नेभिगेसन मेनु

राष्ट्रिय टोलीमा फर्किए सन्दीप
सम्पादक:南亚网络电视
समय:2023-02-10 12:38

sandip2023-02-10-07-16-17

नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्व लिग २ त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि पूर्वकप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा समावेश गरेको छ । क्यानले बिहीबार नेपाली टोलीको अन्तिम १४ सदस्यीय खेलाडीको नाम घोषणा गर्दा सन्दीपलाई पनि समेटेको छ । क्यानले बिहीबारै त्रिकोणात्मक शृंखलामा घोषित नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)लाई पठाएको छ । 

बलात्कार अभियोग लागेका सन्दीप २० लाख धरौटीमा रिहा भएका हुन् । गत साता सन्दीपलाई क्यानले दोस्रो चरणको बन्द प्रशिक्षणमा राखेको थियो । यद्यपि, सन्दीपलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश गर्दा चौतर्फी विरोध भएको थियो । यसअघि क्यानको पोखरामा बसेको बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गरेको थियो । सन्दीप गत ३० अगस्ट २०२२ पछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । उनले अन्तिमपटक १४ भदौमा केन्याविरुद्ध अन्तर्राष्ट्रिय टी–२० सिरिज खेलेका थिए । 

सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काउन क्यानले आइसिसीको अन्तिम बाधा–अड्चन प्रतीक्षा गरेको थियो । ‘अन्तिम दिनसम्म कुनै बाधा–अड्चन नआएपछि सन्दीपलाई टोलीमा राखेका हौँ,’ क्यानका एक पदाधिकारीले बताए, ‘हामीले सन्दीप सम्मिलित १४ सदस्यीय नाम आइसिसीमा बुझाएका छौँ ।’ सन्दीपले अब रोहितकुमार पौडेलको कप्तानीमा त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबिया र स्कटल्यान्डसँग घरेलु मैदानमा हुने खेल खेल्नेछन् । क्यानले सन्दीप पूर्ण फिट भएको अवस्थामा राष्ट्रिय टोलीमा राख्ने बताएको थियो । 

कुनै पनि वेला उपलब्ध हुने

धरौटीमा रिहा भए पनि सन्दीपविरुद्धको बलात्कार मुद्दाको फैसला भएको छैन । नेपाल प्रहरी वा पाटनको उच्च अदालतले अनुसन्धानका लागि कुनै पनि वेला सन्दीपलाई बोलाउन सक्छन् । राष्ट्रिय क्रिकेट टोलीअन्तर्गत छनोट कमिटीका सदस्य दीपेन्द्र चौधरीले प्रहरी वा अदालतले बोलाउँदा उपलब्ध हुने बताएका छन् । ‘धरौटीमा रिहा भएका सन्दीप कुनै पनि समय उपलब्ध हुन सक्छन्,’ चौधरीले भने । राष्ट्रिय टोलीमा स्पिनर पक्ष बलियो बनाउन नै सन्दीपलाई टोलीमा राखिएको हो । बलात्कार अभियोग लागेको समयमा प्रतिबन्धमा रहँदा सन्दीपले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेनन् । 

त्यस समयमा नेपालको स्पिन बलिङ पक्ष कमजोर बनेको थियो । क्यानले अन्तिम दिनसम्म पनि नेपालको माहोल हेर्दै सन्दीपलाई टोलीमा फर्काउने या नफर्काउने योजना बनाएको थियो । छनोट कमिटीका सदस्य चौधरीले आइसिसीको समन्वयमै टोली–नाम सार्वजनिक गरेको बताए । नवनियुक्त प्रशिक्षक मोन्टी देसाईले पनि घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियाविरुद्ध बलिङ पक्ष बलियो पार्न सन्दीपलाई समावेश गरेको जनाएका छन् । मुख्य प्रशिक्षक देसाईको प्रशिक्षणमा नेपालले पहिलो शृंखला त्रिवि मैदानमा खेल्नेछ । चौधरीले सन्दीपलाई नेपाल प्रहरी या उच्च अदालतले बोलाएको खण्डमा उपलब्ध हुने बताएका छन् । 

२१ भदौमा प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । क्यानले २३ भदौमा सन्दीपलाई निलम्बन गरेको थियो । ३० असोजमा नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्‍यो । उच्च अदालत पाटनले २९ पुसमा सन्दीपलाई २० लाख धरौटीमा रिहा गरेको थियो । धरौटीमा रिहा भए पनि सन्दीपविरुद्धको मुद्दा अझै विचाराधीन अवस्थामा छ । सन्दीपले उपत्यका छोड्दा जिल्ला प्रशासनबाट लिखित पत्र लिनुपर्नेछ । उनी नेपालबाहिर जान सक्दैनन् । 

सूर्य पहिलोपटक टोलीमा 

युवा खेलाडी सूर्य तामाङले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । प्रशिक्षक देसाई र खेलाडी छनोट कमिटीले सूर्यलाई नेपाल टी–२० लिगमा गरेको प्रदर्शनका आधारमा टोलीमा बोलाएको हो । यसैगरी, सन्दीप जोरा, कुशल भुर्तेल र भीम सार्कीले टोलीमा पुनरागमन गरेका छन् । यस्तै, आरिफ शेख, प्रतिश जिसी, श्याम ढकाल र अर्जुन साउद रिजर्भ खेलाडीमा छन् । 

नेपाली टोली

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने, गुलसन झा, भीम सार्की, सूर्य तामाङ 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर