नेभिगेसन मेनु

घरेलु सिरिजमा नेपाली ब्याट्सम्यानले जगाएको आशा
सम्पादक:南亚网络电视
समय:2023-02-22 15:57

1

मंगलबार कीर्तिपुर मैदानमा स्कटल्यान्डलाई हराएसँगै नेपालले लगालग चार वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल जित्यो।  आइसिसी विश्वकप लिग-२ अन्तर्गतका यसअघिका खेलमा नेपालले लगातार चार जित  निकाल्न सकेको थिएन।  आठ दिन अघिसम्म नेपालले आइसिसी विश्वकप लिग-२ का २४ खेल खेल्दा ८ मा मात्र जित निकाल्न सकेको थियो। 

लिग-२ मा नेपालको प्रमुख समस्या ब्याटिङ बनिरहेको थियो। नेपाली बलरले नियमित कसिलो बलिङ गर्दै विपक्षीलाई कम योगफलमा रोके पनि नेपाल लक्ष्य पार गर्न चुकिरहेको थियो।

कीर्तिपुर मैदानमा २०२० को फेब्रुअरीमा नेपालले ओमानलाई १९७ रनमा रोकेको थियो। तर जवाफी ब्याटिङ गरेको नेपाल १७९ रनमै सेमिटियो।

डेढ वर्षपछि ओमानमा खेलिएको लिग-२ अर्को खेलमा पहिले ब्याटिङ गरेको नेपाललाई घरेलु टिम ओमानले १९६ रनमै रोक्यो। जसका कारण नेपालमाथि ओमानले ५ विकेटको जित निकाल्यो। सोहि सिरिजमा नेपालले अमेरिकाविरुद्ध १७४ रन मात्र जोड्न सक्यो। 

मार्च २०२२ मा युएई, नेपाल र पिएनजीको सिरिजमा पनि नेपालको ब्याटिङ चल्न सकेन। पहिलो खेलमा नेपालले युएईलाई १६८ रनमै समेटेको थियो। जवाफी ब्याटिङ गरेको नेपाल १२० रनमै अलआउट हुन पुग्यो। दोस्रो खेलमा युएई दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल १०३ रनमै अलआउट हुँदा लज्जास्पद हार व्यहोर्न बाध्य भयो।

गत जुनमा स्कटल्यान्डमा भएको सिरिजमा पनि नेपालको ब्याटिङमा सुधार आएन। नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १३६ रनमै अलआउट भएको थियो। यस्तै सोही सिरिजमा नेपाल १२८ रनमै अलआउट हुँदा स्कटल्यान्डले २ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो।

 

नामिबियामा खेलेको अर्को सिरिजमा पनि नेपालको ब्याटिङमा उस्तै समस्या देखियो। सिरिजको चारै खेलमा नेपालले २ सय रन कटाउन सकेन भने कुनै पनि खेलमा जित निकाल्न सकेन।

लिग-२ को सुरुवाती ६ वटा त्रिकोणात्मक सिरिजमा ब्याटिङमा संघर्ष गरेको मंगलबार सकिएको आफ्नो सातौं सिरिजमा भने उत्कृष्ट ब्याटिङ गर्न सफल भयो। बलिङमा सधैंझैं उत्कृष्ट खेल देखाएको नेपालले ब्याटिङमा पनि सुधार गर्दा घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डविरूद्ध खेलिएको सिरिजमा चारै खेलमा जित निकाल्यो।

नेपालले सिरिज क्लिनस्विप गर्दा नेपाली ब्याटरले एक शतकसहित सात अर्धशतक बनाउन सफल भए।

कुशल भुर्तेलले शतक हिर्काउँदा कप्तान रोहितकुमार पौडेल र कुशल मल्लले दुई-दुई अर्धशतक प्रहार गरे। यस्तै ज्ञानेन्द्र मल्ल, आसिफ शेख र दिपेन्द्रसिंह ऐरीले पनि अर्धशतक हाने।

यस्तै नेपालले सिरिजमा तीन पटक २७५ वा सोभन्दा बढी रनको लक्ष्य पार गर्न सफल भयो। 

सिरिजमा बलिङतर्फ सधैंझै सन्दीप लामिछानेले आफ्नो भूमिका निर्वाह गरे। उनले चार खेलमा १३ विकेट हात पारे।  

नामिबियाविरूद्धको पहिलो खेलमा नेपालले २८६ रनको लक्ष्य पाएको थियो। खेलमा करण केसीले ५ विकेट हात पार्दा सन्दीप लामिछानेले ३ विकेट लिए।

नेपालले २८६ रन लक्ष्य पार गर्दै इतिहास रच्यो। यो नेपालले पार गरेको अहिलेसम्मकै ठूलो लक्ष्य हो। खेलमा कुशल भुर्तेलले ११५ रन जोडे। उनले ११३ बलमा १० चौका र ४ छक्का हिर्काएका थिए। कप्तान रोहित पौडेलले ७२ रन जोड्दा नेपालको जितको आधार बनेको थियो। खेल नेपालले २ विकेटले जित्यो।

स्कटल्यान्डविरुद्धको पहिलो खेलमा नेपालले २७५ रनको लक्ष्य पाएको थियो। बलिङमा सन्दीपले ३ विकेट लिँदा कुशल मल्लले २ विकेट हात पारेका थिए।

यो खेलमा नेपालका दुई ब्याटरले ५० भन्दा बढी रन स्कोर गरे। मध्यक्रमका ब्याट्सम्यानद्वय कुशल मल्लले ६७ बलमा ८२ रन र दिपेन्द्रसिंह ऐरीले ११६ बलमा नटआउट ८५ रन जोडे। जसका कारण नेपालले ३ विकेटको जित निकाल्यो। 

नामिबियाविरुद्धको दोस्रो खेलमा नेपालले फेरि २७५ रनको लक्ष्य पायो। बलिङमा सन्दीपले ३ विकेट लिँदा करणले १ विकेट हात पारे।

खेलमा नेपालका तीन ब्याटरले अर्धशतक प्रहार गरे। ओपनिङ ब्याट्सम्यान आसिफ शेखले ८१ रन जोड्दा ज्ञानेन्द्र मल्लले ६५ र कुशल मल्लले ६२ रन बनाए। तीन ब्याटरको अर्धशतमा नेपालले ३ विकेटको जित निकालेको थियो। 

स्कटल्यान्डविरुद्धको अन्तिम खेलमा सधैं झै बलिङमा नेपालले कसिलो बलिङ गर्‍यो। सन्दीपले ४ विकेट लिँदा र करण केसीले ३ विकेट हात पारे। जसका कारण स्कटल्यान्ड २१२ रनमै समेटियो।

तर नेपालले ब्याटिङ सोचेजस्तो सुरुवात गर्न सकेन। कप्तान रोहित पौडेलले धैर्यपूर्वक ब्याटिङ गर्दा नेपालले जित निकाल्न सफल भयो। उनले नटआउट ९५ रन जोड्दा नेपालले सिरिज क्लिनस्विप गर्‍यो। करण केसीले ३७ बलमा जोडेको नटआउट ३१ रन पनि जितको आधार बन्यो।

करण र रोहितबीच नवौं विकेटका लागि नटआउट ७५ रनको कीर्तिमानी साझेदारी भएको थियो। 

नेपालको ब्याटिङमा आएको सुधारको श्रेय प्रशिक्षक मोन्टी देसाइलाई जाने कप्तान रोहित बताउछन्। रोहितका अनुसार देसाइले ब्याटरलाई खुलेर ब्याटिङ सुझाएका छन्। 

नेपालको ब्याटिङ सुधार हुनुमा देसाइको 'वान बल ब्याटल' (एक पटकमा एक बलमा मात्र केन्द्रित हुने) रणनीतिले काम गरेको उनी बताउँछन्। 

यसअघि दिपेन्द्रसिंह ऐरीले पनि प्रशिक्षणकको उत्प्रेरणाका कारण ब्याटिङमा सुधार आएको स्कटल्यान्डविरूद्ध खेलपछि बताएका थिए। ‘अरू केही सोचिन। हरेक पटक एउटा बलका लागि मात्र सोचिरहे,’ उनको भनाइ थियो,'हामी वान बल ब्याटल रणनीतिमा खेलिरहेका छौं।'

प्रशिक्षक देसाइ पनि आफ्नो रणनीतिलाई खेलाडीले मैदानमा उतारेकोमा खुसी छन्। 'हामी प्लानिङ र प्रिपेरेसन (योजना र तयारी) लाई आत्मसात् गरेर अघि बढिरहेका छौं,' देसाइले सिरिज क्लिनस्विप गरेपछि भने।

घरेलु मैदानमा चार खेलमा जित निकालेको नेपालले लिग-२ अन्तर्गत यहि महिना बाँकी दुई सिरिजका चार-चार खेल गरी कुल आठ खेल खेल्दैछ।

नेपाल अर्को साता युएई जाँदैछ। त्यहाँ नेपाल, युएई र पपुवा न्युगिनीबीच लिग-२ को त्रिकोणात्मक सिरिज हुनेछ। यो नेपालको लिग-२ को आठौं सिरिज हो।

लगत्तै नेपालमा यी तीन टिमबीच लिग-२ को अन्तिम सिरिज हुनेछ।

लिग-२ मा बाँकी रहेका आठमध्ये पाँच खेल जिते शीर्ष चारमा रहेर नेपालको एकदिवसीय मान्यता जोगिनेछ। आठै खेल जिते नेपाल शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा पुग्नेछ।

लिग-२ को च्याम्पियन बनेको शीर्ष टिम स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोडेको छ। दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम ३४ खेलबाट ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ।

लिग-२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले २८ खेलबाट २६ अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ।

लिग-२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ।

लिग-२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन्। अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ।

आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ। जसमा टेस्ट मान्यता प्राप्त १२ टिम र नेदरल्यान्ड्स गरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग-२ र एसोसिएट टिमबीच प्रतिस्पर्धा भएको च्यालेन्ज लिग रहेका छन्।

सुपर लिगबाट ७ टिम र आयोजक भारत गरी आठ टिम विश्वकप २०२३ मा पुग्नेछन्। अब दुई स्थानका लागि सुपर लिगका पाँच टिम, लिग-२ का तीन टिम र क्वालिफायर प्लेअफका दुई टिम गरी १० टिमबीच छनोट प्रतियोगिता हुँदैछ। क्वालिफायर प्लेअफमा लिग-२ का चार टिम र च्यालेन्ज लिगका दुई टिम गरी छ टिमबीच प्रतिस्पर्धा हुनेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर