी छ।
हाेलिकाे रङ्गमा रङ्गिन वसनतपुर //तस्विर-एस ए टि भी
संस्कृतिविदहरूका अनुसार, फागु पर्वलाई वसन्तोत्सवको रूपमा पनि लिन सकिन्छ । नेपालमा होलीका पर्व पूर्व मध्यकालदेखि मनाउन सुरु गरिएको संस्कृतिविदहरूकाे भनाइ छ । काठमाडौंको वसन्तपुर फाल्गुणशुक्ल अष्टमीको दिन चीरोत्थान गरेदेखि आठ दिनसम्म फागुको उत्सव मनाउने चलन छ ।
होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा अर्थात् त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान् विष्णुले नरसिंह अवतार लिएर मारेका थिए ।
हिरण्यकश्यपुका छोरा प्रह्लाद विष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान् विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजना बनाएका थिए ।
एक योजनाअनुसार हिरण्यकश्यपले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएको थियो । दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन।
यसरी होलिका दहनकै खुसीयाली मनाउन आपसमा रङ्ग र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भारतको र नेपालको मधेशको होली होलीका राक्षसनीसँग सम्बन्धित छ ।