नेभिगेसन मेनु

ठूलो लक्ष्यमा नेपालको साहस
सम्पादक:南亚网络电视
समय:2023-02-15 14:22

n

काठमाडौँ — विश्वकप लिग–२ का पछिल्ला ८ खेलमा नेपालले २ सय रनको स्कोर पनि छुन सकेको थिएन । त्यसैले नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालसामु पहाड बनिसकेको थियो । अझ नेपालले विजय लक्ष्य पार गर्नेक्रममा यति ठूलो स्कोर कहिल्यै बनाएको थिएन ।

 

ओपनर कुशल भुर्तेलले सानदार शतक प्रहार गरेपछि कथा फेरियो । नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियामाथि २ विकेटको रवाफिलो विजय हात पार्‍यो । कुशलले १ सय १५ रन बनाएपछि नेपालले २ सय ८६ रनको लक्ष्य १४ बलअगाडि नै २ सय ८७ रन बनाएर पार गर्‍यो । नेपालले लिग २ मा नामिबियालाई पहिलो पटक पराजित गर्‍यो ।

‘हामीले आज इतिहास रचेका छौं, किनभने यसभन्दा अगाडि हामीले यति ठूलो लक्ष्य पछ्याएर विजय पाउन सकेका थिएनौं,’ नेपालका कप्तान रोहित पौडेलले भने, ‘अब हामीले यो लयलाई निरन्तरता दिनुपर्ने हुन्छ । आगामी ३ खेलका लागि हाम्रो यो आत्मविश्वास हो । ब्याटिङ गर्दा हामी निकै विश्वस्त बनेका छौं ।’ उनले कुशलको इनिङ्सलाई असाधारण भने । शतक पूरा गरेपछि पनि कुशलले संयमित खेलेका कारण नै विजय सम्भव भएको रोहितले जनाए । कुशलले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाउनेक्रममा १ सय १३ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरेका हुन् ।

कुशलले रोहितसँग जोडेको १ सय ३३ रनको ठोस साझेदारी नेपालको विजय आधार बन्यो । यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो । गत वर्ष देव खनाल र दीपेन्द्रसिंह ऐरीले पपुवा न्युगिनीविरुद्ध १ सय २९ रनको साझेदारी गरेका थिए । एकदिवसीयमा नेपालको यो सातौं शतकीय साझेदारी हो, त्यसमध्ये चार शतक घरेलु मैदानमै बनेको छ । शतकीय साझेदारीमध्ये रोहित ३ र कुशल २ मा समावेश छन् ।

दोस्रो ओभरमै आसिफ शेख शून्यमा बोल्ड भए पनि नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्‍यो । ज्ञानेन्द्र मल्लले ३५ बलमा ४ चौकासहित २५ रन बनाए । रोहितले कप्तानी इनिङ्स खेले । उनले ७६ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए । कुशल मल्ल ६ र दीपेन्द्रसिंह ऐरी ७ रनमै आउट भए ।

कुशल भुर्तेलले सन्दीप जोरासँग ४९ रनको साझेदारी गरे । ४ वर्षयता एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो खेल खेलिरहेका जोराले २४ बल खेल्दै ३ चौका र १ छक्कासहित २८ रन बनाए । करण १२ बलमा २० रन बनाई अविजित रहे । नेपाललाई विजयनिम्ति ३ रन चाहिँदा कुशलले प्वाइन्टमा क्याच दिन पुगे । सन्दीप लामिछाने पहिलो बलमै आउट भए । सोमपाल कामीले पहिलो बलमै विजयी चौका प्रहार गरे । नामिबियाका रुबेन ट्रमपेलमानले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए ।

यसअघि माइकल भान लिङ्गेनको सानदार शतकमा टस हारेर ब्याटिङमा आएको नामिबियाले निर्धारित ५० ओभर पूरा खेली २ सय ८५ रनमा अलआउट भएको थियो । लिङगेनले १ सय ३३ रन बनाए । लिङ्गेनले लगातार दोस्रो शतक बनाएका हुन् । डिसेम्बरमा उनले आफ्नो पछिल्लो खेलमा नेपालविरुद्ध नामिबियाको विन्डहोकमा १ सय २१ रन बनाएका थिए । उनले १ सय ३७ बलको इनिङ्समा ९ चौका र ५ छक्का प्रहार गरे ।

लिङ्गेनलाई करण केसीको बलमा दीपेन्द्रले मिडविकेटमा क्याचआउट गरे । उनको एकदिवसीय अन्तर्राष्ट्रियमा उच्च स्कोर हो भने नामिबियाली ब्याटरको दोस्रो उच्च स्कोर हो । जिन पिइरे कोएट्जेले सन् २०१९ को सेप्टेम्बरमा अमेरिकाविरुद्ध १ सय ३६ रन बनाएका थिए । लिङगेनले कप्तान गेर्हार्ड इरास्मससँग तेस्रो विकेटमा १ सय २४ रनको साझेदारी गरे । आईसीसी एसोसिएट वर्ष खेलाडी इरास्मसको २१ रनमा रोहितले क्याच छाड्नु नेपालका महँगो पर्‍यो । इरास्मसले ७९ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरी ५६ रन बनाए ।

लो हेन्ड्रे लवरेन्स नामिबियाबाट आउट हुने पहिलो खेलाडी थिए । उनलाई तेस्रो ओभरमा सोमपाल कामीले ५ रनमा बोल्ड गरे । सन्दीप लामिछानेले अर्का ओपनर कार्ल बिर्केनस्टकलाई १३ रनमा बोल्ड गरे । त्यसपछि लिङ्गेन र इरास्मसको जोडी जमेको थियो । करण केसीको पहिलो सिकार जेएन लोफ्टी इटन थिए । इटन ८ रन बनाई ज्ञानेन्द्रबाट सानदार क्याच भए । जान फ्रालिन्कलाई करणले १३ रनमा बोल्ड गरे । पिकी या फ्रान्सले २ रनमात्र बनाए । जेन ग्रिनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरी ३४ रन बनाए । नेपालबाट करणले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चेर ५ र सन्दीपले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए ।

आस कायमै

नामिबियामाथिको विजयपछि नेपालले एकदिवसीय मान्यता जोगाइराख्ने आस कायमै राखेको छ । नेपाल २५ खेलमा २० अंकसाथ सात राष्ट्र सहभागी लिग अंकतालिकाको छैटौं स्थानमा छ । नामिबिया ३१ खेलमा ३७ अंकसाथ तेस्रो स्थानमा छ । नेपालले अब लिग २ मा आफ्नो बाँकी ११ मध्ये ८ खेल जित्नुपर्नेछ । शुक्रबार नेपालले स्कटल्यान्डसँग खेल्नेछ । शनिबार नामिबियासँग खेलेपछि मंगलबार पुनः स्कटल्यान्डसँग खेल्नेछ । फेब्रुअरी अन्तिममा नेपाल लिग–२ को आठौं शृंखला खेल्न दुबई लाग्ने छ । त्यहाँ नेपालले यूएई र पपुवा न्युगिनीसँग २–२ खेल खेल्नेछ । यूएई र न्युगिनी मार्चमा नेपाल आएर खेल्नेछन् ।

कुशल शतकीय क्लबमा

कुशल भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्ट्–ी२० अन्तर्राष्ट्रिय दुबैमा शतक बनाउने नेपालको तेस्रो खेलाडी बनेका छन् । उनले नामिबियाविरुद्ध १ सय १५ रन बनाए ।

एकदिवसीयमा यो उनको पहिलो शतक हो । सन् २०२१ को सेप्टेम्बरमा अमेरिकाविरुद्ध लिग २ कै खेलमा ओमानको मस्कटमा ८४ रन बनाउनु एकदिवसीय अन्तर्राष्ट्रियमा कुशलको यसअघिको उच्च स्कोर थियो । उनी एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउने नेपालका पहिलो ओपनर बने । ‘एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक बनाउँदा खुसी नै लागिहाल्छ । त्योभन्दा पनि हाम्रो टिमले ठूलो विजय लक्ष्य पछ्याएको छ । आफ्नोभन्दा पनि टिमले राम्रो गरेकामा अझ खुसी छु,’ ओपनिङ ब्याटिङमा फर्किएका उनले भने, ‘मलाई ओपनिङमै ब्याटिङ गर्न सजिलो लाग्छ ।’ उनले गत वर्ष ओमानमै ट्वान्टी–२० विश्वकप छनोटमा फिलिपिन्सविरुद्ध अविजित १ सय ४ रन बनाएका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यसअघि उनको यो शतक थियो ।

यसअघि पारस खड्का र दीपेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्ट्–ी२० अन्तर्राष्ट्रिय गरी दुवै संरचनामा शतक बनाएका छन् । पारसले २०१९ मा यूएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा १ सय १५ र सन् २०१९ मा सिंगापुरविरुद्ध सिंगापुरमा अविजित १ सय ६ रन बनाएका थिए । दीपेन्द्रले गत वर्ष कीर्तिपुर मैदानमा पपुवा न्युगिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा १ सय ५ रन बनाएलगत्तै मलेसियाविरुद्धको ट्वान्टी–२० त्रिकोणात्मक शृंखलामा अविजित १ सय १० रन बनाएका थिए ।

रोहितको हजार रन

रोहित एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने नेपालको पहिलो ब्याटर बने । नामिबियाविरुद्ध ५५ रन बनाएसँगै उनले यो उपलब्धि हात पारेका हुन् । उनले ३३ औं खेल खेल्दै १ हजार रन बनाएका हुन् । रोहितले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एमस्टलभिनमा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । तर त्यसपछि खराब फर्मका कारण टिमबाट आउने–जाने भएका थिए ।

सन् २०२१ को सेप्टेम्बरमा ओमान भ्रमणदेखि उत्कृष्ट पुनरामगन गरेपछि उनी प्रदर्शनकै आधारमा नेपालको कप्तान बनेका थिए । उनले ६ अर्धशतक र एक शतक बनाइसकेका छन् । एउटा अर्धशतकबाहेक अरू सबै ठूलो इनिङ्स उनले पुनरागमनपछि खेलेका हुन् । रोहित र ज्ञानेन्द्रले नेपालबाट सर्वाधिक ६ अर्धशतक बनाएका छन् । रोहितपछि नेपालबाट सर्वाधिक रन बनाउनेमा ज्ञानेन्द्र छन् । ज्ञानेन्द्रले २७ खेलमा ७ सय ३४ रन बनाएका छन् । मंगलबार रोहित केही भाग्यमानी पनि रहे । उनले २७ र ३९ रनमा हुँदा दुई जीवनदान पाए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर