नेभिगेसन मेनु

पाकिस्तानलाई ३० वर्ष अघिको इतिहास दोहोर्‍याउने मौका
सम्पादक:南亚网络电视
समय:2022-11-15 11:33

 

अष्ट्रेलियामा जारी आइसिसी पुरूष टी-२० विश्वकपको उपाधिका लागि आज एसियाली राष्ट्र पाकिस्तानले इंग्ल्याण्डको सामना गर्नेछ। 

मेनबर्न क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो १:४५ बजेबाट सुरू हुने प्रतियोगितामा बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तान र जस बटलरको नेतृत्वमा रहेको इंग्ल्यान्ड दोस्रो उपाधिको खोजी गर्नेछन्।

पाकिस्तानले सन् २००९ को फाइनलमा श्रीलंकालाई ८ विकेटले हराउँदै पहिलो उपाधि जितेको थियो। त्यसअघि २००७ को पहिलो संस्करणमा पनि फाइनल पुगेको पाकिस्तान भारतसँग पाँच रनले पराजित भएको थियो। 

सन् २०१० को टी-२० विश्वकप फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको इंग्ल्याणड सन् २०१६ को टी-२० विश्वकपमा वेस्टइन्डिजसँग चार विकेटले पराजित भएको थियो। 

टी-२० विश्वकपको उपाधिका लागि इंग्ल्यान्डसँग खेल्दै गर्दा पाकिस्तानको संयोग सन् १९९२ को एकदिवसीय विश्वकपसँग मिल्छ।

फाइनलमा इंग्ल्यान्ड र पाकिस्तानबीच ३० वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। सन् १९९२ को एकदिवसीय विश्वकपमा पाकिस्तानले इंग्ल्यान्डलाई २२ रनले हराउँदै उपाधिसमेत जितेको थियो।

अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा इंग्ल्यान्डलाई हराउँदै पाकिस्तानले पहिलोपटक एकदिवसीय विश्वकपको उपाधि जितेको थियो। त्यसको ३० वर्षपछि आज पुनः एकपटक पाकिस्तानले मेलबर्न क्रिकेट मैदानमै टी–२० विश्वकपको उपाधिका लागि इंग्ल्यान्डसँग खेल्दैछ।

अहिलेको जस्तो स्थितिबाट गुज्रिएको पाकिस्तानले त्यतिबेला पनि भाग्यको साथ पाएर उपाधि जितेको थियो।

इमरान खानको कप्तानीमा रहेको पाकिस्तान त्यतिबेला समूहमा ९ अंक जोडेर चौथो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो।सेमिफाइनलमा पाकिस्तानले समूहको शीर्ष स्थानमा रहेको न्युजिल्यान्डलाई ४ विकेटले पन्छायो।

उता दक्षिण अफ्रिकालाई हराएर फाइनलमा आएको इंग्ल्यान्डलाई २२ रनले हराउँदै पाकिस्तानले पहिलो एकदिवसीय विश्वकपको उपाधि उचाल्यो।

अझ रोमाञ्चक संयोग के भने त्यसबेला पनि अस्ट्रेलिया विश्वकपको साबिक विजेता थियो र प्रतियोगिताको सेमिफाइनलमा पुग्न सकेको थिएन। अहिले पनि ट्वान्टी–२० विश्वकपको साविक विजेता अस्ट्रेलिया सेमिफाइनल पुग्न सकेन।

मेलबर्नमा पाकिस्तानले तीन दसकको इतिहास दोहोर्‍याउला वा इंग्ल्यान्डले नयाँ इतिहास बनाउला त्यो भने हेर्न बाँकी नै छ।

अष्ट्रेलियामा जारी विश्वकपको सुपर १२ मा इंग्ल्यान्ड र पाकिस्तान दुबै उप–विजेता टोली हुन्। इंग्ल्यान्डको सेमिफाइनल यात्रा पाकिस्तानको तुलानमा धेरै हदसम्म अपेक्षित र सजिलो थियो। 

समूह एमा रहेको इंग्ल्यान्ड वर्षाको कारण आयरल्यान्डसँग डकवर्थ लेविस पद्धतिको आधारमा पाँच रनले स्तब्ध भएको थियो। अफगानिस्तानलाई पाँच विकेट, न्युजिल्यान्डलाई २० रन र श्रीलंकालाई ४ विकेटले हराएको थियो। 

यस्तै घरेलु टोली अष्ट्रेलियासँग वर्षाको कारण अंक बाँडेको थियो। ५ खेलमा ७ अंक जोडेको इङ्ल्याण्डले घरेलु टोलीलाई रनरेटमा पछि पार्दै समूह उपविजेता भएर सेमिफाइनलमा पुगेको थियो। सेमिफाइनलमा उसले भारतको चुनौती १० विकेटले पन्छायो।

उता भाग्यको साथ पाएको पाकिस्तानले ठीक समयमा लय समातेको छ। बाबर आजामको नेतृत्वमा रहेको पाकिस्तानको सेमिफाइनल बाटो कठिन, नाटकीय र भाग्यको खेल थियो।  

पहिलो खेलमा भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले पराजित भएको पाकिस्तानले त्यसपछि लय समात्यो। नेदरल्यान्ड्सलाई ६ विकेट, दक्षिण अफ्रिकालाई ३३ रन र बंगलादेशलाई ५ विकेटले हरायो। 

आफ्नो हातबाट सेमिफाइनल दौड फुत्किएको अवस्थामा अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग अप्रत्यासित रूपमा १३ रनले पराजित भएपछि पाकिस्तान सेमिफाइनलमा पुग्यो।

सेमिफाइनलमा आफ्नो स्वभाविक प्रदर्शन गर्दै पाकिस्तानले समूह ए को विजेता न्यूजिल्याण्डलाई सात विकेटले हराएर फाइनलमा प्रवेश गर्‍यो। 

इंग्ल्यान्ड र पाकिस्तानबीच हालसम्म २८ टी- २० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा इंग्ल्यान्ड १८ र पाकिस्तान ९ खेलमा विजयी भएका छन्। टी–२० विश्वकपमा दुई पटक यी टोली आमनेसामने भएका थिए। दुवै पटक इङ्ल्यान्डले जितेको थियो।

सन् २०१९ पछिको कुरा गर्ने हो भने १४ खेलमध्ये ८ खेलमा इंग्ल्याण्ड विजयी भएको थियो भने ५ खेलमा पाकिस्तान विजयी भएको थियो। एउटा खेलको नतिजा आउन सकेन। 

अघिल्लो महिना मात्रै पाकिस्तान र इंग्ल्यान्डबीच ७ खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज भएको थियो। पाकिस्तानमा भएको सिरिज पाहुना टोली इंग्ल्याण्डले ४–३ ले जितेको थियो।

वर्षाले खेल नभए के हुन्छ? 

मेलबर्नको मौसम पूर्वानुमान विभागका अनुसार फाइनलमा भारी वर्षाको सम्भावना ९५ प्रतिशत छ। आज २५ मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान छ। यस्तो अवस्थामा खेल हुन सक्दैन।

आइसिसी टी-२० विश्वकपको नियम अनुसार प्लेअफ म्याचमा डकवर्थ लुईस नियमबाट नतिजा निकाल्न कम्तिमा १०-१० ओभरको खेल हुनु जरूरि छ। यदि वर्षाका कारण खेल पुरा हुन पाएन भने खेल जहाँबाट रोकिएको थियो रिजर्भ डेमा त्यहीँबाट सुरू हुनेछ। तर रिजर्ब डे मा पनि पानी परेर खेल नभए उपाधि बाँड्नु पर्नेहुन्छ।

आइसिसीले आज फाइनल खेलाउन सबै कोशिश गर्ने बताएको छ र सकभर रिजर्भ डेमा खेल नलैजान प्रयास गरेको बताएको छ। आइसिसीले फाइनल खेलको लागि सकिनुपर्ने अन्तिम समयमा दुई घण्टा थप पनि गरेको छ।

सन् २००२ को आइसिसी च्याम्पियन्स ट्रफीमा भारत र श्रीलंकाले संयुक्त रूपमा उपाधि बाँडेका थिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर