
नागरिकताको सरकारी अभिलेख किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा चार जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
स्याङ्जा जिल्ला अदालतले तीन जना कर्मचारी सहित चार जनालाई कारागार थुनामा पठाएको हो ।
अदालतले जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा, कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईं लेखापाल रमेश बिक र फेदिखोला –२ घर भएर पोखरा बस्ने प्रयासी गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको हो ।
नागरिकताको अभिलेख किर्ते गरेको आरोपमा गत कात्तिक १६ गते चार जनालाई प्रहरीले फक्राउ गरेको थियो भने स्याङ्जा जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार सरकारी लिखत सम्बन्धी कसुर (किर्ते गर्न नहुने)मा मुद्दा दायर गरेको थियो ।
अदालतले तत्काल प्राप्त प्रमाणबाट हाला यी प्रतिदाबीहरु कसुरदार होइन भन्ने नदेखिएकाले हाल दफा ६७ को १(ख) बमोजिम कारागार पढाएको श्रेस्तेदार भेषराज पौडेलले जानकारी दिनुभयो ।
मुद्दामाथि जिल्ला न्यायाधीश उपेन्द्रप्रसाद गौतमको एकल इजलाशले कारागार पठाउने आदेश दिएको हो ।
साबिक आरुखर्क–८ का प्रयासी गुरुङले आफ्ना दुई बालबालिकाको नाबालक परिचयपत्र बनाउने क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीमा पेस गरिएका कागजात रुजु गर्दा दुईवटा नागरिकता रहेको खुलेको थियो ।
गुरुङले २०५६ चैत ३ गते स्याङ्जाको ठेगाना राखेर ५७०६६ नम्बरको पहिलो नागरिकता र २०५७ भदौ २५ गते पोखरा लेखनाथ महानगरपालिका–७, कास्कीको ठेगाना राखेर १०८५८८ नम्बरको दोस्रो नागरिकता लिनु भएको थियो ।
दुईवटा नागरिकता भेटिएपछि कास्की प्रशासनले पहिलो नागरिकता रद्द गरिएको भए त्यसको कानुनी आधार, प्रक्रिया र निर्णयसम्बन्धी कागजात स्याङ्जा प्रशासनसँग मागेको थियो । कास्की प्रशासनको माग अनुसार स्याङ्जा प्रशासनको अभिलेखमा अनधिकृत हेरफेर गरिएको थियो ।
छानबिनका क्रममा लेखापाल रमेश बिकले कागजात तयार गर्ने, कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईंले प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर गर्ने र प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्माले प्रमाणित गर्ने गरेको देखिएको प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले बताउनुभयो ।
नागरिकता निर्णय अनुसार नभई कागजी रुपमा देखाउनका लागि मात्र रद्द गरिएको थियो । तीन कर्मचारीले गत भदौ १५ गते नागरिकताको अभिलेख किर्ते गर्ने काम गरेका थिए भने भदौ २६ गते प्रशासनले अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई पत्राचार गरिएको थियो ।
यसै घटनामा गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि असोज २८ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई पत्र पठाएको थियो भने प्रशासनले कात्तिक ९ गते प्रहरीलाई पत्राचार गरेको थियो ।


















