
यस वर्ष हिमाली जिल्ला हुम्लाबाट आठ करोड रुपियाँभन्दा बढीको स्याउ बिक्री भएको छ । जिल्लाका सातवटै गाउँपालिकाबाट उत्पादित स्याउ बिक्री हुँदा आठ करोड २६ लाख ५६ हजार रुपियाँ आम्दानी भएको हो ।
जिल्लाका सातवटै गाउँपालिकाबाट उक्त मूल्य बराबरको स्याउ बिक्री भएको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले बताउनुभयो । उहाँका अनुसार स्याउ खेती गरी उत्पादन दिन थालेको ६९० हेक्टर जमिनबाट पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ । त्यसमध्ये एक हजार ३७७ दशमलव छ मेट्रिक टन स्याउ जिल्ला बाहिर बिक्रीका लागि पठाइएको छ ।
गत साउनमा जिल्लाले गरेको निर्णयअनुसार स्याउ जिल्ला बाहिर निकासी गर्दा सम्बन्धित गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको थियो । सोही सिफारिसका आधारमा नाम्खा गाउँपालिकाबाट ५० मेट्रिक टन, सिमकोटबाट ४००, खार्पुनाथबाट २००, सर्केगार्डबाट ५००, चङ्खेलीबाट १४०, अदानचुलीबाट २० र ताँजाकोटबाट ६७ दशमलव छ मेट्रिक टन स्याउ जिल्ला बाहिर निकासी भएको छ ।
काँचो स्याउ जिल्ला बाहिर निकासी हुन नदिन सम्बन्धित गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको प्रमुख पन्तले बताउनुभयो । उहाँका अनुसार सिफारिसका आधारमा जिल्ला बाहिर गएको स्याउको परिमाण मात्र उक्त विवरणमा समेटिएको छ ।
सुरुमा र पछिल्लो समय सिफारिसबिना पनि स्याउ जिल्ला बाहिर गएको सूचना आएको भन्दै उहाँले वास्तविक बिक्री परिमाण अझै बढी हुन सक्ने बताउनुभयो । व्यक्तिगत रूपमा खरिद गरेर पठाइएको तथा हुम्लामै उपभोग भएको स्याउको परिमाण र त्यसबाट भएको आम्दानीसमेत विवरणमा समेटिएको छैन ।
सडक सञ्जाल जोडिएपछि गत वर्ष चार करोड रुपियाँ बराबरको स्याउ जिल्ला बाहिर निकासी भएको थियो । यस वर्ष भने स्याउ खेतीबाट किसानले केही भए पनि आम्दानी गर्न थालेको स्याउ किसान मानविर रोकायाले बताउनुभयो । स्याउ बिक्रीबाट प्राप्त आम्दानीले किसानलाई खेतीप्रति थप सकारात्मक बनाएको उहाँको भनाइ छ ।
हुम्लामा ए ग्रेडको स्याउ प्रतिकेजी ६० रुपियाँ, बी ग्रेडको ५० र सी ग्रेडको ४० रुपियाँ मूल्य निर्धारण गरिएको थियो । यस वर्ष पहिलो पटक जिल्लाबाट आठ मेट्रिक टन फुजी स्याउसमेत बिक्री भएको छ ।


















