खेलाडीको स्वागतमा दैलो अघि घडा र कलश । हातैले लेखिएका तुल ब्यानर । बजारमा अञ्चल–अञ्चलबाट आएका खेलाडीको चहलपहल । ३९ वर्षअघि दोस्रो राष्ट्रिय खेलकुदले पोखरा गुलजार बन्दा यहाँको खेल संस्कृतिमा परिवर्तन मात्रै ल्याएन, आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि कोसेढुंगा बन्यो ।
०३८ सालमा पहिलो राष्ट्रिय खेलकुद काठमाडौं (वाग्मती) मा हुँदा दुई वर्षपछि दोस्रो संस्करणको अवसर गण्डकी अञ्चलले पायो । ०४० चैत १२ देखि २० सम्म १४ अञ्चलकै खेलाडी पोखरामा भेला भए । त्यतिबेला पोखरामा अहिलेजस्तो बाक्लो बजार थिएन । पोखराको मुख्य बजार महेन्द्रपुल थियो । महेन्द्रपुलमै होटल, रेस्टुरेन्ट थिए । पृथ्वीचोकमा केही स–साना भट्टी थिए । लेकसाइडमा अहिलेजस्तो ठुल्ठूला र सुविधासम्पन्न होटल थिएनन् । पर्यटकको चहलपहल नै थिएन ।
देशभरबाट दुई हजारभन्दा बढी खेलाडी जम्मा हुँदा पोखरामा ठूलै मेला लागेको स्थानीय खेमबहादुर गुरुङलाई सम्झना छ । दोस्रो राष्ट्रिय खेलकुदमा स्वयंसेवक परिचालन उपसमिति संयोजक भएर काम गरेका उनी त्यतिबेलाको खटाइ सम्झेर अझै रोमाञ्चित हुन्छन् । ‘पोखराको जनसंख्या नै पो कति थियो र १,’ उनी सम्झन्छन्, ‘दुई हजार मान्छे महेन्द्रपुलमा छ्यापछ्याप्ती हुँदा त्यति धेरै मान्छे त्यसअघि कहिल्यै आएका थिएनन् जस्तो भएको थियो ।’
धेरैजसो खेलाडीको बास महेन्द्रपुलमै थियो । ट्र्याकसुट लगाएका खेलाडी बजारमा हिँड्दा उनीहरूलाई हेर्न मात्रै पनि स्थानीय घर बाहिर निस्कन्थे । होटल अभावमा खेलाडीलाई पोखरा रंगशाला नजिकैका विद्यालयमा पनि राखिएको थियो । वाग्मतीका खेलाडीलाई अमरसिंह माविमा राखेर खानपान व्यवस्था गरिएको थियो । तत्कालीन अञ्चलाधीश नरेन्द्रकुमार चौधरीले यहाँका साहू महाजनलाई फकाइफुल्याइ सहयोग मागेका थिए । मोहरिया टोलका अमृतप्रसाद शेरचनले अमरसिंह माविमा सुत्ने खेलाडीका लागि एक सय थान म्याट त्यतिबेला सहयोगस्वरुप उपलब्ध गराएका थिए ।
पोखरा रंगशालासँगै पृथ्वीनारायण क्याम्पस परिसरलाई पनि खेलस्थल तोकिएको थियो । महेन्द्रपुलको होटलमा बस्ने खेलाडी हिँडेरै बगरमा रहेको पीएन क्याम्पस र रंगशाला पुग्थे । ‘त्यतिबेला स्रोतसाधनको कमी थियो,’ कास्की जिल्ला फुटबल संघका पूर्वअध्यक्ष गुरुङले भने, ‘फुटबल ट्रेनिङलाई एउटा टिमले बढीमा दुईवटा बल पाउँथे ।’
स्वयंसेवकका रूपमा विभिन्न विद्यालयका कक्षा ९ र १० का विद्यार्थी, पोखरा उद्योग वाणिज्य संघ, स्काउट, रेडक्रस, जेसिस र लायन्स क्लबलाई परिचालन गरिएको थियो । उनीहरूलाई न यातायात व्यवस्था थियो न त खाजाको ।
दोस्रो राष्ट्रिय खेलकुद पोखरामा गर्नुका दुई मुख्य उद्देश्य थिए, काठमाडौंबाहिर सफल रूपमा खेलकदु प्रतियोगिता आयोजना गर्नु र खेलकुदका पूर्वाधार निर्माण गर्नु । त्यतिबेलै पोखरा रंगशालाले पूर्वाधारमा फड्को मार्यो । तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले २०३१ मै रंगशालालाई ४ सय १७ रोपनी जग्गा अधिग्रहण गरेका थिए । पूर्वाधार बन्न भने दोस्रो राष्ट्रिय खेलकुद पर्खनुपर्यो । भीआईपी प्यारापिटसहितको फुटबल मैदान, कभर्डहल, क्षेत्रीय र जिल्ला खेलकुद विकास समितिको कार्यालय त्यतिखेर बने । त्यतिबेलैको पूर्वाधारले झन्डै ३५ वर्ष धानेको गुरुङ बताउँछन् । दोस्रो राष्ट्रियमा निर्माण उपसमिति सदस्यसमेत रहेका उनलाई भीआईपी प्यारापिट रातारात तयार गरेको सम्झना अझै ताजा छ । ‘भोलिपल्ट तत्कालीन राजा वीरेन्द्र हेलिकप्टरमा राष्ट्रिय खेलकुद उद्घाटन गर्न आउने कुरा थियो,’ उनले भने, ‘अघिल्लो दिन मध्यरातसम्म भीआईपी प्यारापिटमा रंगरोगन गरेर बस्यौं ।’
त्यतिबेला अञ्चल–अञ्चलबीच प्रतिस्पर्धा हुन्थ्यो । वाग्मती सबैभन्दा बलियो अञ्चल थियो । खेलकुदमा गण्डकी, कोसी, लुम्बिनी र नारायणी प्रभावशाली अञ्चल मानिन्थे । गण्डकीले कतिपय खेलमा भारतीय र बेलायती सेनामा रहेका नेपालीलाई मैदानमा उतारेको थियो । तेक्वान्दोका चर्चित खेलाडी वाग्मतीका विधान लामालाई गण्डकीको टिमबाट पोखराका अर्जुन गुरुङले हराउँदा सनसनी मच्चिएको थियो । कोसीबाट भलिबल खेलेका दुर्जकुमार राईको ‘शट’ देखेर पोखराका स्थानीय मोहित भएको गुरुङ सम्झन्छन् । एपीएफका पूर्वआईजीपी राईको खेल सम्झँदै गुरुङले भने, ‘उहाँको खाइलाग्दो ज्यान, अग्लो कद र प्रहार देखेर मोहित नहुने कोही थिएन ।’ यद्यपि भलिबलमा भने गण्डकीले स्वर्ण उचालेको थियो ।
प्रतियोगितामा १ हजार ९ सय ६८ पुरुष र ५ सय ३९ महिला गरी कुल २ हजार ५७ ले भाग लिएका थिए । एक सय १९ स्वर्ण, एक सय १९ रजत र एक सय ३२ कांस्य गरी ३ सय ७० पदकका लागि प्रतिस्पर्धा भएको थियो । नयाँ ६ खेल थपिएका थिए । गण्डकी अञ्चल लोक संस्कृतिको खानी भएकाले दोहोरी गीत र लोक नृत्यलाई प्रतियोगिताका रूपमा प्रवेश गराइएको थियो । मार्सल आटर््स, हक्की, महिला फुटबल र लन टेनिस पनि दोस्रो राष्ट्रियमा थपिए । यसबाहेक फुटबल (महिला/पुरुष), एथलेटिक्स, मार्सल आर्ट्स, ब्याडमिन्टन, भलिबल (महिला/पुरुष), बाघचाल, बुद्धिचाल, जिम्न्यास्टिक, टेबलटेनिस, क्रिकेट, भारोत्तोलन, ह्यान्डबल, बक्सिङ, शारीरिक सुगठन समावेश थिए । वाग्मती १ सय ८ पदकसहित पदक तालिकाको पहिलो नम्बरमा थियो । गण्डकीले २१ स्वर्णसहित ३७ पदक ल्याएर दोस्रो स्थानमा चित्त बुझाएको थियो । प्रतियोगितामा फुटबलतर्फ श्रीराम रञ्जितकार, ह्यान्डबलमा दलबहादुर राना, भारोत्तोलनमा सुरेन्द्र हमाल उत्कृष्ट खेलाडी घोषित भएका थिए । मेची अञ्चलले पोसाक, गण्डकीले मार्चपास र सेतीले अनुशासनमा पुरस्कार जितेका थिए ।
पहिलो राष्ट्रिय खेलकुदका लागि प्राविधिक र निर्णायक भारतको पटियालाबाट झिकाउनुपरेको थियो । त्यसपछि भने राखेपका तत्कालीन सदस्य–सचिव शरदचन्द्र शाहले नेपालमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले पटियालामा एक टोलीलाई प्रशिक्षणका लागि पठाए । दोस्रोसम्म आइपुग्दा धेरै प्राविधिक र निर्णायक नेपालकै थिए । राजधानीबाहिर खेलकुदको लहर ल्याउन उक्त प्रतियोगिता सफल भयो । दोस्रो राष्ट्रिय खेलकुदपछि पोखरामा आन्तरिक पर्यटकका लागि ढोका खुलेको गुरुङको जिकिर छ । ‘पहिले फाट्टफुट्ट विदेशी पर्यटक घुम्न आउने चलन थियो तर राष्ट्रिय खेलकुदमा देशभरबाट आएका खेलाडीले पोखरा देखेर फर्किएपछि देशैभर यसको चर्चा भयो,’ उनी भन्छन्, ‘त्यसपछि नै पोखरा घुम्न आउने आन्तरिक पर्यटक बढ्न थाले ।’ ३९ वर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकुद हुँदै छ । असोज २८ देखि कात्तिक ३ सम्म हुने प्रतियोगिताअन्तर्गत केही खेल सुरु भइसकेका छन् । पहिला अञ्चल–अञ्चलबीच हुने प्रतिस्पर्धा अहिले ७ प्रदेश, ३ विभाग र गैरआवासीय नेपालीको टिमबीच हुन्छ । ३६ खेलका ४ सय ४ इभेन्टमा ७ हजार ७ सय ९९ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
पहिला राखेपअन्तर्गतका जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिले खेलाडी छनोट गर्नेमा अहिले प्रदेश सरकारमातहतका प्रदेश खेलकुद परिषद्ले टिम छनोट गर्छन् । खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर टिम तयार गर्ने काम प्रदेशले नै गर्छन् ।
यसपल्ट राष्ट्रिय खेलकुद हुँदा पूर्वाधार नथपिएकामा गुरुङ असन्तुष्ट छन् । दोस्रो राष्ट्रियमा बनेका पूर्वाधारले १३ औं साग हुनुअघिसम्म धानेको उनी बताउँछन् । भन्छन्, ‘अहिले राष्ट्रिय खेल गण्डकीमा हुँदा कम्तीको अर्को ४०–५० वर्ष थेग्ने पूर्वाधार थपिनुपर्ने हो तर त्यसो नहुनु विडम्बना नै भन्नुपर्छ ।’ पोखरा रंगशालामा १३ औं सागकै क्रममा १६ हजार ५ सय सिट क्षमताको प्यारापिटसहितको अत्याधुनिक फुटबल स्टेडियम बनेको छ । तर अझै स्कोरबोर्ड र फ्लडलाइट छैन । बहुउद्देश्यीय कभर्डहल, ब्याडमिन्टन कभर्डहल, ह्यान्डबल, बक्सिङ, स्केट पार्क, लन टेनिस, स्क्वासका छुट्टाछुट्टै पूर्वाधार बनेका छन् । पौडीपोखरी, सुटिङ रेन्ज र हक्कीको मैदान अझै बन्न सकेका छैनन् । रंगशालाभित्र पौडी पोखरीको अभावमा पोखराकै निजी विद्यालयमा पौडी प्रतियोगिता हुँदै छ । सुटिङ काठमाडौंमै हुँदै छ । हक्की पोखरा रंगशालाबाहिर हुने भएको छ । आर्चरीका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्डको मैदान बन्न सकेको छैन ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना नवौं राष्ट्रियलाई नै भनेर पोखरा रंगशालामा देखिने गरी पूर्वाधार नथपिए पनि बाहिरी जिल्लामा संरचना बनेको बताउँछन् । उनका अनुसार स्याङ्जाको वालिङमा फुटबल मैदान, म्याग्दीमा भलिबल कोर्ट, तनहुँमा बास्केटबल कोर्ट पुनर्निर्माण, कुस्ती हुने नवलपुरको थारु संग्रहालय मर्मत सम्भारलगायतमा राखेपले लगानी गरेको छ ।
दोस्रो राष्ट्रिय खेलकुदअन्तर्गत भलिबलमा गण्डकीले स्वर्ण जित्दा हरि पराजुली पनि टिममा थिए । हाल भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष उनी स्रोतसाधनको अभावका बाबजुद पनि दोस्रो राष्ट्रिय खेलकुद व्यवस्थित तबरले सम्पन्न भएको स्मरण गर्छन् । जिल्लाबाट अञ्चल हुँदै व्यवस्थित ढंगले छनोट हुने गरेकामा अहिले हतारहतारमै खेलाडीको टुंगो लागेको उनले देखेका छन् । त्यतिबेलाको खेलकुद अहिलेभन्दा बढी अनुशासित भएको उनलाई महसुस हुन्छ । ‘पहिलो खेलाडीमा खेलप्रति उच्च लगाव हुन्थ्यो । खेलाडी पनि अनुशासित हुन्थे । मिहिनेत गर्नुपर्छ भन्ने भावना मनभित्रबाटै आउँथ्यो,’ उनी भन्छन्, ‘अहिले खेलाडीमा उतिसारो गाम्भीर्यता देखिन्न ।’ तत्कालीन राजा वीरेन्द्र उपस्थित उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको उनी सम्झन्छन् । विद्यार्थीको मार्चपास, स्थानीय लोकनृत्य, नेपाली सेनाको खुकुरी नृत्यले उद्घाटन समारोह भव्य पारेको थियो । माछापुच्छ्रेको काखमा नेपाली राष्ट्रिय फूल लालीगुराँस त्यतिबेलाको प्रतीक चिन्ह थियो ।
नवौं राष्ट्रिय खेलकुदमा मूल समारोह समिति संयोजक एकेन्द्र कुँवरका अनुसार यसपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् । उद्घाटन समारोहमा १ हजार २ सय विद्यार्थी, ३ सय नेपाली सेना, ३ सय राष्ट्रिय सेवा दलका सदस्यको मार्चपास हुने छ । सेना, एपीएफ र प्रहरीका २ सयजनाको संयुक्त ब्यान्ड ब्यान्ड प्रस्तुति हुनेछ । सेनाका ५० जनाको टुकुडीले सलामी प्रस्तुत गर्नेछ । उद्घाटनमा सातवटै प्रदेशमा रहेका लोकसंस्कृति, जातजाति झल्कने झाँकी प्रस्तुत हुनेछन् । फुटबल मैदानमा ‘माझी दाइ पोखरा फेवातालको..’ र ‘बन्दीपुरैमा...’ गीतमा एकैपल्ट ४ सय ४० जना विद्यार्थीले नृत्य प्रदर्शन गर्नेछन् । सेनाले पश्चिमको ‘हुड्केली’ देखाउने छ । समारोहमा आतिसबाजी पनि हुनेछ । ‘पहिलाभन्दा भिन्न तरिकाबाट उद्घाटन गर्दै छौं,’ उनले भने, ‘राष्ट्रिय खेलकुदकै इतिहासमा भव्य उद्घाटन समारोह पोखरामा हुँदै छ ।’ समापन भने प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।