
विभागीय टोली त्रिभुवन आर्मी क्लब दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटतर्फ सहआयोजक कर्णाली प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली भने दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि कर्णाली कोशी प्रदेशसँग पराजित भएको थियो ।
शुक्रबार वीरेन्द्रनगर रङ्गशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १३८ रन बनाएको थियो । महिला राष्ट्रिय टोलीकी सदस्यसमेत रहेकी आर्मीकी सम्झना खड्काले ५८ बलमा सर्वाधिक ६२ रन बनाउनुभयो ।
उहाँले १० चौका प्रहार गर्नुभयो । यस्तै, यशोदा विष्टले ३३ रन बनाउनुभयो भने कविता कुँवर छ बलमा ११ रन बनाउँदै अविजित रहनुभयो । आर्मीका लागि विन्दु रावलले सात र रुवि पोदारले पाँच रन थप्नुभयो । आर्मीले अतिरिक्त २० रन पाएको थियो ।
कर्णालीका गङ्गा खड्का, रमा बुढाथोकी, सोना चन्द र किरणकुमारी कुँवरले एक–एक विकेट लिनुभयो ।
१३९ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ रनमै अलआउट भयो । कर्णालीका लागि जयन्ती चन्दले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कप्तान करुणाकुमारी कुँवर आठ रन बनाएर आउट हुनुभयो भने शिखा दवाडीले छ रन बनाउनुभयो । यस्तै, रेखा सोनीले पाँच, रविना बुढामगरले तीन तथा उमा चौधरी, श्रुती बुढा र अञ्जु गुरुङले एक–एक रन बनाउनुभयो ।
कर्णालीलाई सस्तैमा समेट्ने क्रममा आर्मीकी मनिषा उपाध्यायले चार विकेट लिनुभयो । चार ओभर बलिङ गर्नुभएकी मनिषाले १० रन मात्रै खर्चिनुभयो । यस्तै, यमुना थारुले चार ओभर बलिङ गर्दै एक मेडनसहित तीन विकेट लिनुभयो भने कविता कुँवरले तीन ओभरमा दुई विकेट लिनुभयो । लक्ष्मी साउँदले एक विकेट लिनुभयो ।
आर्मीका लागि सर्वाधिक ६२ रन बनाउनुभएकी सम्झना खड्का प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

















